‘सिमाना पूरै बन्द छ, रातिराति लुकेर आउनेहरूले जोखिम बढाए’

भारत र अन्य देशबाट भित्रिएकासमेत सुदूरपश्चिम प्रदेशमा चारजना कोराना संक्रमित भेटिएपछि सिमाना जोडिएका गाउँपालिका तथा नगरपालिकामा थप त्रास थपिएको छ।

यही त्रासमा छन् कञ्चनपुर बेलौरी नगरपालिकाका स्थानीय पनि।

बेलौरी नगरपालिका नजिक गौरीफन्टा, खजुरिया लगायत साना ठूला नाकाहरुबाट अझैं पनि मानिस आउने जाने क्रम रोकिएको छैन। नगरपालिकाले नाकाहरुमा कडाई गरेपनि रातिराति, लुकिछिपि भित्रिने क्रममा नरोकिएपछि स्थनीय त्रास थपिएको छ।

‘खुल्ला सिमाना छ, रातिराति मानिस लुकिछिपी आउने जाने गरिरहन्छन्’ बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले भने ‘हामीले कडाई त गरेका छौं तर, पनि समस्या उस्तै छ।’

मानिसको आवातजावत मात्रै होइन, रातिको समयमा भारतबाट सामान बोकेर गाडीहरु पनि भित्रिने गरेका छन्। साना साना नाकाहरुमा मानिस आउने जाने क्रम नरोकिएपछि स्थानीयले खाडल खनेर बाटोसमेत बिगारिदिएका छन्। तर, पनि समस्या उस्तै छ।

यो नगरपालिकामा अहिलेसम्म २ सय ७४ जना भारतबाट आएकाहरुको तथ्याङ्क संकलन गरिएको मेयर चौधरीले बताए। ‘सबैको स्वाव परीक्षण भइसकेको छ। लगभग सबैको रिपोर्ट नर्मल नै छ’ उनले भने ‘पछिमात्रै आएका १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ।’

क्वारेन्टाइनमा एकजना एमबिबिएस डाक्टरसहित अरु ५ जना स्वास्थ्यकर्मी खटाइएको नगरप्रमुख चौधरीले बताए।

नगरपालिकाले ४५ जना अट्ने क्वारेन्टाइन बनाएको छ। ‘अहिलेसम्म लक्षण त कसैलाई देखिएको छैन। तर, पनि खुल्ला सिमानाका कारण यहाँ त्रास त छँदैछ’ नगरप्रमुख चौधरीले भने ‘हामीले नाकामा सुरक्षाकर्मी खटाएका छौं। सबैतिर कडाई भने गरिरहेका छौं।’

नगरपालिकाले बाहिर गएर मजदूरी गर्नेहरु जस्तै महाकाली किनारमा गिट्टी कुट्न गएका ४५ जना र दार्चुलामा फँसेका ५ जना मजदूरलाई पनि घर ल्याइसकेको छ। उनीहरुको सबैको स्वास्थ्य परीक्षणपछि घरमै बस्न भनिएको नगरपालिकाले जनाएको छ।

त्यस्तै नगरभित्रका गरिब, विपन्न र दैनिक ज्यालादारी मजदुरहरुको तथ्याङ्क संकलन गर्ने र राहत वितरणको काम भइरहेको उनले बताए।
क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीका लागि पर्याप्त पिपिई र स्वास्थ्य सामग्री नभएका कारण उनीहरुमा पनि जोखिम थपिएको चौधरीले बताए। ‘हामीले ५० थान पिपिई मगाएका छौं तर, कहिले आउने हो थाहा छैन’ उनले भने ‘स्वास्थ्यकर्मीलाई सबैभन्दा जोखिम छ तैपनि के गर्नु सामग्री नै छैन। रिस्कमा काम भइरहेको छ।’

कोरोना भाइरस संक्रमण नियन्त्रणका तथा उपचारका लागि भन्दै नगरपालिकाले १ करोड बराबरको कोष खडा गरेको उनले बताए।
भारतबाट आएका सर्वसाधारणले क्वारेन्टाइनमा बस्न आनाकानी गरिरहेका कारण पनि समस्या थपिएको उनको भनाई छ। ‘हामी खोज्न जाँदा पनि उनीहरु लुकेर बस्छन्’ उनले भने ‘तैपनि हामीले सकेसम्म निगरानीमै राखेका छौं।’

नगरपालिकाले दुई वटा कोरोनाका बिरामी र अर्काे एउटा आकष्मिक बिरामीहरुका लागि एम्बुलेन्स पनि तयारी अवस्थामा राखेको जनाएको छ।

‘हामीले जतिसक्छौं त्यसको तयारी गरेका छौं’ मेयर चौधरीले भने ‘सबैभन्दा राम्रो सिमाना पूरै सिल गर्ने र कसैलाई पनि छिर्नै नदिने हो, नगरवासी सबैलाई घरभित्रै बस्नुस् भनेर भनेका छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय