प्रदेश २ मा सुरु भयो र्‍यापिड टेस्ट

हेल्थपाेस्ट/जनकपुर
प्रकाशित
२०७६ चैत २८ गते १५:५६

कोरोना जाँचलाई तिव्रता दिन प्रदेश २ मा पनि र्‍यापिड टेस्ट सुरु भएको छ। संघीय सरकारले किट पठाएपछि शुक्रबारदेखि प्रदेश २ मा कोरोनाको र्‍यापिड टेस्ट सुरु भएको हो।

र्‍यापिड टेस्ट सुरु भएपछि अहिलेसम्म सुस्त बनेको कोरोना संक्रमितको पहिचान गर्ने प्रक्रियामा तिव्रता आउने भएको छ। यसअघि पीसीआर मेसिनबाटमात्र परीक्षण भइरहँदा जाँच प्रक्रिया सुस्त गतिमा अगाडी बढेको थियो।

संघीय सरकारले प्रदेश २ लाई पाँच हजार थान र्‍यापिड किट उपलब्ध गराएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको आपूर्ति महाशाखाका निर्देशक डा.प्रमोद यादवले जानकारी दिए। ‘र्‍यापिड जाँच किट विहिबारसाँझ आइपुगेको छ,’ उनले भने,‘क्वारेन्टाइनहरुमा पठाउने काम भइरहेको छ।’

‘संघीय सरकारले पाँच हजार थान र्‍यापिड किट उपलब्ध गराएको छ, क्वारेन्टाइन स्थापना गरिएको सबै स्थानमा हामी पठाउँदै छौं,’ उनले भने,‘वीरगंज र कलैयामा परीक्षण सुरु भइसकेको छ, आजै प्रदेशस्थित सबै स्थानमा किट पुग्ने छ।’

र्‍यापिड किटबाट परीक्षण सुरु भएपछि कोरोना शंकास्पदको स्क्रिनिङ प्रक्रियाले तिब्रता पाउने डा. यादवको भनाइ छ।

र्‍यापिड किटमार्फत गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट देखिए कन्र्फमेसनको लागि स्वाब परीक्षणको लागि पीसीआरमा पठाइने उनको भनाइ छ। शंकास्पदको रगत लिएर परीक्षण गर्ने र्‍यापिड टेस्टले तत्काल परिणाम दिने भएकोले कोरोना संक्रमितको पहिचान गर्ने कार्यले तिव्रता पाउने डा.यादवले बताए।

प्रदेश २ मा अहिले प्रादेशिक अस्पताल जनकपुरमा जडान गरिएको एकमात्र पीसीआर मेसिनबाट शंकास्पद व्यक्तिको स्वाब परीक्षण भइरहेको छ। प्रदेशभित्र एकमात्र पीसीआर मेसिन भएकोले जाँच प्रक्रिया सुस्त बनेको छ। मेसिन जडान भएको एक साताभन्दा बढी भइसकेपनि प्रादेशिक अस्पताल जनकपुरले ३८ जनाको स्वाबमात्र परीक्षण गर्न सकेको छ।

क्वारेन्टाइन, होम क्वारेन्टाइन र आइसोलेसन गरी प्रदेश २ मा अहिले भण्डै दुई हजार शंकास्पदलाई राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय