वीरगन्जमा संक्रमितहरू बसेको मस्जिद क्षेत्र ‘सिल’ गरियो
वीरगन्जको एउटा मस्जिदमा बसिरहेका तीनजना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि छपकैया मस्जिद क्षेत्र पूर्णरूपमा सिल गरिएको छ।
कोरोना संक्रमित फेला परेपछि त्यस क्षेत्रलाई पूर्ण रुपमा सिल गर्न प्रदेश नम्बर २ सरकारले निर्देशन दिएको थियो। संक्रमण फैलिन नदिन वीरगञ्ज महानगरपालिका २ छपकैयालाई सिल गर्न तथा संक्रमितहरुको सम्पर्कमा आएका सबै जनाको कन्ट्याक्ट ट्रेसिङ गर्न प्रदेश सरकारले निर्देशन जारी गरेको हो।
कोरोनाभाइरस (कोभिड–१९) रोकथाम, व्यवस्थापन र नियन्त्रणको लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित सुरक्षा समितिको बैठकले पनि संक्रमित उनीहरु बस्दै आएको वीरगञ्ज–२ छपकैयास्थित रहेको मस्जिदलाई सिल गर्ने निर्णय गरेको छ । बैठकको निर्णयलगत्तै सुरक्षकर्मी परिचालन गरेर छपकैयास्थित मस्जिद लगायतको क्षेत्रलाई सिल गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।
योसँगै वीरगन्जमा संक्रमणको त्रास फैलिएको छ। स्थानीवासी पनि त्रसित भएका छन्।
अधिकांश टोलवासीले आफ्नो टोल प्रवेश गर्ने मुख्य द्वारमा बार लगाएर बन्द गरिदिएका छन्। ‘प्रवेश निषेध’ लेखिएको बोर्डहरु झुन्ड्याएका छन्।
वीरगञ्ज बहिरने र भित्रने ठाउँमा प्रवेश निषेध गरिएको छ। प्रहरी र एम्बुलेन्स गाडीबाहेक बाहेक सबैका लागि सडकहरु बन्द गरिएका छन्।
वीरगन्ज महानगरपालिका–२ छपकैयास्थित श्रीराम हलअगाडि रहेको मस्जिदमा बस्दै आएका उनीहरुमा संक्रमण पुष्टि भएपछि हाल नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । अहिले मस्जिद र अस्पताल वरीपरि आवातजावात समेत बन्द गरिएको छ। सुरक्षा पनि कडा गरिएको छ भने टोल टोलमा प्रहरीले घरबाट बहिर ननिस्कन भन्दै माइकिङ्ग गरिरहेको छ।
सप्तरीबाट सिमानाका मस्जिदहरूमा बस्दै-बस्दै वीरगन्ज आइपुगेका थिए संक्रमित भारतीय
हेटौंडामा शुक्रबार प्रारम्भिक परीक्षण गरी उनीहरुको नमुना पुनः परीक्षणका लागि काठमाडौं पठाइएको थियो। उनीहरुको सम्पर्कमा रहेका २६ जनालाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएर वीरगन्ज चिनी मिलस्थित सिद्धार्थ माविको क्वारेन्टाइनमा राखेको छ ।