‘लकडाउन’ पालन गराउन खोज्दा सप्तरीमा झडप, महिलाको मृत्युपछि तनाव

‘लकडाउन’ पालन गराउन खोज्दा सप्तरीमा प्रहरी र युवा समूहबीच झडप भएको छ। सप्तरीको खड्ग नगरपालिकामा ‘लकडाउन’ पालन गराउने क्रममा प्रहरी र युवाबीच झडप भएको हो।

झडपकै क्रममा प्रहरीको लाठी प्रहारबाट ६५ वर्षीया जैनव पुजर्नीको मृत्यु भएको स्थानीयले दाबी गरेका छन्। प्रहरीले भने महिलासँग कुराकानीसमेत नभएको दाबी गरेको छ ।

खड्ग नगरपालिका–६ मा ‘लकडाउन’ उल्लंघन गरी घर बाहिर जम्मा भएका १०/१२ जना युवालाई घरभित्र बस्न भनेपछि प्रहरीसँग झडप भएको सप्तरीका एसपी कृष्ण प्रसाईले बताएका छन्।

तर, महिलाको मृत्यु प्रहरीको लाठी प्रहारबाट भएको भन्ने कुरामा सत्यता नरहेको उनको दाबी छ । ‘‘लकडाउन’ उल्लंघ गरेर केही युवा घर बाहिर जम्मा भएको खबर आएको थियो,’ एसपी प्रसाईंले हेल्थ पोस्टलाई टेलिफोनमा भने,‘प्रहरी पुगेपछि युवाहरु आक्रोशमा आउँदा सामान्य झडप भएको हो । महिलासँग प्रहरीले कुराकानीसमेत गरेको छैन् ।’

महिलाको मृत्यु हृदयघातबाट भएको प्रसाईंले बताए । मृतक वृद्धा मुटु र दमको रोगी भएको अस्पतालको रिपोर्टले देखाएको उनको भनाई छ । महिलाको परिवारले शव बुझेर लगिसकेको र अवस्था सामान्य रहेको एसपी प्रसाईंले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय