कोरोना संक्रमण दोस्रो लहरको भयमा अल्झिएको चीन

गत वर्ष अन्त्यतिर विश्वमै सबैभन्दा पहिला कोरोना भाइरसको मार झेलेको उहानको केन्द्रमा अवस्थित सहरका बासिन्दा दुई महिनाभन्दा लामो अवधिको बन्दाबन्दीबाट यसै साता घर बाहिर निस्कँदा त्यहाँको वातावरणमा ‘विजय प्राप्तिको आभाष’ प्रतित भएको थियो।

बाँकी संसारमा भाइरस संक्रमणको गति तीव्र भइरहँदा एक समयमा कोरोना भाइरस नियन्त्रणमा लिन चीन सरकारको असफलताको संकेत बनेर हाल सम्पूर्ण देशलाई भाइरसबाट मुक्त गराउन सफल सहरका रूपमा चित्रित उहानको यस विजयलाई त्यहाँको राज्यद्वारा प्रवद्र्धित मिडियाले ‘कभर’ गरेको थियो।

‘वसन्त ऋतुको यस न्यानो समयमा उहानी नागरिक फिनिक्स चराझंैं कोरोना भाइरसको अँध्यारो लकडाउनबाट पुनर्प्रकट भएका छन्’ शीर्षकमा ग्लोबल टाइम्सले हालसालै एउटा रिपोर्ट प्र्रकाशित गरेको थियो। विवाहमा अधिक वृद्धिलगायत गतिविधिसँगै उहान क्रमशः सामान्य अवस्थातर्फ फर्केको बारे अन्य पत्रपत्रिकाले समाचार प्रकाशित गरेका थिए।

तर, यस हालै सिर्जित यस आस्वस्त एवं आत्मविश्वासपूर्ण वातावरणभित्र पनि भाइरसमाथिको यस विजय कतै क्षणिक हुने त हैन अथवा संक्रमणको नयाँ लहर र परिणामस्वरूप अर्को चरणको लकडाउन, थप मृत्यु र दुर्भाग्यले कतै तत्कालको भविष्यमा ढुकेर बसिरहेको त छैन भन्ने चासो र चिन्ताले सम्पूर्ण एसियालाई गाँजिरहेको छ।

अथक प्रयास
गत साता कम्युनिस्ट दलका नेताहरूसँगको बैठकमा चिनियाँ राष्ट्रपति सि चिनफिङले ‘संक्रमण विदेशबाट आयातित घटनाविरुद्धको पहरेदारी तथा देशभित्र प्रकोपको पुनर्आगमनको निवारणका लागि अथक पहल जारी राख्नुपर्ने’ मा जोड दिएका थिए।

सामान्य अवस्थामा फर्के तापनि देशका विभिन्न भाग अझ विशेषगरी यातायात गतिविधिलाई ज्यादै नै सीमित गरिएको र आयातित संक्रमणका घटनालाई निवारण गर्न विदेशीको यात्रा प्रतिबन्धित गरिएको चिनियाँ राजधानी बेइजिङमा नियन्त्रणका कडा कदम जारी छ।

छिमेकी राष्ट्र रुसमा संक्रमणको घटनामा वृद्धि भएसँगै ऊसँग सीमा जोडिएको उत्तरी सहर सुयफेनमा अस्थायी अस्पताल स्थापना गरी त्यहाँका बासिन्दालाई घरभित्रै बस्ने आदेश दिइएको छ। पिपल्स डेली पत्रिकाका अनुसार अप्रिल ९ सम्म यस सहरमा १ सय २३ वटा आयातित संक्रमणका ‘केस’ देखिएका थिए भने १ सय ३७ संक्रमणका लक्षण नदेखिएका केस पनि दर्ता भएका थिए।

उहानको राजधानी हुबेइमा अधिकस्तरको आकष्मिक प्रतिकार्यका कदमलाई उच्च सतकर्तासाथ निरन्तरता दिइएको छ। ‘संक्रमणको घटनामा शून्य वृद्धि हुनुको अर्थ जोखिम शून्यप्रायः छ भन्ने कदापि हैन,’ त्यहाँका अधिकारीहरूले भनेका छन्।

दसौं हजार उहानीले यसै साता आफ्नो सहर छोडी अन्यत्र जान लागेकाले देशभरको रेल सञ्चालकहरूले ‘डिसइन्फेक्सन’ र निगरानीको कार्य बढाएका छन्।

नयाँ वर्षमा आफन्त तथा परिवारलाई भेट्न र सँगै छुट्टी मनाउन आएर लकडाउनका कारण उहानमै ‘थुनिएका’ अधिकांश मानिस लकडाउन खुल्दा देशका विभिन्न कुनामा अवस्थित आफ्ना घर तथा कार्यक्षेत्र फर्कन आतुर छन्।

ग्वान्जाओ तथा सेन्जेनलगायत अन्य विभिन्न सहरका अधिकारीहरूले यस्ता आन्तरिक यात्रुले आफूसँग भाइरस बोकेर नल्याउन् भनेर स्वःबन्दाबन्दीको कार्य तथा लगातारको स्वास्थ्य परीक्षणलाई जारी राख्नुपर्ने जनाइसकेका छन्।

उहानमा पनि परीक्षण गराएका मानिसले एक सरकारी एपमार्फत् ‘क्युआर कोड’ प्राप्त गरेका छन्, जसमध्ये भाइरसको लक्षण नभएका र परीक्षणमा नकारात्मक देखिएको अर्थ जनाउने हरियो संकेत पाएकाले मात्रै यात्रा गर्न स्विकृति पाएका छन्। तर, हरियो संकेत नपाएका अन्यको यात्रामा भने प्रतिबन्ध लगाइएको छ।

अर्कातर्फ आफ्नो जागिर वा व्यापारलाई निरन्तरता दिइराखेकाको शरीरको तापक्रमको लगातार जाँच भइरहे पनि कतै बाहिरबाट स्वस्थ देखिएका यीमध्ये कोही संक्रमित त छैनन् भन्ने त्रास व्याप्त छ।

‘तपाईंलाई लक्षण नदेखिएका मानिस पनि बजारमा हिँडिराखेका छन् भन्ने थाहा छैन? हाल चालिएका सुरक्षा कदमले उनीहरूमा संक्रमणको पहिचान गर्नसक्छ जस्तो तपाईंलाई लाग्छ? यो भाइरस अचम्मसँग सर्ने भएकाले हामी आफैं चनाखो हुन जरुरी छ,’ राज्यद्वारा सञ्चालित एउटा पत्रिकाले उहानको एक पसलेलाई उद्धृत गरेको छ।

यो आराम गर्ने समय होइन
अमेरिका र युरोपको तुलनामा सबैभन्दा पहिले विश्वमहामारीको अग्रपंक्तिमा रहेका एसियाली देश पश्चिमा मुलुकभन्दा धेरै चाँडै सामान्य अवस्थातर्फ फर्कने देखिएको छ।

त्यसो त यी एसियाली राष्ट्रले साँच्चै आमजीवन तथा कामकारबाहीलाई पुनर्सञ्चालन गर्नेछन् वा प्रतिबन्धमा ल्याइएको खुकुलोपनाको कारण संक्रमणको नयाँ लहरका लागि बाटो खुला गर्नेछन् भनेर सारा विश्वले नै सास थामेर हेरिरहेको छ।

गत साता ल्यान्सेट जर्नलमा छापिएको एक अध्ययनले यसै प्रश्नलाई सम्बोधन गरेको छ।

उक्त अध्ययनले चीनमा लगाइएको लकडाउन तथा यात्रा प्रतिबन्धले नयाँ संक्रमणलाई शून्यमा झार्न सफल भए पनि यस रोगको उपचारका लागि हालसम्म कुनै भ्याक्सिन वा औषधि विकास हुन सकेको छैन। यस्तो अवस्थामा व्यापार, कलकारखाना, विद्यालय तथा अन्य विविध क्षेत्र पुनर्सञ्चालन तथा सामाजिक मिलापमा आएको खुलापनले विशेषगरी आयातित संक्रमणको जोखिम बढाइ भाइरसको पुनर्फैलावटका लागि उर्वर भूमि तयार गराउन सक्ने सम्भावना उजागर गरेको छ।

‘बेइजिङ र सांघाइजस्तो समृद्ध र स्रोतसम्पन्न सहरमा पनि उपलब्ध स्वास्थ्य सुविधाको सीमितताका कारण संक्रमणमा नयाँ वृद्धि आउँदा सेवाप्रवाहमा अत्यधिक चाप आउनेछ,’ हङकङ विश्वविद्यायका प्राध्यापक ग्याब्रियल लिउले भने, ‘कोभिड–१९ सँग सम्बन्धित मृत्युलाई कम गर्न स्थानीय स्वास्थ्य सेवा प्रणालीअन्तर्गत् पर्याप्त स्वास्थ्य कर्मचारी र स्रोतसाधन आवश्यकताको महत्वलाई हाम्रो अध्ययनले जोड दिएको छ।’

निरन्तरको सावधानी
चीनबाहेका अन्य राष्ट्र पनि भाइरसविरुद्धको सुरक्षा तथा प्रतिकार्यका कदमलाई तत्कालै विघटन नगराउनतर्फ सचेत रहेका देखिन्छन्।

गत शुक्रबार सिंगापुरमा यस महामारी देखिएपछि एकै दिन सबैभन्दा धेरै संख्याले वृद्धि भएको (२ सय ८७ वटा) संक्रमणका घटना दर्ता भए। तीमध्ये तीनवटा मात्र आयातित घटना थिए। यसले अझै पनि बढ्दो संख्याको घरेलु संक्रमणतर्फ इंगित गरेको छ।

गएको सातामात्रै सिंगापुरका अधिकारीहरूले मे ४ सम्मका लागि सबैखाले सामाजिक भेला तथा समारोहमाथि प्रतिबन्ध लगाई उक्त प्रतिबन्ध उल्लंघन गर्नेमाथिको दण्डसजायको व्यवस्था जारी ग¥यो।

यसैगरी चीनको अल्पस्वशासित सहर हङकङमा पनि प्रतिबन्ध केही खुकुलो भएसँगै विदेशबाट आयातित संक्रमणका घटनामा वृद्धि भएको छ। त्यसपछि अधिकारीहरूले नियन्त्रणका प्रयासलाई थप सशसक्त बनाउँदै मानिसलाई सामाजिक दुरीको कडा पालना गर्न दबाब दिएका छन्। यसले केही सफलता हासिल गरे पनि स्वास्थ्य अधिकारीहरूले अझै सावधानीको आवश्यकता रहेको औंल्याएका छन्।

‘हामी अलि चाँडै हातारियांै कि जस्तो लाग्छ,’ एक उच्च अधिकारी बर्नार्ड चान भन्छन्, ‘हामी सबैले भाइरस विस्तार रोक्नका लागि गर्न सक्ने सबै काम गर्नु जरुरी छ। भविष्यमा कुनै पनि दिन विगत फर्केर हेरेर तेस्रो लहरको संक्रमणलाई सम्झनुपर्ने दिन नआओस्।’

सशक्त प्रतिकार्यका लागि नाम कमाएको दक्षिण कोरियाले यस्तो कुनै पनि जोखिम मोलेको छैन। गत बिहीबारमात्रै सहायक स्वास्थ्यमन्त्री किम गाँलिपले नयाँ संक्रमणको घटना लामो समयदेखि नदेखिएको भए पनि इस्टर पर्वसम्म सबै खाले ठूलो संख्याको सामाजिक भेला तथा समारोहमाथिको प्रतिबन्धलाई जारी राखिएको बताए। संक्रमणको साङ्लो तोड्न सबैखाले प्रयत्न कायमै राखिने पनि उनले जनाए।

चीनले भाइरसका कारण अन्य राष्ट्रभन्दा बढी नै स्वास्थ्य र आर्थिक क्षति बेहोरेको छ भने लकडाउनको पीडा अधिक समयका लागि झेलेको छ।

तसर्थ, सामान्य जिवनतर्फ फर्कने उसको उत्कट चाहना स्वाभाविक पनि हो। तर, भाइरस संक्रमणलाई आफ्नो राष्ट्रभित्र थप नियन्त्रण गरी संसारभरि नै यस महामारीलाई निस्तेज गर्ने दिशामा योगदान गर्न उसले आफ्नो चाहना केही समयका लागि थाँती राख्छ कि राख्दैन भन्ने सवालमा विश्वको ध्यान चीनतर्फ खिचिएको छ।

अनुवादित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय