कपिलवस्तुमा धार्मिकस्थल अनुगमन

हेल्थपाेस्ट/बुटवल
प्रकाशित
२०७७ वैशाख १ गते १६:०२

कपिलवस्तुको सुरक्षा संयन्त्रको टोलीले कपिलवस्तुको सामुहिक रुपमा भेला हुने धार्मिक सार्वजनिक स्थलको अनुगमन गरेको छ ।

गृह मन्त्रालयले दिएको निर्देशनका आधारमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेल नेतृत्वको टोलीले सामुहिक रुपमा जमघट हुने सार्वजनिक क्षेत्रहरुको स्थलगत अनुगमन गरेको हो ।

अनुगमनको क्रममा धार्मिक सार्वजनिक स्थानमा भिडभाड नगर्न तथा घरमै बसेर पुजा, प्रार्थना र नमाज पढ्न निर्देशन दिएको छ ।

जिल्लाको तौलिहवा, डुमरा, पचेहरा लगायतका स्थानमा रहेका मन्दिर, मस्जिद, मदरसा र चर्चको अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तुमा १ सय ९४ मदरसा, १ सय ५ मन्दिर, १९ चर्च र ५ गुम्बा लगायतका सामुहिक भेला तथा जम्मा हुने सार्वजनिकस्थल रहेको स्थानिय प्रशासनको तथ्यांक छ ।

प्रजिअ पौडेल सगै टोलीमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शम्सेर जबरा, शसस्त्र प्रहरी बल नम्बर २८ गण कपिलवस्तुका शसस्त्र प्रहरी उपरिक्षक जनक पुरी र राष्ट्रिय अनुसन्धान कार्यालय कपिलवस्तुका उपअनुसन्धान निर्देशक जयेन्द्र उपाध्याय सहभागी रहेका थिए ।

मन्दिर, मस्जिद, चर्च, गुम्बा लगायतका स्थानको अनुगमनमा पुगेको टोलीले अनावश्यक रुपमा धार्मिक सावैजनिक स्थानमा भिडभाड नगर्न तथा घरमै बसेर पुजा, प्रार्थना र नवाज पढन निर्देशन दिएको छ ।

टोलीले कपिलवस्तु नगरपालिका वडा नम्बर १ को तौलेश्वरनाथ मन्दिर हुदै सोही वडाको मदरसा नैमुलउलुम, वडा नम्बर २ को चन्द्रघण्टा दुर्गा मन्दिर र बसपार्कमा रहेको मदरसाको स्थलगत अनुगमन गरेको थियो । अनुगमन टोलीले मायादेवी गाँउपालिकाको वडा नम्बर ६ डुमरा स्थित जामिया मत्लउलुम अलसलफिया मदरसा हुदै कपिलवस्तु नगरपालिका वडा नम्बर ११ पचेहरामा रहेको मदरसा र वडा नम्बर ३ महिताको चर्चमा पुगी अनुगमन गरेको थियो ।

जिल्लाबाट खटिएको टोलीले २ मन्दिर, ४ मदरसा र १ चर्चको अनुगमन सम्पन्न गरेको छ । अनुगमनका क्रममा अनावश्यक व्यक्तिको उपस्थिती र भिडभाड भएको भेटिएन ।

जिल्ला स्थित सुरक्षा प्रमुखको टोलीले जिल्ला भित्र कोरोना संक्रमणबाट बच्नका लागी बढि भिडभाड हुने धार्मिक सार्वजनिकस्थलको अनुगमन गर्नुका साथै मातहतका निकायलाई अनुगमन गर्न निर्देशन दिएको शसस्त्र प्रहरी उपरिक्षक जनक पुरीले जानकारी दिए । कुनै पनि धार्मिक सार्वजनिकस्थलमा सामुहिक भेला, जम्मा हुने तथा भिडभाड गर्ने कार्य हुन नदिन जिल्लाभरका धार्मिक सार्वजनिकस्थलको अनुगमन गरिएको प्रजिअ दिर्घनारायण पौडेलले बताए ।

‘हामीले सदरमुकाम सहितका केहि क्षेत्रको अनुगमन ग¥यौ । जिल्लाभरका सामुहिक भेला जम्मा हुने सार्वजनिक स्थानको अनुगमन गर्न तत्ततका सुरक्षा संयन्त्र परिचालन गरेका छौ’ प्रजिअ पौडेलले भने ।

आईतबार विरगंजको एक मदरसामा रहेका ३ जनामा एकै पटक कोरोनाको संक्रमण पुष्टी भए सगै सामुहिक भेला र जम्मा हुने सार्वजनिक धार्मिकस्थलको अवस्था बुझि आवश्यक कडाई गर्नका लागी गृह मन्त्रालयले देशैभरका जिल्ला प्रशासन कार्यालयलाई गरेको निर्देशनका आधारमा स्थानिय प्रशासनले सार्वजनिक धार्मिकस्थलको एकै साथ अनुगमन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय