सीमामा कडाइ, दुई पक्राउ, १४ जनालाई क्वारेन्टाइन पठाइयो

राजेन्द्र गौतम/झापा
प्रकाशित
२०७७ वैशाख १ गते १९:५५

कोरोनाको उच्च जोखिम बढेसँगै झापाका ग्रामीण क्षेत्रमा अपरिचित व्यक्तिको निगरानी बढाउन थालिएको छ। गाउँका युवाले प्रहरी प्रशासन र स्थानीय सरकारसँगको समन्वयमा निगरानीलाई बलियो बनाउँदै लगेको झापाको दक्षिण पश्चिमी सीमावर्ती क्षेत्र चाँदनी चोकका युवा प्रमोद अधिकारीले बताए।

अपरिचित व्यक्तिलाई युवाले गाउँ प्रवेशमा रोक लगाएका छन्। काम विशेषले आउने व्यक्तिलाई आउनुको कारण, जाने स्थान, जाने व्यक्तिसितको नाता सम्बन्ध सोध्ने र अभिलेख राखेर मात्रै पठाउने गरिएको गौरादह-९ बैगुनधुराका युवा भरत गौतमले जानकारी दिए।

सीमावर्ती क्षेत्रमा रातको समयमा भारतबाट सामान आयत गर्ने गरिएको र लुकिछिपी मानिस आवतजावत गर्ने गरेको गोप्य सूचनाका आधारमा निगरानी गर्न सीमा प्रहरी चौकी कुञ्जीबारीलाई आग्रह हरिएको महाभारा भन्सारटोलका बलराम थपलियाले बताए। उनले गाउँगाउँमा तरकारी लिएर आउने ठेला र साइकललाई समेत प्रतिबन्ध लगाएको जानकारी उनले बताए। सीमा पारीबाट भारतीय नागरिक नेपाल पस्न सक्ने सम्भावना बढेकाले युवाले कडाइ र निगरानी गरिरहेको थपलियाले बताए।

सीमाक्षेत्रमा मानिसको आवागमन हुने र जोखिम बढ्ने भएपछि गौरीगञ्ज गाउँपालिका- १ को कुञ्जीबारीमा साप्ताहिक रुपमा लाग्दै आएको शनिबारे हाट लकडाउन सुरु भएदेखि नै बन्द गरिएको कुञ्जीबारी प्रहरी चौकीका असई दिपक कडेललेले बताए। उनले स्थानीय छोटी भन्सार क्षेत्रमा नियमित गस्ती भइरहेको बताए। स्थानीय सरकार, टोल विकास समिति र प्रहरीको साझेदारीमा खुल्ला सीमा सुरक्षा समिति गठन गरेर जनशक्ति परिचालन गरिएको असइ कडेलले बताए।

बोर्ड अप्रेसन पोस्ट (बिओपी) कुञ्जीबारीका शसस्त्र प्रहरी निरीक्षक अगम राईले सीमावर्ती क्षेत्रमा आवतजावतमा रोक लगाइएको र स्थानीय सरकारसँगको समन्वयमा सुरक्षा अवस्था मजबुत पारिएको बताए। उनले अत्यावश्यक सेवाका बाहेक कुनै पनि सवारी साधन चलाउन रोक लगाइएको जानकारी दिए। पोस्टले लकडाउनको समयमा नियम मिच्ने १४ जनालाई नियन्त्रणमा लिएर गौरीगञ्जमा निर्माण गरिएको क्वारेन्टाइनको जिम्मा लगाइएको बताए। उनीहरू निश्चित समयसम्म क्वारेन्टाइनमा बस्ने राईले जनाए।

दुई जना पक्राउ

लकडाउन उल्लंघन गरि घर तथा कार्यक्षेत्र छाडेर हिड्ने दुईजनालाई स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका छन्। साबिक झापा बाहुनडाँगी- ५ घर बताउने रुद्र फुयाललाई स्थानीयले नियन्त्रणमा लिएका हुन्। घर ठेगाना बैगुनधुरा आउनुको कारण समेत बताउन नचाएपछी बाध्य भएर नियन्त्रणमा लिनु परेको भरतले बताए।

ग्वालमुनिबाट नियन्त्रणमा लिइएका उनलाई गौरादह नगरपालिका- ७ मा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको गौरादह -९ का वडासदस्य कृष्ण गौतमले बताए। परिवारको मोबाइल नम्बर पत्ता लगाएर फुयालको घर पहिचान गरिएको कृष्णले जानकारी दिए।

बेबारिसे अवस्थामा घुमिरहेका गोबिन्दकुमार लोथलाई गौरीगञ्ज गाउँपालिका-१ कादोगाउँबाट आइतबार मध्यरातमा नियन्त्रणमा लिइएको कुञ्जीबारी प्रहरीका असई कडेलले बताए। सोलमारीको मेची इटाभटटामा काम गर्ने उनी बिना काम रातको समयमा हिडेपछी प्रक्राउ गरिएको उनले बताए।

उनलाई राति नै इटाभट्टाका व्यवस्थापक रोसनकुमार साहलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ। उनीसँग भएको मोबाइल नम्बरमा फोन गरेर उनको पहिचान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय