संसार बदलेको त्रासदीपूर्ण सय दिन

कोलाहलयुक्त शताव्दी अन्तिम दिनमा प्रवेश गरेको थियो। सन् २०२० को पूर्वसन्ध्याको त्यो क्षण जतिबेला संसार उत्सव मनाउन उत्साहित र तम्तयार थियो।

२०१० को दशकमा लेखिएका शोक समाचारहरूले युगलाई नै अगाडि बढाउने हलचल, विप्लव र खैलाबैलालाई आफ्नो मुख्य विषय बनाएका थिए– ब्रेग्जिट, सिरियाली गृहयुद्ध, शरणार्थी संकट, अमेरिका र चीनबीचको व्यापार तथा वाकयुद्धलगायत।

संसारका मानिसले विश्वशान्ति, आपसी सद्भाव र सुस्वास्थ्यका लागि एकअर्कालाई कामनाका लागि ‘टोष्ट’ गर्न स्याम्पेनको सिसिको बिर्को खोल्न नभ्याउँदै डिसेम्बर ३१ तारिख दिउँसो १ बजेर ३८ मिनेट जाँदा १ करोड १० लाख मानिसको आवादी रहेको औद्योगिक क्षेत्र उहानको पशु बजारमा निमोनियाको ‘अज्ञात केस’ फेला परेको चिनियाँ सरकारले सार्वजनिक गर्‍यो।

पहिलोपटक देखापरेपछि आजको दिनसम्म कोरोना भाइरसले विध्वंश मच्चाइसकेको छ। हवाईसेवा ठप्प पारेको छ, आर्थिक क्रियाकलापमा मन्दी ल्याएको छ भने संसारका आधाभन्दा बढी जनसंख्यालाई घरभित्र सीमित गराएको छ। यसका साथसाथै आजको दिनसम्म १४ लाखभन्दा बढीलाई संक्रमित गराइसकेको यस भाइरसले विश्वका ९५ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ।

तर, डिसेम्बर महिनाको अन्तिम दिनसम्म नजिकैको भविष्य यति भयावह होला भनेर कसैले कल्पनासम्म गर्न सकेका थिएनन्।

बेलायतको द गार्जियन पत्रिकाले कोरोना भाइरसको उत्पत्तिपश्चात् सय दिनभित्र के कस्ता घटना वा परिस्थिति देखापरे भन्ने सम्बन्धमा एउटा रिपोर्ट प्रकाशित गरेको छ जसको सार हामीले यहाँ प्रस्तुत गरेका छौं।

पहिलो दिन – १ जानवरीबुधबार

उहानको सिफुड (समुन्द्री खाना) बजार बन्द

सामान्यता मानिसहरूको खचाखची र कोलाहलले भरिपूर्ण उहानको सिफुड बजारमा जानवरी १ तारिखको बिहान भने प्रहरीहरुको बाक्लो उपस्थिति थियो। उनीहरूले नीलो रंगले पोतिएका पसलको सटरहरू बन्द गराइरहँदा विशेष सुरक्षा कवच लगाएका स्वास्थ्यकर्मीहरू भने जमिनबाट विभिन्न नमूना संकलन गरी प्लाष्टिकको ब्यागमा ध्यानपूर्व राखिरहेका थिए।

चासो र चिन्तामिश्रित सन्देशहरू चिनियाँ सामाजिक सञ्जालमा सम्प्रेषित हुन थालिसकेका थिए भने मानिसहरूलाई हात, माष्क र पञ्जा धुन निर्देशित गरिसकिएको थियो।

उता ताइवानले भने यी सबै घटनाहरूलाई संशयका साथ अवलोकन गर्दै उहानबाट आकाशमार्गमार्फत सिधै आउने यात्रुहरूको स्क्रिनिङ थालिसकेको थियो।

नवौं दिन – ९ जानवरीबिहीबार

नयाँ कोरोना भाइरसको पहिचान

यस दिन सो रहस्यमय रोगको पहिलो पटक पहिचान भएको थियो भने चिनियाँ वैज्ञानिकहरूले उहानका बिरामी नागरिक पहिला कहिल्यै पत्ता नलागेको कोरोना भाइरसद्वारा संक्रमित भएको बताए। यसको अघिल्लो रात उहानको अस्पतालमा एक ६१ वर्षे बिरामीको मृत्यु भयो। कोरोना भाइरसको कारण मानिसको ज्यान गएको यो पहिलो घटना थियो।

तर, संक्रमित बिरामीहरूको संख्यामा भने कमी आइरहेको थियो र यसको चार दिनपछिसम्म पनि थप नयाँ ‘केश’ सार्वजनिक भएन। त्यसो त तेहेरानमा भएको हवाइजहाज दुर्घटनाले पनि कोरोना भाइरसको संक्रमणलाई केही हदसम्म छायाँमा पर्‍यो।

तेह्रौं दिन – १३ जानवरी सोमबार

थाइल्याण्डमा पहिलो संक्रमण पुष्टि

उहानमा अन्तिम केश देखिएको एक हप्ता बितिसकेको थियो। सो बीचमा अन्य केशहरू नदेखिएकाले उहान सहरमा राष्ट्रिय तथा प्रान्तीय पार्टीका अधिकारीहरूबीच वार्षिक बैठकको आयोजना गरियो।

तर, कोरोना भाइरसले चीनको सिमा छिचोल्यो र बैंकक एयरपोर्टमा स्क्रिनिङको क्रममा एक ६१ वर्षीय वुहानी बृद्धामा थाइल्याण्डको पहिलो ‘केश’को रुपमा कोरोना भाइरस पोजिटिभ देखियो।

यतिबेलासम्म चिनियाँ सरकारले कोरोना भाइरस मानिसद्वारा मानिसमा सरेको प्रमाण नभेटिएको बताएको थियो भने हालसम्म कोरोना भाइरस बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी यस भाइरसको सिकार नभएको उसको जिकिर थियो। चीन सरकारको यस सन्देशलाई विश्व स्वास्थ्य संगठनले समर्थन गरेको थियो भने चिनियाँ सरकारको प्रतिकार्यको गुणस्तरबाट आफू ढुक्क भएको पनि उसले जनाएको थियो।

बीसौं दिन – २० जानवरी सोमबार

मानिस–मानिसबीच भाइरस संक्रमणको पुष्टि

एक विश्वसनीय श्वासप्रश्वासम्बन्धी विज्ञ झोङ नानसाङले राज्यद्वारा सञ्चालित टेलिभिजनबाट उहानसँग प्रत्यक्ष सम्पर्क नभएका गुवनङडोङका दुई जनामाथि संक्रमण देखिएको समाचार सार्वजनिक गरे।

‘अब निर्धक्कका साथ भन्न सकिन्छ कि यस भाइरस एक मानिसबाट अर्को मानिसमा सर्ने निश्चित छ,’ उनले भनेका थिए।

त्यसोत उहानमा दुई हप्तासम्म नयाँ संक्रमण नदेखिएर चीनबाटै गायब भयो होला भन्ने सोचिएको कोरोना भाइरस उक्त राष्ट्रभरि नै फैलिसकेको थियो। सोही हप्ता चीनको विभिन्न सहरहरूमा चार वटा नयाँ संक्रमण पुष्टि भइसकेको थिए, जुन दुई दिनपछि १३९ को संख्यामा पुग्यो।

चीनको विभिन्न सहरहरूमा फैलिएको कोरोना भाइरसको संमक्रण जापान, दक्षिण कोरिया र अमेरिकामा देखिएसँगै यस भाइरस अन्तराष्ट्रिय रुपमै विस्तार भएको देखियो।

चौबिसौं दिन – २४ जानवरी शुक्रबार

भाइरस युरोप प्रवेश

चीनबाट आएका दुई जना र अर्को एक जना उनीहरूको आफन्तमा कोरोना भाइरस देखिएसँगै कोभिड–१९ को युरोपमा प्रवेश प्रमाणित भयो। भाइरस संक्रमित यी तीन जनाको अन्य धेरै मानिससँग सम्पर्क रहेको कारण फ्रान्सेली स्वास्थ्य निकाय उनीहरूको खोजीमा अग्रसर हुन थाल्यो। ‘महामारीको सामना त्यसैगरी गर्न जरुरी छ जसरी आगोको गरिन्छ,’ फ्रान्सका स्वास्थ्य मन्त्रीले भने।

सोही दिन सम्भाव्य महामारीको बारेमा पत्रकारको प्रश्नको जवाफमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए, ‘म कत्ति पनि चिन्तित छैन। र, हामीले यस भाइरसलाई पूर्ण रुपमा नियन्त्रणमा लिएका छौं।’

एकतिसौं दिन – ३१ जनवरी शुक्रबार

इयूबाट छुट्कारा पाएकै दिन कोरोना भाइरसको चपेटामा बेलायत

चार वर्षसम्म संसदमा चलेको पिडादायी बहसपश्चात् बिहान करिब ११ बजे बेलायतले औपचारिक रुपमा युरोपेली युनियबाट छुट्ने आधिकारिक निर्णय भएसँगै बेलायतको लागि सो दिन ऐतिहासिक दिन बन्न पुग्यो।

तर, यही दिन बेलायतको लागि अर्को दृष्टिकोणबाट दुखद् दिन बन्यो किनकि यसै दिन स्वतन्त्र बेलायतमा कोरोना संक्रमितहरूको संख्या पहिलाको सार्स संक्रमितभन्दा बढी पुग्यो। उता इटाली र स्पेनमा यसै दिन कोरोना भाइरसको पहिलो बिरामीहरूको पहिचान भयो।

आजसम्म चीनबाहिर यस रोगको कारण कसैको ज्यान गएको थिएन तर चीनमा भने मर्नेहरूको संख्यामा उल्लेख्य बृद्धि आइरेहेको थियो। जसको कारण हालसालै चीनको भ्रमण गरेका विदेशीहरुलाई अमेरिकाले आफ्नो राष्ट्रमा आउनबाट रोक लगाउने घोषणा गर्‍यो।

छत्तीसौं दिन – ४ फेब्रुअरी मंगलबार

चीनबाहिर भाइरसको कारण पहिलो मृत्यु

चीनमा २० हजारभन्दा बढी कोरोना भाइरस संक्रमित हुँदा चार सय २५ जनाले ज्यान गुमाइरसकेको थिए। तर, चीनबाहिर पहिलो मृत्युको घटना फिलिपिन्सको राजधानी मनिलामा भयो। एक सातादेखि त्यहाँको अस्पतालमा उपचाररत् मृतक उहान बासिन्दा थिए। यससँगै फिलिफिन्सले चीनबाट आउने यात्रुहरूमाथि प्रतिबन्ध लगायो।

पचासौं दिन – १९ फेब्रअरी बुधबार

दक्षिण कोरियाको चर्च घटना

गम्भीर परीक्षण र सावधानीपूर्वक गरिएको सम्पर्क पहिचानको प्रयासका कारण हिजोसम्म ३० जना मात्रै संक्रमित फेला परेकाले दक्षिण कोरिया राम्रो परिणाम हात लागेकोमा खुसी थियो। तर, औं केश फेला परेसँगै कोरियाली अधिकारीहरू झस्कन थाले।

भाइरसको लक्षणसहित बिरामी भएकी चर्चमा काम गर्ने एक ६१ वर्षे महिलाले आफ्नो कामलाई निरन्तरता दिइराखिन्। कोरोना भाइरसको परिक्षण गराउन डाक्टरहरूले गरेको आग्रहलाई बेवास्ता गरी होटलमा गएर बफे लञ्च गर्ने क्रमलाई पनि उनले जारी राखिन्। अधिकारीहरूले कम्तीमा ११ सय ६० जनासँग उनको जोखिमपूर्ण सम्पर्क रहेको निर्क्यौल गरे। ‘यसपश्चात् दक्षिण कोरियामा कोरोना भाइरसको फैलावट अकल्पनीय हुनगयो,’ परराष्ट्र मन्त्री काङ क्वुङहाले जानकारी दिए।

उता इरानले उसको धार्मिक सहर रोममा दुई वटा सुरुवाती संक्रमणहरू पुष्टि गर्‍यो।

छपन्नौं दिन – २५ फेब्रुअरी बुधबार

भाइरसको विश्वव्यापी बर्चस्व

विश्वव्यापी भाइरस संक्रमणको संख्या ८० हजारभन्दा बढी नाघ्यो। प्रकोप घोषणापछि चीनभित्रको संक्रमणको संख्याभन्दा चीनबाहिरको संक्रमणको संख्याले उछिनेको यो नै पहिलो पटक थियो। चीनबाहिर चीनभन्दा बढी मानिसको मृत्यु इरानमा भयो जहाँ ५० भन्दाबढीको ज्यान गइसकेको थियो।

चार दिन अघिमात्रै इटालीमा भाइरसको कारण पहिलो मृत्यु भएको थियो भने ११ जना बिरामी अवस्थामा थिए।

छैसठ्ठिऔं दिन – ६ मार्च शुक्रबार

इटालीमा चुलिँदो संकट

पछिल्लो छ दिनमा इटालीमा मृतकको संख्या छ गुणाले बढ्यो। २३० जना इटाली नागरिकको मृत्यु हुँदा संक्रमितको संख्या प्रत्येक दिन १२ सयभन्दा बढीले बृद्धि भइरहेको थियो।

‘स्वास्थ्य प्रणालीको जोखिम धान्न नसकिने क्रममा बढिरहेको छ र भाइरस संक्रमणको विस्तार यही रुपमा भइरहने हो भने हाम्रो सघन उपचार सेवामा समस्या आउनसक्छ,’ इटालीका प्रधानमन्त्रीले भने।

एकहत्तरौं दिन – ११ मार्च बुधबार

कोभिड १९ विश्वमहामारीको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आधुनिक इतिहासको सबैभन्दा डरलाग्दो भाइरसको सामना गर्न उनको प्रशासनले अति आक्रामक र बृहत् पहलको थालनी गर्न लागेको बताए। इटालीमा एकै दिन मर्ने मानिसको संख्या – विश्वको सबैभन्दा बढी – एक सय ६८ ले बढ्यो। इटालीको प्रधानमन्त्रीले इटाली सबैभन्दा ‘अन्धकारको प्रहर’बाट गुज्रिरहेको बताए।

यसैदिन विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई विश्वमहामारी घोषणा गर्‍यो।

सतहत्तरौं दिन – १७ मार्च मंगलबार

विश्वभरको सामान्य जीवनमा गतिरोध

युरोपेली राष्ट्रहरूले आफूहरूलाई एक–अर्काका लागि बन्द गरे भने सम्पूर्ण महादेशले आफूलाई बाँकी विश्वबाट अलग्यायो। ‘हामी युद्धको अवस्थामा छौं,’ फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोनले घोषणा गरे। इटालीमा एकै दिनमा मर्ने मानिसको संख्या चार सय ५० भन्दा बढी पुग्यो।

प्रत्येक क्षण नयाँ घटनाक्रमहरू देखिन थाले। अझ बढी संक्रमण, अझ बढी मृत्यु र यात्राको गतिविधिमा थप नयाँ प्रतिबन्ध लाग्न थाल्यो।

त्रियासिऔं दिन – २३ मार्च सोमबार

बेलायतमा लकडाउनको घोषणा

विश्वभरको भाइरस संक्रमितको संख्या तीन लाख ७० हजारभन्दा बढी पुष्टि भयो, जसमा छ हजार ६०० बेलायती नागरिक थिए। यसको प्रतिक्रियास्वरुप बेलायती प्रधानमन्त्री बोरिस जनसनले अनावश्यक व्यवसायहरू बन्द गर्न निर्देशन दिँदै आफ्ना नागरिकहरूलाई घरभित्रै सीमित रहन ‘दबाब’ दिएर लकडाउनको घोषणा गरे।

त्रियानब्बे दिन – २ अप्रिल बिहीबार

संक्रमितको संख्या १० लाखभन्दा बढी

बेलुकी ८ बजेर ४० मिनेट (जियमटी) जाँदा जोन हप्किन्स् विश्वविद्यालयले कोभिड–१९ को संख्या १० लाख नाघेको र मृतकको संख्या ५० हजारभन्दा बढी पुगेको पुष्टि गर्‍यो।

उनान्सय दिन – ८ अप्रिल बुधबार

अन्यौलपूर्ण भविष्यतर्फको यात्रा

बेलायती प्रधानमन्त्री बोरिस जनसन अस्पतालको सघन स्याहार कक्षमा उपचाररत छन्। गत शनिबार अहिलेसम्मकै सबैभन्दा बढी, विश्वभरका ६५ सय जनाले  भाइसरको कारण एकै दिन ज्यान गुमाए। त्यसो त अति गरिब र बढी जनसंख्या भएका राष्ट्रहरूमा भाइरसको संक्रमण हालसम्म तुलनात्मक रुपमा न्यून भए तापनि भविष्यमा के होला भनेर अहिले नै भन्न सकिने अवस्था छैन।

सबैभन्दा डरलाग्दो तथ्य त के हो भने कोरोना भाइरस पत्ता लागेको चार महिना पुग्न लागिसक्दा समेत यस रोगको उपचारका लागि कुनै भ्याक्सिन वा औषधीको विकास हुन सकेको छैन भने विश्वभरको आमजीवनलाई पहिलेकै जस्तो सामान्य अवस्थामा कसरी ल्याउन सकिन्छ भन्ने बारे सर्बत्र अन्योलता कायम छ।

अनुवादित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय