स्वास्थ्य स्वयंसेविकाहरू भन्छन्- सरकारले आवश्यक स्वास्थ्य सामग्री र पेट पाल्ने ज्याला देओस्!

यतिबेला चीनको उहान सहरबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) नामक खतरनाक भाइरसका कारण विश्व चिन्तित र आक्रान्त छ। नेपाल सरकारले कोरोना भाइरसको जनचेतनाका लागि भनेर मुलुकभरका महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ।

खासगरी महिला स्वयंसेविकाको काम होम क्वारेन्टाइनमा रहेका मानिसको विवरण संकलन गर्न तथा कोरोनाका आशंकामा रहेकाको बारेमा जानकारी लिन सरकारले खटाउने भएको छ।

तर, महिला स्वास्थ्यकर्मीका गुनासा भने भिन्नै छन्। यसतर्फ सरकारी पक्षको ध्यान गएको देखिँदैन।

स्वास्थ्यकर्मीहरू काम गर्न तयार भए पनि सरकारले आवश्यक सुरक्षा सामग्री र पेट पाल्न चाहिने न्यूनतम व्यवस्था गर्नुपर्ने तर्क गर्छन्।

गोरखा जिल्लाको हरिनी स्वास्थ्य चौकीमा कार्यरत महिला स्वयंसेविका भवगवती घिमिरे सरकारले न्यूनतम ज्याला दिनुपर्ने बताउँछिन्।

‘सरकारका धेरै कार्यक्रम आए पनि महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो सम्बोधन भएन,’ नेपाल स्वास्थ्य स्वंयसेवक संघकी अध्यक्षसमेत रहेकी घिमिरेले हेल्थपोस्ट नेपालसँग भनिन्, ‘अहिले पनि किटानसाथ सरकारले पारिश्रमिक तोकेको छैन।’

सरकारले दिएको जिम्मेवारी पूर्णरूपमा निर्वाह गर्न तयार रहेको घिमिरे बताउँछिन्। कोरोना भाइरस जनचेतना गर्नू भनेर निर्देशन दिए पनि हालसम्म कुनै तालिमको व्यवस्था नगरेको उनको गुनासो छ।

‘हेल्थपोस्टले ज्वरो आएका बिरामीको खोजी गर्नू भनेको छ। त्यसैअनुसार काम गर्दै आएका छौं,’ उनले भनिन्, ‘तर, हामीले सावधानी अपनाउनुपर्ने कुनै स्वास्थ्य साम्रगी पाएका छैनौं।’

सुरुमा १५ रुपैयाँबराबरको खाजाबाट काम सुरु गराएको सरकारले अहिले बल्ल ४ सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको तर त्यतिले जीवन धान्न गाह्रो परेको उनको गुनासो छ।

त्यसैगरी, सिन्धुपाल्चोक इन्द्रावती गाँउपालिका–८ मा कार्यरत स्वास्थ्य कर्मचारी मिठाई थापा स्वास्थ्य साम्रगी अभावमा पनि काम गर्नुपरेको गुनासो गर्छिन्।

‘अहिलेसम्म सरकारले हामीलाई कुनै स्वास्थ्य साम्रगी उपलब्ध गराएको छैन,’ हेल्थपोस्ट नेपालसँग थापाले भनिन्, ‘हिजोमात्र कपडाको मास्क पायौं।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला स्वयंसेविकाको भूमिका तोकिदिएको छ। होम क्वारेन्टाइनमा रहेका मानिसको विवरण संकलन गर्ने, स्वास्थ्य अवस्थाबारे जानकारी लिने र सम्बन्धित स्वास्थ्य संस्थालाई प्रतिवेदनमार्फत जानकारी गराउनेजस्ता काम तोकिदिएको छ।

अहिलेसम्म कोरोनाको आंशकामा कुनै बिरामी नआए पनि सुरक्षित काम गर्न नसकेको थापाको गुनासो छ।

सरकारले कोरोना बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि बिमाको व्यवस्था गरेको छ। तर, महिला स्वयंसेविका पनि जोखिममा हुने भएका कारण बिमाको व्यवस्था गनुपर्ने थापाको आग्रह छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला स्वयंसेविकाको भूमिका तोकिदिएको छ। होम क्वारेन्टाइनमा रहेका मानिसको विवरण संकलन गर्ने, स्वास्थ्य अवस्थाबारे जानकारी लिने र सम्बन्धित स्वास्थ्य संस्थालाई प्रतिवेदनमार्फत जानकारी गराउनेजस्ता काम तोकिदिएको छ।

‘क्वोरन्टाइनमा रहेका व्यक्तिलाई सहजीकरण गर्ने, नमुना परीक्षण कार्यमा सहयोग गर्ने अपेक्षासहित स्वास्थ्य स्वंयसेविकाहरू परिचालन हुनुहुनेछ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘उहाँहरूलाई सरकारले प्रोत्साहनस्वरूप भत्ताको व्यवस्था गरेको छ।’
हाल देशभर ५५ हजारहाराहारी महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्।

आर्थिक वर्ष २०४५/४६ देखि सुरु भएको महिला स्वास्थ्य स्वयंसेविका परिचालन कार्यक्रमले नेपालमा मातृ तथा शिशु स्वास्थ्य, परिवार नियोजन सेवा, प्राथमिक स्वास्थ्यसेवा उपयोग तथा महिला सशक्तीकरण सुधारमा महत्वपूर्ण योगदान दिएका छन्।

त्यसैगरी महिला स्वास्थ्य स्वंयसेविकाले सुरक्षित मातृत्वका लागि सुत्केरीको रक्तस्राव रोक्न मातृसुरक्षा चक्की, परिवार नियोजनका अस्थायी साधन, गर्भवती महिला र सुत्केरीपछि आइरन चक्की वितरणजस्ता काम गर्दै आएका छन्।

यसका अतिरिक्त बालस्वास्थ्यअन्तर्गत् भिटामिन ए खुवाउने, झाडापखाला लागेका बच्चालाई जीवनजल तथा जिंक चक्की र जुकाको औषधि वितरणका साथै स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने काम गर्दै आएका छन्।

सरकारले स्वयंसेविकालाई वार्षिक १३ हजार रूपैयाँ भत्ताको व्यवस्था गर्दै आएको छ। पोसाकवापत वार्षिक १० हजार र यातायात खर्च ३ हजारको व्यवस्था गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय