बागलुङको संक्रमण दाेस्राे चरणमा जान दिँदैनाै‌ं : सांसद पाठक

बागलुङमा ६५ वर्षीया महिलासहित दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि जिल्लाबासी विशेष सतर्कताका साथ कोरोना भाइरसको जोखिम नियन्त्रणमा जुटेका छन्।

जिल्लामा तेस्रो कुनै व्यक्तिमा संक्रमण नहोस् भन्ने उद्देश्यले प्रशासनिक निकायसँगै सर्वसाधारण पनि सतर्कता अभियानमा लागेका हुन्।

लकडाउनको पालना गर्दै जिल्लालाई सुरक्षित राख्नका लागि सर्वसाधारणले प्रशासनलाई सहयोग गरिरहेका छन्। कोरोनाको जोखिम र संक्रमण देखिएपछि सुरू भएको द्रूत परीक्षण ‘र्‍यापिड टेस्ट’को कार्यमा सर्वसाधारणको साथ रहेको छ।

बागलुङलाई कोरोनाको जोखिम र भयबाट मुक्त गराउनका लागि स्थानीय सरकार, प्रदेश सरकारसँगै जनप्रतिनिधिहरू एकसाथ जुटेका छन्। ‘नागरिक तहमा जागरण आएको छ, स्वस्फूर्त रूपमा लकडाउनमा बसेर प्रशासनलाई सहयोग गरिरहनु भएको छ,’ बागलुङका प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद पाठकले भने।

सांसद पाठकका अनुसार धौलागिरि अञ्चल अस्पतालको आइसोलेसन कक्षमा राखेर दुवै संक्रमितको उपचार भइरहेको छ। ‘चिकित्सकको रिपोर्ट अनुसार उहाँहरूको अवस्था सामान्य छ। चैत ४ फ्रान्सबाट आएकी युवती र अर्का एक जनामा कोरोना देखिए पनि पनि उहाँहरूको सम्पर्कमा आएका सबैको टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको छ,’ पाठकले भने।

परिवारका सदस्यहरू र सम्पर्कमा आएका विभिन्न व्यक्तिहरूको रिपोर्ट नआउँदासम्म त्रासको वातावरण रहे पनि अहिले रिपोर्ट नेगेटिभ आएपछि सर्वसाधारण चिन्तामुक्त भएको पाठकले बताए।

सरकारको निर्णय अनुसार अहिले बागलुङमा तीव्र रूपमा र्‍यापिड टेस्ट भइरहेको बताउँदै पाठकले भारत र तेस्रो मुलुकबाट बागलुङमा आएका व्यक्तिहरूलाई लक्षित गरिएको बताए।

‘चैत एक गतेयता बागलुङ आएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण पहिले चरणमा हुनेछ र परीक्षणका लागि प्रत्येक गाउँपालिका र नगरपालिकामा स्वास्थ्यकर्मीहरू जानु भएको छ, कति ठाउँमा जाँदै हुनुहुन्छ, र त्यहाँस्थित स्वास्थ्यचौकीमा नमूना संकलन गरेर परीक्षण कार्य सञ्चालन गरिने छ,’ पाठकले हेल्थपोस्ट नेपालसँग भने।

बिहीबारबाट सुरू भएको नमूना छनोटको कार्य अहिले जारी रहेको जानकारी दिँदै पाठकले अहिले नागरिक तहबाट स्वास्थ्यकर्मीहरूलाई विशेष सहयोग भइरहेको बताए।

बागलुङ जिल्लामा कोरोनाको संक्रमणको जोखिम दोस्रो चरणमा प्रवेश नगरेकाले अबका कुनै किसिमको जोखिन नहुने विश्वास सांसद पाठकको छ।

‘बागलुङको स्थिति संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छैन, अर्थात् बाहिरबाट मानिसहरू आउनु भयो, उहाँहरू दुई जनामा संक्रमण देखियो, तर उहाँहरूको सम्पर्कमा आउनु भएको अरू कसैमा पनि कोरोनाको भाइरस सरेको छैन, त्यस कारण बागलुङमा दुई जना संक्रमण देखिए पनि अहिले पहिलो चरणमै छ,’ उनले भने।

नागरिकमा जागरणप्रशासनको सचेतना अभियान

बागलुङमा दुई जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि सर्वसाधारणहरू ‘सेल्फ क्वारेन्टाइन’मा बसेका छन्।

‘जिल्लाबासीहरू अलि बढी सतर्क हुने, घरबाट बाहिर ननिस्किने, लकडाउनलाई पूर्ण पालना गर्ने र बाहिरबाट आएका मानिसको सम्पर्कमा नजाने जस्ता कार्यहरू अवलम्बन गर्नु भएको छ,’ पाठकले भने, ‘त्यसैले अब अरू कोही व्यक्तिमा पनि संक्रमण हुने सम्भावना छैन भन्दा फरक पर्दैन।’

धनगढीमा चार जनालाई संक्रमणको पुष्टि भएकासँगैको समूहमा आएका ४–५ जना बागलुङका छन्। उनीहरूसहित ८ जनाको पनि परीक्षण गरिएको थियो।

‘सात जनाको परीक्षण रिपोर्ट आइसकेको छ र एक जनाको रिपोर्ट आउन बाँकी छ, उहाँहरूको रिपोर्टमा संक्रमण नदेखिएकाले उहाँहरूमा त्रास हटेको छ, साथै सतर्क चाहिँ रहनु भएको छ,’ उनले भने।

स्थानीय सरकार समन्वयमा क्वारेन्टाइन

बागलुङका गाउँपालिका र नगरपालिकाले क्वारेन्टाइनको निर्माण गरेका छन्। जिल्लाका विभिन्न स्थानमा निर्मित क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको नभए पनि प्रयास सराहनीय रहेको धारणा सांसद पाठकको छ।

यसअघि, शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले धौलागिरि अञ्चल अस्पतालको भ्रमण गरी आइसोलेसन वार्ड थप गर्ने बताएका छन्।

साथै गण्डकी प्रदेश अस्पताललाई डेडिकेटेड अस्पताल निर्माण गर्ने संघीय सरकारको निर्णयअनुरूप काम अघि बढिरहेको जानकारी पाठकले दिए।

‘संघीय सरकार, प्रदेश सरकारसँगै स्थानीय सरकारले गरेको तयारीले बागलुङलाई कोरोना संक्रमणको जोखिमबाट मुक्त गराउन पर्याप्त छ,’ पाठकले भने, ‘यद्यपि, केही प्राविधिक र संरचनागत तयारी गर्नुपर्ने आवश्यकता छ।’

संघीय सरकारले बागलुङलाई उच्च प्राथमिकता दिँदै टेस्ट कीट र पोर्टेबल भेन्टिलेटर पठाएको छ। बागलुङ जिल्ला अस्पतालमा आइसियू निर्माणको विषयमा पनि पहल भइरहेको पाठकले बताए।

‘ब्रेक दी चेन’को अवधारणामा जनप्रतिनिधिसँगै प्रशासन र नागरिक तहमा समन्वय भएपछि जिल्लामा कोरोनाको संत्रास केही हदसम्म अहिले हटेको सांसद पाठकले बताए।

‘एक घरबाट अर्को घरमा नजाने र प्रहरी प्रशासनले पनि सतर्क रहँदै लकडाउनलाई कार्यान्वयन गरिरहेको पृष्ठभूमिमा कोरोना भाइरसको जोखिम हुनै नदिन सबै एकमत रहेका छौं,’ पाठकले भने, ‘त्रास अन्त्य गर्दै आत्मविश्वास बढाउनका लागि हामीले विशेष पहल गरिरहेका छौं, नागरिक, प्रशासन र जनप्रतिनिधिको यो पहल सार्थक पनि भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय