अग्रमोर्चामा खटिनेलाई ५० लाखको राहत कोष, किसानको चार महिनाको ब्याज प्रदेश सरकारले तिर्ने

प्रदेश २ सरकारले कोरोनाविरुद्ध लडाइँको अग्रमोर्चामा खटिनेलाई ५० लाख राहतको घोषणा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा खटिनेहरूको कोरोना संक्रमणबाट ज्यान गए पीडित परिवारलाई प्रदेश सरकारले एकमुष्ट ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो।

बैठकले कोरोना महामारीविरुद्ध नियन्त्रण, रोकथाम तथा उपचारकार्यमा संलग्न हुने निजामति वा अन्य कर्मचारी, सरकारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सहयोगी स्वास्थ्यकर्मी वा अन्य कर्मचारी तथा पदाधिकारीलाई कोरोना संक्रमण भई मृत्यु भए पीडित परिवारलाई ५० लाख उपलब्ध गराउने निर्णय गरेको हो।

प्रदेश सरकारले किसानहरूको चार महिनाको बैंक ब्याज तिर्ने निर्णयसमेत गरेको छ।

कोरोना रोकथामको उद्देश्यले जारी लक डाउनका कारण किसानहरु पीडित भएको भन्दै किसानहरूले बैंक, वितिय संस्था वा सहकारीबाट लिएको ऋृणको ४ महिनाको व्याज प्रदेश सरकारले तिरिदिने निर्णय बैठकले गरेको छ।

मन्त्रिपरिषद्‍को बैठकले कृषि कार्यको लागि किसानहरुले ५ लाखसम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशत सम्मको ४ महिनाको व्याज प्रदेश सरकारले तिर्ने निर्णय गरेको हो।

त्यसैगरि पाँच लाखदेखि १५ लाखसम्मको ऋणमा १२ प्रतिशत सम्मको व्याजदरमा ५० प्रतिशत, १५ लाखदेखि ३० लाखसम्मको ऋणमा ४० प्रतिशत र ३० लाखभन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले निर्णय गरे बमोजिम व्याज तिरि दिने निर्णय गरेको सरकारका प्रबक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए।

यसबाहेक दुध, फलफूल , तरकारी, कुखुरा तथा माछामा यसका अतिरिक्तसमेत राहत उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय