भारतीय क्वारेन्टाइनका नेपाली भन्छन्- महाकालीमा हामफालौं झैं भइसक्यो!

मन सम्हाल्न सक्दैनन् मुटु भक्कानिएर आउँछ।

दिमागमा अनेक तर्कना खेलिरहन्छ। घरको यादले यति सताउँछ, रातभरि निदाउन सक्दैनन्। सुत्दा कभर्डहलको दलिनमा आँखा ठोक्किन्छन्।

त्यही दलिनतिर हेर्दै टोलाइरहन्छन् अनि लामो सास फेर्छन्।

कभर्डहलभित्र हातखुट्टा तन्काउने ठाउँसम्म छैन। निदाउन प्रयासमा कहिले कोल्टे फेर्छन त कहिले उत्तानो पर्छन्। तैपनि निद्रा लाग्दैन। एकअर्काबाट न्यूनतम एक मिटरको सामाजिक दुरी कायम गर्नुपर्ने भनिउको छ तर भएजति सबै एकैठाउँ गुटमुटिएर बस्नुपर्ने बाध्यता छ।

घरपरिवारको माया अनि चिन्ता एकातिर छँदैछ। त्यसमाथि अहिलेसम्म नलागेको कोरोना भाइरस संक्रमण यही भीडमा पो पो सर्ने हो कि भन्ने अर्को चिन्ता।

‘कतिबेला त भागेर महाकालीमा हामफालौं जस्तो लाग्छ, तर आमा, बा अनि श्रीमतीलाई सम्झिन्छु अनि आँट आउँदैन,’ छिमेकी भारत धार्चुलाको क्वारेन्टाइनमा दिन बिताइरहेका दार्चुला मार्मा गाउँपालिकाका रमेश ठगुन्नाले टेलिफोनमा हेल्थपोस्टनेपालसँग दुखेसो पोखे, ‘न ठेकेदारले पैसा दियो, न घर जानै पाइयो।’

छट्पटी हुन्छ अनि बेचैनी बढ्छ। सोच्छन्, क्वारेन्टाइनमा बसेको १४ दिन भइसक्यो। क्वारेन्टाइनमा न्यूनतम १४ दिन बस्नुपर्छ, तर नेपाल र भारतमा लकडाउन गरिएको छ।

‘लकडाउनको समय लम्बिँदै गयो भने के गर्ने, कहाँ जाने? लकडाउनको समय दोस्रोपटक थपिइसक्यो अनि अझै थपिए हाम्रो हालत के होलो?,’ ठगुन्ना आत्तिँदै भन्छन्, ‘यस्तो भीडभाडमा भाइरसको संक्रमण देखिए सबैलाई सर्छ, हामी झन् जोखिममा पर्छौं। हामीले यहाँ कसरी सुरक्षित महसुस गर्ने?’

बेलाबेला घरमा फोन गरेर सम्हालिने प्रयास गर्छ्न उनी। घरपरिवारलाई सम्झाउँछन पनि। ‘म छु नि, आइहाल्छु’ भनेर परिवारलाई सान्त्वना दिन्छन्। तर, क्वारेन्टाइनका दुःख कहिले सकिएला र घर जान पाइएला भन्ने उनको अनुमानमै छैन।

‘अप्रिल १५ तारिख (आगामी वैशाख १८ गते) सम्म क्वारेन्टाइनमा बस्नुपर्छ। त्यसपछी पनि केही समाधान निस्केन भने महाकालीमा हामफाल्छौं। वैशाख १८ पछि यो क्वारेन्टाइनमा कोही पनि नबस्ने भनिसकेका छन्। सबैजना महाकालीमा हामफालेर घर जान्छौं, जान्छांै,’ उनी दृढ छन्।
‘खानाका लागि समस्या नभए पनि बस्न र सुत्न सार्है समस्या छ। एउटै हलमा ३ सय २७ जना बसेका छौं,’ ठगुन्नाले भने, ‘कोचाकोच गरेर सुत्नुपरेको छ।’

भारतको धार्चुलामा सयाैं नेपाली सर्वसाधारण लकडाउनमा परी रुमल्लिएका छन्। त्यही भीडमा छन् ठगुन्ना र अरू धेरै उनीजस्तै। करिब पाँच महिनाअघि काम खोज्न भारत गएका थिए ठगुन्ना। उनी भारतमा सडक मजदुरीको काम गर्छन्। दैनिक ज्यालादारीको काम गरेर परिवार पाल्दै आएका छन्।

भारत सुदूरपश्चिमका अधिकांश सर्वसाधारणको रोजिरोटीको प्रमुख गन्तव्य हो। हातमुख जोड्न हजारौं–लाखांै सुदूरवासी भारत पस्छन्। ठगुन्ना पनि हात मुख जोड्नै भनेर भारत छिरेका थिए। तर, उनलाई यो समय फापेन। घर खर्च नपठाएको धेरै भएको बताउने उनले ठेकेदार पैसा नदिइ गएपछि घरमा खानसमेत समस्या परेको गुनासो गरे।

‘हामीलाई कति पीर छ। कसैले बुझिदिएनन्’ उनी भन्छन्, ‘आमा र श्रीमती फोन गरेर रुन्छन्, के भन्नु? आफू घर पुगेको भए ऋणपान गरेरै भए पनि गुजारा चलाउँथे तर यतै अड्केको छु। हामी नेपाली यहाँ घर न घाटको भएका छौं।’

वेदनाको पोको छ उनको मनमा। गुम्सिएर रहेका छन् भावना। तरंगित हुन्छन् सम्झनाका छाल निरन्तर बगिरहेको महाकालीजस्तै।

नबगोस् पनि किन? कभर्डहलको क्वारेन्टाइनमा डिउटी खटिएका भारतीय प्रहरी अधिकारीले आफूहरुमाथि ज्यादती गरेको उनले गुनासो गरे।
‘अस्तिसम्म एकजना प्रहरी अधिकारीले खुब दुःख दिए। राति मदिरापान गरेर आउँथे अनि सबैलाई कुटपिट गर्नुका साथै गाली गर्थे,’ ठगुन्नाले सन्तोषको सास फेर्दै भने, ‘बिना कसुर कुटपिट र गाली गर्न थालेपछि माथि सिकायत ग¥यौं अनि बल्ल उनलाई क्वारेन्टाइनको डिउटीबाट हटाइयो।’

उनका अनुसार क्वारेन्टाइनमा बसेको आज (शुक्रवार) १३ दिन भएको छ। वैशाख १८ सम्म बस्नुपर्छ। एकातिर क्वारेन्टाइनको भीडमा भाइरस सर्ला भन्ने त्रास छँदैछ भने अर्कोतिर १४ दिन पूरा भए भारत सरकारले राख्छ कि राख्दैन भन्ने चिन्ता छ।

कभर्डहलमा रहेका ३ सय २७ जनामा अहिलेसम्म कसैलाई कोरोना भाइरसको लक्षण नदेखिएको ठगुन्नाले बताए। भारतको धार्चुलामा ६ सयभन्दा बढी नेपाली छन् जो नेपाल आउन छटपटाइरहेको उनले जानकारी दिए।

धार्चुलामा रहेका नेपाली सर्वसाधारणमध्ये पौडी खेल्न आउने जति महाकाली तरेर नेपाल गए। पौडिन नजान्नेजति धार्चुलामै अड्किए। यो ठगुन्नाको मात्रै होइन उनीजस्ता सयौं सर्वसाधारणको समस्या हो जो मातृभूमि आउन चाहन्छन्।

‘क्वारेन्टाइनमा न खाना खाने बेला सामाजिक दुरी कायम गरिएको छ न सुत्ने बेला,’ ठगुन्नाले भने, ‘भएभरका सबै एकै ठाउँ गुजुल्टो परेर बसिरहेका छौं।’

क्वारेन्टाइनमा रहेका नेपालीले भारत सरकारले खानामा कुनै कमी नगरे पनि सामाजिक दुरी कायम गर्नुपर्ने लगायत अन्य कुरामा लापरबाही गरेको गुनासो गरेका छन्। उनीहरूले नेपाल प्रवेश गर्न पाउनुपर्ने भन्दै नाराबाजी गरेर नेपाल सरकार गुहारेका छन्।

दुई–तीन दिन भोकै बसेर नेपाल छिर्न प्रयास गरे पनि उनीरूले पानीसमेत पिउन पाएका थिएनन्। अन्ततः केही सीप नचलेपछि भारत सरकारको रोहवरमा रहने गरी उनीहरूलाई भारतमै राख्ने निर्णय गरिएको थियो।

सयाैको संख्यामा रहेका नेपालीलाई भारतको जोलजिबी, धार्चुला र बालुवाकोटमा राखिएको छ।

‘घर जान कहिले पाइएला भन्ने चिन्ताले मर्ने बेला भइसक्यो, यहाँ भने घर पठाउने अत्तोपत्तो छैन,’ १४ दिन क्वारेन्टाइनमा बिताएका ठगुन्नाले कुराको बिट मार्दै भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय