गहुँ भित्र्याउने चटाराे, खेतमै पनि दुरी कायम गर्न आग्रह

जोशीपुर गाउँपालिका कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा पर्छ। यो गाउँपालिका चौधरी समुदायाको बाक्लो बसोबास भएको क्षेत्र हो। यहाँका अधिकांश जनता कृषिमा निर्भर छन्।

यहाँका अधिकांश मानिस् खेतीपातीको समयमा घर फर्किने र अन्य समयमा रोजगारीका लागि भारत जाने गर्छन्। भारतबाट मान्छेको आवागमन बढी हुने भएकाले यो क्षेत्र कोरोनाको उच्च जोखिममा छ।

अहिले गाउँपालिकाले पनि कोरोनाको जोखिम भित्रिन नदिन विभिन्न प्रयास गरिरहेको छ। भारतबाट आएका मानिसहरूलाई घैलाबौनियास्थित रघुनाथ आदर्श बहुमुखी क्याम्पसमा क्वारेन्टाइन निर्माण गरेर राखिएको छ। उनीहरूको रेखदेखका लागि चिकित्सकको टोली पनि खटिएको छ।

जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीका अनुसार सबै जनप्रतिनिधिहरू कोरोना रोकथामका लागि एकजुट भएर सक्रिय छन्। उनले अहिले क्वारेन्टाइनमा ३६ जनालाई राखिएको जानकारी दिए।

उनले गाउँपालिकाले भारतबाट आएका मान्छेहरूको लगत लिने, उनीहरूको र्‍यापिड टेस्ट गर्ने र संकास्पद देखिए स्वाब परीक्षण गर्ने लगायतका काम गरिरहेको बताए। ‘यहाँ भारतसँग जोडिएका विभिन्न ग्रामिण नाकाबाट पनि मान्छे लुकेर आएका छन्,’ उनले भने, ‘तिनीहरूको पनि खोजी गर्ने कार्य भइरहेको छ। र, त्यसरी आएका मान्छे भेटिए उनीहरूलाई सम्झाइबुझाइ गरी क्वारेन्टाइनमा राख्ने कार्य गरिरहेका छौं।’

उनले शुक्रबार क्वारेन्टाइनमा रहेका सबैको र्‍यापिड टेस्ट भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको बताए। केही मान्छे क्वारेन्टाइनमा बसेको १४ दिन पुगिसकेकाले घर पठाउने तयारी भइरहेको उनले जानकारी दिए।

तर, गाउँपालिकामा सुरूदेखि नै चिकित्सकका लागि आवश्यक पर्ने पिपिइलगायत सामग्रीको भने अभाव छ। आफूहरूले सुरुदेखि नै पिपिइलगायत सामग्रीका लागि प्रदेश सरकार र सम्बन्धित निकायलाई अनुरोध गर्ने गरेको भए पनि पाउन नसकेको अध्यक्ष चौधरीको गुनासो छ। थोरै–थोरै सामग्री भए पनि ल्याएर काम चलाइरहेको उनले बताए।

उनी प्रदेश सरकारले सामग्री पठाए पनि थोरै पठाएको र अपुरो सामग्री पठाएको गुनासो गर्छन्। गाउँपालिकाले स्थानीय स्रोतसाधनले भ्याउनेसम्मको काम गरिरहेको भए पनि जिल्लाबाट अपुरो सामग्री पाइएको उनले बताए। अपुरो सामग्री भएकाले चिकित्सकहरूले जोखिम मोलेर काम गरिरहनु परेको चौधरी बताउँछन्।

उनले घाँटीमाथि टाउको, अनुहार, आँखालगायत भागमा प्रयोग गर्ने र बुटलगायत सामग्री नआएको गुनसो गरे। त्यसका लागि पहल गर्दा पनि कुनै सुनुवाई नभएको उनी बताउँछन्।

कैलालीमा कोरोनाको उच्च जोखिम भएको र आफ्नो गाउँपालिकामा विपन्न समुदायको बसोबास बढी भएकाले लकडाउन कार्यान्वयन कडा पारिएको उनले बताए।

‘गाउँ‘दैनिक ज्यालादारी गर्ने विपन्न परिवारलाई प्रदेश सरकारले प्रतिपरिवार तीन हजार दिने भनिरहेकाले छ,’ अध्यक्ष चौधरीले भने, ‘लगत संकलन भइसकेपछि हामी त्यो डाटा प्रदेश सरकारलाई पठाउने छौं। यसले पनि विपन्न परिवारलाई सहयोग पुग्ने छ। हामीले स्थानीय तहबाट गर्ने सहयोग पनि गर्ने नै छौं।’

पालिकाले विपन्न वर्गको लगत पनि संकलन गरिहेको छ। दैनिक मजदुरी गरेर खाने वर्ग लकडाउने समस्यामा छन्। उनीहरूलाई हामी चाडोभन्दा चाडो राहत प्रदान गर्ने छौं,’ उनले भने।

अध्यक्ष चौधरी अहिले गहुँखेती भित्र्याउने समय भएकाले किसानका समस्यालाई मध्यनजर गर्दै सरकारले तोकेको दूरी कायम गरेर किसानलाई खेत बारीमा जान आग्रह गरेका छन्। स्थानीयस्तरमै रहेको जनशक्तिलाई प्रयोग गर्दै गहुँबाली भित्र्याउने काम भइरहेको उनले बताए।

‘अघिल्ला वर्षहरूमा ट्याक्टर, थ्रेसरलगायत सामग्री चलाउन भारतबाट मान्छे आउँथे। अहिले बाहिरको जनशक्तिलाई त्यसरी आउन दिइएको छैन। आफूसँग भएको जनशक्तिलाई नै प्रयोग गरिरहेका छौं,’ उनले भने।

उनले दूरी कायम नगरी एकै ठाउँमा भीडभाड गरेर गहुँ काटिरहेको पाइए प्रहरीले पक्राउ गरेर कारबाही गर्ने भएकाले सरकारले जारी गरेका निर्देशन सबैले पालना गर्नुपर्ने बताए। लकडाउन आफ्नै स्वास्थ्यका लागि भएकाले कसैलाई छलेर पालना नगर्दा आफ्नै जीवन जोखिममा पर्ने कुरा सबैले बुझ्नु पर्ने उनी बताउँछन्।

उनले चिकित्सक र प्रहरी प्रशासनले ठूलो सहयोग गरेकाले आफूले धन्यवाद दिन चाहेको बताए। सामग्री अभावका बीचमा पनि उनीहरूले ठूलो सहयोग गरेको बताउँदै भ्याएसम्मको सहयोग गरेर आत्मबल बढाउने कार्यमा रहेको चौधरीको भनाइ छ।

‘दैनिक ज्यालादारी गर्ने विपन्न परिवारलाई प्रदेश सरकारले प्रतिपरिवार तीन हजार दिने भनिरहेकाले छ,’ अध्यक्ष चौधरीले भने, ‘लगत संकलन भइसकेपछि हामी त्यो डाटा प्रदेश सरकारलाई पठाउने छौं। यसले पनि विपन्न परिवारलाई सहयोग पुग्ने छ। हामीले स्थानीय तहबाट गर्ने सहयोग पनि गर्ने नै छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय