स्वास्थ्य सामग्री र जनशक्ति अभावले आफैं बिरामी छौं : मे.सु. सेती प्रादेशिक अस्पताल

अहिले कोरोना संक्रमणले सुदूरपश्चिम प्रदेश निकै जोखिमपूर्ण छ। धनगढीमा लकडाउनको कडा कार्यान्वयन गरिएको छ। मान्छेहरूलाई घर बाहिर निस्किन दिइएको छैन। के कोरोना रोकथामका लागि त्यत्ति मात्रै प्रयाप्त छ?

कोरोनासँग लड्ने सिपाही चिकित्सक हुन्। देशभर चिकित्सकीय सामग्री र जनशक्ति अभाव रहेको गुनासो व्यापक छ।

सामग्रीबिनै र थोरै जनशक्ति उपचारमा खटिरहेको छ। सुदूरपश्चिमको सबैभन्दा ठूलो सेती प्रादेशिक अस्पतालमा दिनहुँ सयौं बिरामीको उपचार हु्न्छ। सरकारले पनि त्यही अस्पताललाई कोरोनाको उपचारका लागि तोकेको छ। सेतीमा चार जना कोरोना संक्रमितको उपचार पनि भइरहेको छ। यस्तो बेला त्यहाँका चिकित्सकले कसरी काम गरिरहेका छन्? अस्पतालले संक्रमितको उपचारका लागि कस्तो व्यवस्था मिलाएको छ? सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयसँग हेल्थपोस्ट नेपालका लागि यज्ञराज जोशीले गरेको कुराकानीः

सेती प्रादेशिक अस्पतालमा कोरोनाका बिरामीको अवस्था कस्तो छ र उपचार कसरी भइरहेको छ?

हामीलाई कोरोनाको उपचार गर्ने अस्पताल तोकिएको छ। सरकारको त्यही निर्देशन बमोजिम हामीले २४ बेडको कोरोना उपचार कक्ष निर्माण गरेका छौं। र, त्यहीँ राखेर कोरोना संक्रमितको उपचार गरिरहेका छौं। कोरोना कक्ष छुट्टै छ। अन्य व्यवस्थापन अलग्गै बनाएका छौं। त्यहाँ हामी २४ जना बिरामीको उपचार गर्न सक्छौं।

दुई चार दिनभित्रै पाँच बेडको आइसियु पनि तयार गरेर सञ्चालन गर्ने गरी काम भइरहेको छ। अहिले पाँच जना बिरामीको उपचार भइरहेको छ। जसमा चार जना पोजेटिभ छन् भने एक जनाको रिपोर्ट आउन बाँकी छ। उनीहरूको उपचारका लागि डाक्टर नर्सहरूको ‘ए’, ‘बी’, ‘सी’ गरी तीन जनाको टोली बनाएर सेवा प्रदान भइरहेको छ।

एक हप्ता एउटा टोली, अर्को हप्ता अर्को टोलीले गरेर चिकित्सकहरूले डब्लुएचओले दिएको सिद्धान्त अनुसार नै काम गरिरहेका छन्। त्यसरी उपचारमा संलग्न चिकित्सकहरूलाई अलग्गै होटेलमा बस्ने व्यवस्था गरिएको छ।

पिपिई पनि सुरू–सुरूमा निकै कम थियो। अहिले विस्तारै आपूर्ति हुँदैछ। अहिलेसम्म त जसोतसो सेवा दिइरहेका छौं। तर, भोलि बिरामीको संख्या बढ्यो भने पिपिईलगायत स्वास्थ्यकर्मीको समस्या हुन्छ होला।

एउटा टोलीमा कति जनाको टोली खटिएको छ?

सबै ६३ जना हुनुहुन्छ। उहाँहरूले तीन सिफ्ट बनाएर काम गरिरहनु भएको छ।

कोरोनासँग लड्न अस्पतालको थप तयारी के छ?

हामीले अस्पतालको क्षमताले भ्याएसम्मको काम गरिरहेका छौं। हामीले सक्ने भनेको पनि यति नै हो। यो भन्दा बढी संक्रमण देखिए प्रदेश सरकार र संघीय सरकार लगायत सम्बन्धित निकायले समन्वय गरेर थप तयारी गर्नुपर्छ। किनकि, यो अस्पतालको मात्र नभएर समग्र देशकै चिन्ताको विषय हो। यो भन्दा धेरै बिरामी आए भने अस्पताको स्रोत-साधनले भ्याउन सक्ने अवस्था हुँदैन। त्यो प्रदेश सरकारले जिम्मा लिनुपर्ने हुन्छ।

पुरानो मौजुदा मेनपावरले पचास बेडको अस्पतालमा २ सय ४० बेड चलाइरहेको अवस्था थियो। १२-१५ जना विशेषज्ञको कमी पहिलादेखि नै थियो। कोरोनाको महामारी आइसकेपछि त झन् थप जनशक्ति चाहियो भनेर हामीले प्रदेश सरकारलाई मौखिक रुपमा पनि आग्रह गरेका थियौं।

आइसियु र भेन्टिलेटरको अवस्था कस्तो छ?

हामीसँग पहिलेदेखि पाँच बेडको आइसियु र एउटा भेन्टिलेटर थियो। त्यहाँ कोरोनाका बिरामीलाई लगेर राख्न मिल्दैन। त्यसो गर्दा अरुमा पनि संक्रमण सर्ने जोखिम हुन्छ। मैले अघि भनेजस्तै हामी अर्को आइसियु निर्माण गरिरहेका छौं। त्यो दुई-तीन दिनमै तयार हुन्छ होला।

त्यसो भए अरुमा संक्रमण नफैलियोस् भनेर अस्पतालले बलियो प्रवन्ध मिलाएको छ?

साधारण अस्पतालमा कोरोनाका बिरामीलाई हेर भनेर सरकारले भन्नु उपयुक्त हुँदैन थियो। तर, पनि यहाँको रिसोर्स निकै कम भएकाले अर्को ठाउँमा तुरुन्त व्यवस्थापन गर्न नसकेबाट पनि हामीले व्यवस्थापन गरेका छौं। नेपालमा देखिएकामध्ये आधा बिरामी नै यतै देखिएको अवस्था छ। हामीले सकेसम्मको राम्रो सुरक्षा व्यवस्था अपनाएका छौं।

भरतपुरमा अलग्गै कोरोना अस्पताल भनेर खोलिएको छ। त्यस्तो गर्‍यो भने त्यहाँ काम गर्ने मेनपावर अलग्गै हुन्छ र उनीहरूसँग पब्लिक कनेक्सन पनि हुँदैन। अहिले यता त नर्मल सेवा पनि प्रभावित भइरहेको छ। प्रदेश सरकारले त्यसमा ध्यान दिनुपर्छ।

तपाईंहरूलाई प्रदेश सरकार र संघीय सरकारबाट कस्तो सहयोग प्राप्त भइरहेको छ?

यो प्रदेश मातहत गइसकेको अस्पताल भएकाले प्रदेश सरकारले सहयोग गरिरहेको छ। तर, यो ठूलो महामारी भएकाले उपकरण, पिपिईदेखि जनशक्तिसम्ममा संघीय सरकारले हेर्नुपर्छ। जनशक्तिका लागि प्रदेश सरकार र हामीले मागेर पनि पाइरहेका छौं। बजेट लगायतका कुरा प्रदेश सरकारले हेर्ने हो।

जनशक्तिका लागि प्रदेश सरकारले के भनिरहेको छ?

पुरानो मौजुदा मेनपावरले पचास बेडको अस्पतालमा २ सय ४० बेड चलाइरहेको अवस्था थियो। १२-१५ जना विशेषज्ञको कमी पहिलादेखि नै थियो। कोरोनाको महामारी आइसकेपछि त झन् थप जनशक्ति चाहियो भनेर हामीले प्रदेश सरकारलाई मौखिक रुपमा पनि आग्रह गरेका थियौं। चार जना संक्रमित आइसकेपछि हामीलाई बेहोस् पार्ने डाक्टर तीन जना, फिजिसियन पाँच जना मेडिकल अफिसर दस जना, तीस जना स्टाफ नर्स हामीलाई चाहिन्छ भनेर प्रदेश सरकारलाई पत्रचार गरिसकेका छौं। प्रदेश सरकारले माथि समन्वय गरिरहेको होला भन्ने हाम्रो विश्वास हो।

त्यसो भए अहिलेसम्म केन्द्रबाट चिकित्सक आएको अवस्था छैन?

हो। अहिले केन्द्रबाट कुनै पनि मेनपावर आएको छैन। प्रदेशबाट पनि कुनै आएको छैन। अस्पताल आफैंले करारमा, ज्यालादारीमा लिएका कर्मचारी मात्रै हुन्। दरबन्दीका केही चिकित्सकहरू पहिलेदेखि नै कार्यरत हुनुहुन्छ।

चार जना संक्रमितको उपचार भइरहेको अस्पतालमा थप जनशक्ति पठाउने लगायत अन्य कुरामा सरकार गम्भीर बन्नु पर्ने होत्यो देखिएन हैन?

चार जना देखिसकेको अवस्थामा केन्द्र सरकारबाट नै सम्बोधन हुनुपर्ने हो। यसले महामारीको रुप लेला, समाजमा फैलिएला होला, त्यसैले यसलाई रोक्नका लागि माथिबाट मेनपावर पठाउनुपर्छ भनेर फटाफट पठाइहाल्नुपर्थ्यो। हाम्रोतर्फबाट हामी गरिरहेका छौं। योभन्दा बढी हाम्रो गर्न सक्ने अवस्था नै छैन।

अस्पतालमा कति दरबन्दी छदरबन्दी अनुसारका चिकित्सकको अवस्था कस्तो छ?

नर्सिङ जनशक्ति अभाव छैन। अहिले जनशक्तिको संख्या ठ्याक्कै कुनमा कति भन्न नसके पनि अन्य क्षेत्रमा ५० प्रतिशतभन्दा कम छ। साधारणतर्फको एउटा हुन्छ, विकास समितिको हुन्छ, कार्यक्रमतर्फका हुन्छन्, ज्यालादारीका हुन्छन्, करारमा हुन्छन्। यी सबै क्षेत्रमा ५० प्रतिशत भन्दा कम नै छ जनशक्ति। अरुले काम गरिरहेको अवस्था भए पनि चिकित्सकको अपर्याप्तता भने निकै छ।

हामी यत्रो जनरल बेड चलाइरहेको छौं। सुत्केरी नै दैनिक २०-२२ जना हुन्छन्। दिनकै चार-पाँच जना सुत्केरीको अप्रेसन हुन्छ। इमरनेन्सी अप्रेसन अरू पनि हुन्छन्। यसले केही हदसम्म थुप्रै खालका सेवाहरू प्रभावित हुने भए। कोरोनाका बिरामी यहाँ राखेका छन् भनेर बिरामी आउन डराउँछन्। उपचारै नपाएर मृत्यु हुने जोखिम पनि बढ्ने भयो। कोरोनाभन्दा पनि जनरल केसबाट मान्छेहरू मरिरहेका घटना बाहिरिरहेका छन्।

चिकित्सको अपर्याप्तता पहिले नै भएको अवस्थामा अहिले अस्पतालमा अत्यन्त क्रिटिकल केस आउँदा उपचारमा झनै समस्या थपिएको होला नि हैन?

हो। हामी अहिले झनै समस्या खेपिरहेका छौं। यसै अस्पतालाई कोरोनाको उपचारका लागि तोकिएपछि बिरामीहरू आउन डराइरहेका छन्। अन्यत्र जाँदा पनि उनीहरूले अहिले राम्रो उपचार पाइरहेको अवस्था छैन। किनकि, उनीहरूसँग पनि पिपिई लगायत अत्यावश्यक सामग्री छैन।

हामी यत्रो जनरल बेड चलाइरहेको छौं। सुत्केरी नै दैनिक २०-२२ जना हुन्छन्। दिनकै चार-पाँच जना सुत्केरीको अप्रेसन हुन्छ। इमरनेन्सी अप्रेसन अरू पनि हुन्छन्। यसले केही हदसम्म थुप्रै खालका सेवाहरू प्रभावित हुने भए। कोरोनाका बिरामी यहाँ राखेका छन् भनेर बिरामी आउन डराउँछन्। उपचारै नपाएर मृत्यु हुने जोखिम पनि बढ्ने भयो। कोरोनाभन्दा पनि जनरल केसबाट मान्छेहरू मरिरहेका घटना बाहिरिरहेका छन्।

अस्पतालमा अक्सिजनको उत्पादन र पर्याप्तताको अवस्था कस्तो छ?

अक्सिजनको पर्याप्तता एकदम राम्रो छ। हामीले अक्सिजन प्लान्ट राखेको एक दुई महिना भइसक्यो। बेड-बेडमा अक्सिजन जोड्न लगाएर कोरोनाको बिरामीलाई पूर्ति गरेका छौं। लकडाउनको बेलामा पनि मेन्टिनेन्सका मान्छेलाई बोलाएर हात जोडेर १६ ठाउँमा जोड्न लगाएका छौं। आइसियु बेडमा पनि अक्सिजनका पाइप जोडेर आपूर्तिको व्यवस्था मिलाएका छौं।

कोरोनाका बिरामीलाई बस्ने ठाउँमा वाइफाइको व्यवस्था, सिसिटिभी क्यामेरा, तातोपानीको व्यवस्था, मोबाइल चार्जरको व्यवस्था, तुथपेस्ट र साना–साना साबुनका प्याकेट दिनेलगायत अत्यावश्यक वस्तु पनि अस्पतालले प्रदान गरिरहेको छ। होटेलवालालाई ठेक्का दिएर बिहान-बेलुका खाना शि:शुल्क खुवाउने व्यवस्था पनि हामीले गरिरहेका छौं।

प्रयोगशालामा जनशक्तिको अवस्था कस्तो छ?

पहिलेदेखि नै जनशक्तिको अवस्था कमजोर थियो। अहिले सरकारले पिसिआर मेसिन पठाइदिएको छ। पिसिआर मेसिनबाट दिनमा आठ-दस जना भन्दाबढीको परीक्षण गर्न सकिने अवस्था छैन। केही नहुनु भन्दा हुनु ठिक हो भन्ने हो। यसले समग्र सुदूपश्चिम भ्याउने कुरै भएन। सेतीलाई मात्रै परीक्षण गर्नलाई पनि पुगिरहेको छैन। भर्खरै कृषि मन्त्रालयसँग समन्वय गरेर स्वास्थ्य मन्त्रालयले एउटा मेसिन पशुपन्छी प्रयोगशालामा राखेको छ। त्यो चाँडै सञ्चालनमा आउँछ होला। त्यो सञ्चालनमा आयो भने अलि सहज होला। त्यो हाम्रो अन्तर्गतभन्दा पनि भेटनरी र कृषिले गर्छ होला।

अनि आइसियुका लागि स्पेशल व्यवस्था के छ?

एक जना मात्रै बेहोस् गर्ने डाक्टर हुनुहुन्छ। अन्य तीन जना फिजिसियन हुन्। उहाँहरूले पनि पुरानै वार्डमा काम गर्नुपर्‍यो। पुरानै आइसियुमा काम गर्नुपर्‍यो। मेडिकल वार्डमा काम गर्नुपर्‍यो। बृद्धबृद्धा वार्डमा काम गर्नुपर्‍यो। डिउटीमा २४सैं घन्टा बस्नु पर्‍यो। कुनै क्रिटिकल केस आउँछ। बोलाउनु पर्छ।

एक जनाले उता पनि हेर्दा यता पनि हेर्दा थप जोमिख बढ्यो नि हैन?

यसले एकदमै जोखिम हुन्छ। मेनपावर हामीले पनि कहाँबाट ल्याउने? कसैलाई तलब दिन्छु भन्दा पनि यो क्षेत्रमा आउँदैनन्। केन्द्रबाटै सरकारले एउटा रोटेशनजस्तो गरेर त्यहाँ भएका चिकित्सक साथीहरूलाई दुई-तीन महिनाका लागि पठाउन सक्छ। तीन-तीन महिना केन्द्रबाट आउनै पर्ने बाध्यकारी नियम बनाइदियो र तपाईंले यसरी सेवा गरेबापत यो सेवा पाउने भन्ने खालको केही बनायो भने सबै सहज रुपमा आउने थिए। तिमी सेतीमा वा पश्चिममा जाउ भन्यो भने कोही आउनेवाला छैनन्।

यो क्रिटिकल समय हो। भारतबाट यो क्षेत्रमा थुप्रै मान्छे आएका छन् र उनीहरूको परीक्षण हुन सकिरहेको छैन। सरकारले त यस क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नु पर्थ्यो नि हैन?

एकदमै हो। हामीहरूमो भनाइ पनि यही नै हो। नौ जिल्लाको आशाको केन्द्र भनेकै सेती अस्पताल हो। कसैलाई कोरोनाका शंका लाग्नेवित्तिकै डाक्टरसाप पठाइदिउँ भनेर उताबाट यता धपाउने मात्र काम भइरहेको छ। अहिले जनशक्ति र सामग्री अभावमा जटिल केसलाई मात्र   हेर्न सक्ने अवस्था छ। यसरी सामान्य बिरामीहरू थुप्रै दिँदा उपचार गर्न झन कठिन भएको छ।

बाहिर चिकित्सकले उपचार गरेर भनेर हामीलाई गाली गर्ने। भित्र जनशक्ति र सामग्रीको अभावले के गर्ने भन्ने हाम्रो आफ्नै समस्या छ। हाम्रो विचारमा टिकापुरलाई, महाकालीलाई राम्रो बनाई त्यहाँ पनि उपचारको व्यवस्था मिलाउनु पर्‍यो। पहाडी क्षेत्रका लागि डडेल्धुराबीचमा छ। त्यहाँ पनि राम्रो सेवा सुविधा थपिदिनुपर्‍यो। केन्द्र सरकारले गरिदियो भने खासै गाह्रो छैन जस्तो लाग्छ।

हतियारबिना कोरोनाको महामारीसँग लडिरहेका चिकित्सकहरूको मनोबल बढाउन पर्नेमा सरकारले त्यो गर्न सकिरहेको छैन?

मनोबल बढाउने कुरा त परै जावस्। सरकारले झनै सुरक्षाकर्मी र चिकित्सकको तलब काट्ने भन्ने समाचार सुनिएको छ। जीवनको बाँजी लगाएर दिनरात नभनी सेवा खटिरहेकाहरूका लागि आत्मबल बढ्ने कार्यक्रम ल्याउनुपर्नेमा यसले मनोबल बढ्ने होइन, घट्दै गइरहेको छ।

यतिबेला सबैले मिलेर कोरोना महामारीसँग लड्ने हो। सरकारले पनि हामीलाईं आवश्यक पर्ने सामग्री प्रदान गर्नुका साथै मनोबल बढाउने काम गरिदियो भने राम्रो हुन्थ्यो। स्वास्थ्य क्षेत्र मा होमियो भने काम त नगर्ने भन्ने हुँदैन।

कोरोना संक्रमित चारै जनाको अवस्था कस्तो छ?

सबैको अवस्था सामान्य नै छ।

अनि पिपिई लगायत अत्यावश्यक वस्तुको अवस्था नि?

सुरू–सुरूमा निकै गाह्रो थियो। अहिले तीन चार दिन तीन चार दिनलाई पुग्ने सामान मौज्दात छ। अहिले बिरामीलाई हेर्न जाँदा पनि नभई नहुनेले लगाएर जानेर बचत गर्ने गरेका छौं। यसमा चाहिँ हामी कसैलाई दोष दिँदैनौं। यत्तिको भयो भने काम चल्छ।

अन्त्यमा केही भन्नु छ?

यतिबेला सबैले मिलेर कोरोना महामारीसँग लड्ने हो। सरकारले पनि हामीलाईं आवश्यक पर्ने सामग्री प्रदान गर्नुका साथै मनोबल बढाउने काम गरिदियो भने राम्रो हुन्थ्यो। स्वास्थ्य क्षेत्र मा होमियो भने काम त नगर्ने भन्ने हुँदैन। नकारात्मक टिका टिप्पणी गर्नेभन्दा पनि सकरात्मक सोचको विकास गरेर अगाडि बढ्नुपर्छ। जनताहरूले पनि सरकारले दिएको निर्देशन पालना गर्नुपर्‍यो। बिरामी हुँदा कोरोनाको शंका लागे अस्पताल आउने गर्नुपर्‍यो।

हामीलाई बरु स्थानीयबाट सहयोग भएको छ। काम गरेर घर जानु भएन। बाई चान्स उहाँहरूलाई संक्रमण भइरहेको र नदेखिएको अवस्था भयो भने परिवारको अन्य मानिसमा पनि सर्ने जोखिम हुन्छ। घरमा सर्‍यो भने समुदाय र टोलमा सर्ने जोखिम हुन्छ। यहाँको उद्योग वाणिज्य संघ नगरपालिकासँग अनुरोध गरेर हामीले हाम्रा चिकित्सक, स्वास्थ्यकर्मीलाई बस्ने व्यवस्था गरिदिनुस् भने पछि उहाँहरूले १४ बेड साथी होटेलमा पैसा नलाग्ने गरिदिनु भएको छ। १४ दिन डाक्टरहरू त्यहाँ बस्नु हुन्छ। यहाँको डिउटी पनि सकिन्छ। सञ्चो भएपछि घर जानुहुन्छ।

एउटा सरुवा रोगको अस्पताल प्रत्येक प्रदेशमा चाहिन्छ। यसमा सरकारले ध्यान दिनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय