हेलिकप्टरमा स्वास्थ्य सामग्री लान सिडिओले अनुमति दिएनन्, गाडीमा रातारात पुर्‍याइयो

संखुवासभाका प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य सामग्री लैजानका लागि चार्टर्ड गरिएको हेलिकप्टर सञ्चालनको अनुमति दिन अस्वीकार गरेका छन्।

प्रमुख जिल्ला अधिकारी जीवन दुलालले सुदूरपूर्वी पहाडी जिल्ला संखुवासभाका लागि पूर्व राज्यमन्त्री दीपक खड्काले चार्टर्ड गरेको हेलिकप्टर सञ्चालनको अनुमति नदिएका हुन्।

नेपाली कांग्रेसका नेता खड्काले १९८ थान व्यक्तिगत सुरक्षा सामग्री पीपीई, ६० लिटर स्यानिटाइजर, ६ हजार थान मास्क, १ हजार ३ सय थान पञ्जा संखुवासभा लानका लागि हेलिकप्टर चार्टर्ड गरेका थिए।

तर, प्रमुख जिल्ला अधिकारी दुलालले स्वीकृत दिएनन्। ‘शुत्रबारदेखि पहल गरेँ, शनिबार पनि बिहानैदेखि सिडिओलाई भनेँ, तर सुरूमा सामग्री मात्रै पठाउन भनेका सिडिओले अन्तिम समयमा स्वीकृति दिएनन्,’ खड्काले भने।

प्रमुख जिल्ला अधिकारी दुलालले पूर्व राज्यमन्त्री खड्कासँग आउनेको सूची मागेका थिए। र, सामग्री लिएर आफू आउने बताएका खड्कालाई दुलालले हेलिकप्टर उडानको अनुमति दिएनन्।

गृहमन्त्रालयले कुनै पनि जिल्लामा स्वास्थ्य सामग्री लानका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको छ। सोही अनुरुप हेलिकप्टर कम्पनीले जिल्ला प्रशासन कार्यालय संखुवासभामा निवेदन दिएको थियो।

‘सामग्री मात्रै पठाउछु भन्दा पनि अनुमति पाइएन, संखुवासभामा आवश्यक सतर्कताका लागि नै मैले यो पहल गरेको हुँ, संत्रासमा रहेका जिल्लाबासीलाई केही राहत होस् भन्ने मेरो उद्देश्य हो,’ खड्काले भने।

हेलिकप्टरको अनुमति नपाएपछि गाडीमा पुर्‍याइयो सामग्री

पूर्वराज्यमन्त्री खड्काले प्रशासनबाट हेलिकप्टर सञ्चालनको अनुमति नपाएपछि गाडीमै स्वास्थ्य सामग्री लिएर गएका छन्। शनिबार हिँडेका उनी रातारात गरेर आइतबार बिहान संखुवासभा पुगेका छन्।

‘संकटका बेला आफ्नो जिल्लाबासीलाई सुरक्षित बनाउनु हाम्रो दायित्व बन्छ, त्यसलै जिल्ला प्रशासन कार्यालयसँग गाडी सञ्चालनको अनुमति मागेर सामग्री ल्याएँ,’ खड्काले हेल्थपोस्ट नेपालसँग भने।

हेलिकप्टरको अनुमति नदिए पनि धेरै आग्रहपछि सिडिओ दुलालले गाडी सञ्चालनको अनुमति दिएको खड्काले बताए। संखुवासभा पुगेर जिल्लास्थित विभिन्न पार्टीका नेता तथा जिल्ला समन्वय समितिमार्फत् स्वास्थ्य सामग्री वितरण गरिएको पूर्व राज्यमन्त्री खड्काले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय