काेराेना कहर: बेलायत, अमेरिका र युएईमा १३ जना नेपालीको मृत्यु

हेल्थपोस्ट नेपाल

मृतक बेलायतमा र संक्रमित अमेरिकामा धेरै

कोरोना भाइरसको संक्रमणबाट विश्वका विभिन्न मुलुकमा १३ जना नेपालीले ज्यान गुमाएका छन्। बेलायत, संयुक्त राज्य अमेरिका र दुबईमा गरी १३ जना नेपालीको मृत्यु भएको हो।

गैरआवासीय नेपाल संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तका अनुसार बेलायतमा आठ जना, संयुक्त राज्य अमेरिकामा चार जना र दुबईमा एक जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो।

नेपालमा आइतबारसम्ममा १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमा तीन जना भारतीय नागरिक छन्। तीमध्ये एक जनाले स्वास्थ्यलाभ गरेर डिस्चार्ज भइसकेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ।

तर, विभिन्न मुलुकमा रहेका नेपालीहरू कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउन बाध्य भएका छन्। एनआरएनए अध्यक्ष पन्तका अनुसार बेलायतमा बस्ने पर्वत घर भएका पूर्व गोर्खासैनिक ५६ वर्षीय मेखबहादुर गुरूङ, पर्वतकै ५९ वर्षीय चेतप्रसाद गुरूङ, ६६ वर्षीय लीलाबहादुर राई, सोलुखम्बुका ५८ वर्षीय शिवप्रसाद श्रेष्ठ र चितवनका ४० वर्षीय प्रशान्त अर्यालको मृत्यु भएको छ।

कास्की जिल्लाको पोखरा महानगर घर भएकी पुष्पा घलेको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। बेलायतको सडभरीटाउनमा रहँदै आएकी घलेको कोरोना भाइरसको संक्रमणबाट शनिबार मृत्यु भएको हो।

त्यसैगरी, बेलायत बस्दै आएका नेपाली नागरिक ८६ वर्षीय यमबहादुर मल्ल र ७५ वर्षीय कर्णबहादुर क्षेत्रीको मृत्यु भएको जानकारी पन्तले दिए।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण पाँचथर जिल्लाका ५० वर्षीय अनिल लिम्बू र सोलुखुम्बु घर भएका ४३ वर्षीय निङमा तेम्बा शेर्पाको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

एनआरएनए अध्यक्ष पन्तका अनुसार मुस्ताङ जिल्ला घर भएका ४८ वर्षीय थेग्बेन विष्ट र ४० वर्षीय सोनाम लामाको मृत्यु भएको छ।

अमेरिकामै ज्यान गुमाएका नेपाली नागरिक अजयमान छोचुलाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ। उनको कोरोना भाइरसको संक्रमणको आशंका गरिएका उनको उपचारकै क्रममा हृदयघातबाट मृत्यु भएको थियो।

अमेरिका र बेलायतमा मात्रै होइन। खाडी मुलुकमा काम गर्न गएकी एक महिलाको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

संयुक्त अरब इमिरेट्समा रहँदै आएकी रूपन्देही जिल्ला देवदह खैरेनी घर भएकी ४० वर्षीया बिनु पराजुलीको पनि मृत्यु भएको युएईस्थित नेपाली राजदूतावासलाई उद्धृत गर्दै एनआरएनए अध्यक्ष पन्तले जानकारी दिए।

विश्वभरि १ हजार ५ सय नेपाली कोरोनाबाट संक्रमित

नेपालमा संक्रमितको सख्या न्यून रहेका बेला विश्वका अरू देशमा रहेका नेपालीमा कोरोनाको संक्रमण ‘भुसको आगो’ जस्तै फैलिएको छ।

एनआरएनए अध्यक्ष पन्तका अनुसार सबैभन्दा धेरै अमेरिकामा बस्ने नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएको छ। तर, यकिन तथ्याङ्क आएका छैन।

‘गैरआवासीय नेपाली संघलाई आएको जानकारी अनुसार अहिलेसम्ममा एक हजार ५ सय नेपाली कोरोना भाइरसको संक्रमणबाट पीडित भएको जानकारी प्राप्त भएको छ,’ एनआरएनए अध्यक्ष पन्तले हेल्थपोस्ट नेपालसँग भने।

बेलायत, स्पेन, इटालीसहित युरोपेली मुलुक तथा खाडी मुलुक, मलेसियादेखि अष्ट्रेलियासम्मका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी पन्तले दिएका छन्।

‘गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद र अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी र सदस्यहरूमार्फत संक्रमित नेपालीहरू तथ्याङ्क संकलन गर्ने र उपचारको प्रबन्ध गर्ने विषयमा सहजीकरण भइरहेको छ,’ पन्तले भने।



Leave a Reply

Your email address will not be published. Required fields are marked *