मान्छेलाई ‘अभिशाप’ कोरोना भाइरस, प्रकृतिलाई कसरी ‘वरदान’?

एउटा ‘शुक्ष्म’ भाइरसले ठप्प रोकेको विश्व।

सारा कलकारखाना बन्द छन्। यातायात ठप्प छ। विश्वभरका मानिस यतिबेला घरभित्रै थुनिएका छन्।
संसारै चकमन्न छ। अनि पृथ्वी थर्किएको छैन।

लकडाउनसँगै मानिसको दैनिकी अहिले लगभग मोबाइल र कम्प्युटर अनि टिभीका स्क्रिनभन्दा बाहिर छैन।

तथापि, एउटा आसाको दियो भने धिपधिपाइरहेको छ, जित त फेरि पक्कै पनि मानव जातिकै हुनेछ।

लगभग एक लाख मानिसको ज्यान खाइसकेको यो ‘भाइरस’ ले फैलाएको मृत्यु भय त कसरी भुल्न सकिन्छ र?

तथापि हामी एकैछिन प्रकृतितिर फर्काैं,

गाडीका काेलाहल र चिच्याटलाग्दाे आवाजकै बीचमा जवर्जस्ती निदाउने अनि गाडीका हर्नसँगै ब्यूँझिने सहर अचेल चराकाे चिरबिर्रसँग ब्यूँझिन थालेकाे छ।

चीन

दुई महिना बढीको लकडाउनका बेला चीनको प्रदुषणमा करिब ३० प्रतिशत कमी आएकाे विभिन्न अध्ययनहरुले देखाएका छन्।

विश्वको यो त्यही देश हो जसले वायुमण्डल दूषित गराउने कार्बनडाइअक्साइ ग्यास उत्पादनमा सबैभन्दा बढी योगदान दिन्छ।

वायुमण्डलमा कार्बनडाइअक्साइड उत्सर्जन बढ्दै गर्दा पृथ्वीको तापक्रम अस्वाभाविक रूपमा बढिरहेको छ।

पृथ्वीको वायुमण्डलको तापक्रम, हावाको बहाब र वर्षातमा हुने घटबढका कारण पृथ्वीमा हुने औसत मौसमको परिवर्तन नै जलवायु परिवर्तन हो। यसको मुख्य कारक भनेको कार्बनडाइअक्साइड, मिथेन, नाइट्रसजस्ता ग्यास उत्पादनमा वृद्धि हो।

जसले पृथ्वीमा एकप्रकारको तह निर्माण गर्छ। यसले सूर्यको ताप र प्रकाश पृथ्वीमा आउन त दिन्छ तर, त्यो वायुमण्डलमा निष्कासन हुन पाउँदैन।

त्यस्तो कार्बन चीनले ९.०४ अर्ब टन उत्पादन गर्छ।

चीनमा वर्षेनि हुने करिब १० लाख मानिसको मृत्युको एउटा मुख्य कारण वायु प्रदुषण हो।

एक चिनियाँ अध्ययनले त निष्कर्ष निकालेको छ कि, यो लकडाउन कारण चीनमा करिब ५० हजारदेखि साढे ७ लाख मानिसको ज्यान जोगिएको छ।

पाँच वर्षमुनि र ७० वर्षभन्दा माथिल्लो उमेरका यो संख्याको मृत्यु वायु प्रदुषणकै कारण हुन्छ।

अघिल्लो वर्ष यही समयको प्रदुषणको अवस्था हेर्दा चीनमा करिब १२.५ प्रतिशत प्रदुषण घटेको छ।

अमेरिकाको नासाले हालै सार्वजनिक गरेको एउटा ताजा तस्बिरले चीनको प्रदुषण करिब ३० प्रतिशतले कमी आएको देखाएको छ।

भारत

भारत २१ दिने लकडाउनकाे अन्तिम सातामा गुज्रिरहेकाे छ। लकडाउनकै बीचमा ३० वर्षपछि पन्जावकाे जालन्धर सहरबाट करिब २०० किलाेमीटर टाढा रहेकाे हिमालय श्रृङ्खलाहरु प्रष्ट देखिन थालेकाे छ।

मानिसहरुले आफ्नाे घरबाटै धाैलाधर हिमालय श्रृङ्खलाहरु देखिरहेका छन्। फाेटाे र भिडियाेहरु सामाजिक सन्जालमा भाइरल भएका छन्।

केही महिनाअघि सासै फेर्न मुस्किल भएर भारतका अधि‌का‌ंश सहरमा दुई मीटरकाे दूरीमा पनि दृश्य ठप्प थियाे। कैयाै सहर बन्द गरिएका थिए। स्कुल बिदा भए।

विश्वका सबैभन्दा प्रदूषित ३० सहरहरुमध्ये २२ वटा सहर भारतमै पर्छन्।

अहिले लक डाउन भएको एक सातामै दिल्लीको हावामा नाटकीय परिवर्तन भयो।

कुनै बेला सहरभरिको फोहोर बग्ने ढलजस्तै लाग्ने यमुना नदी अहिले ६० प्रतिशत सफा भएको छ।

प्रदुषणले ‘कालो’ भइसकेका गंगामा बग्ने पानीको रंङ फेरिएको छ। भारतीय भनिरहेका छन्– ‘दुनियाँका लागि कोरोना भाइरस, प्रकृतिका लागि वरदान।’

यो नदी सफा गर्न सरकारले २ हजार करोड खर्च गरिसकेको छ। दिल्लीमा करिब १ लाख उद्योग कलकारखाना छन्। अनि १६ मुख्य नाला छन्। यी सबको फोहोर यमुनामा पुग्छ। अहिले ती सब बन्द छन्।

सरकारले गंगा नदीका विभिन्न ३६ स्थानमा जडान गरेको रियरटाइम वाटर मनिटरिङ स्टेसनमध्ये २७ स्टेसनमा गंगाको पानी अब नुहाउन लायक पाइएको छ।

गंगामा हुने प्रदुषणको करिब १० प्रतिशत योगदान त्यहाँका उद्योग, कलकारखानाको फोहोर हो। गंगा तटमा हुने धार्मिक अनुष्ठान अनि शव दहन पनि अहिले बन्द भएको छ। र, गंगाको पानीले रंङ फेरेको छ।

इटाली

विश्वमै अहिले कोरोनाको सबैभन्दा कहर भोगिरहेको देश हो इटाली। उत्तरी इटालीको मिलान सहर भाइरसको इपिसेन्टर मानिन्छ। यो इटालीको सबैभन्दा ठूलो सहर पनि हो।

करिब एक महिनादेखि लकडाउनमा रहेको इटालीमा अहिले वायु प्रदुषणमा करिब ४० प्रतिशत कमी आएको छ।

नेपाल

‘लकडाउन’ को केही दिनपछि सामाजिक सञ्जालमा ‘खुलेको नेपाली आकास’ पोस्ट भइरहेका छन्।

काठमाडौंका महलबाट हिमशृङ्खला छ्याङ्गै देखिन थालेका छन्।

धुलोका कण बाक्लिएर काठमाडौंवासीले वरिपरिको पहाडसमेत देख्न सक्ने अवस्था थिएन। सहरमा बचेखुचेका रुख पनि धुलाम्मे भएका थिए।

विश्वका प्रदूषित सय देशकाे सूचीमा नेपाल पनि छ।

तर, लकडाउनसँगै काठमाडौंको वायु पनि निकै सफा भएको छ। काठमाडौंलगायत देशका विभिन्न स्थानमा जडान गरिएका वायु गुणवेत्ता मापन केन्द्रमा ‘ग्रिन’ र ‘एल्लो’ जोनमा देखा परेको छ। हरियो स्वस्थकर तथा पहेंलो ‘ठिकै’ मानिन्छ। रातो चिह्न जति गाढा हुन्छ वायुको गुणवेत्ता स्वास्थ्यका लागि उति नै खराब हुँदै जानु हो।

यसअघि काठमाडौं जहिल्यै ‘रेडजोन’ मा पथ्र्याे। सरकारले कायम गरेको प्रदुषणको इकाइ पिएम २.५ को मात्रा अहिले घट्न थालेको छ।
यो मात्रा भनेको वायुमा धुलोका शुक्ष्म कणको मात्रा हो। हावामा ४० माइक्रोमिलिमिटरभन्दा धेरै धुलोलगायत अन्य प्रदुषण देखिए त्यो हावा दूषित हुन्छ।

वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलका अनुसार अघिल्लो वर्ष यही समयमा यहाँको प्रदूषणको तुलनामा अहिलेको हावाको गुणस्तर निकै राम्रो हो।

‘यो सधैं त नरहला, केही दिनदेखि राजधानीलगायत हामीले प्रदूषित भनेका सहरमा समेत हावाको गुणस्तर निकै राम्रो देखिएको छ,’ उनी भन्छन्।

पौडेलका अनुसार यो हावाहुरी र डढेलोको समय पनि हो। त्यसैले बाहिर कतै डढेलो लागे पनि त्यसको धुवाँका कारण हावामा प्रदुषणको मात्रा बढ्न सक्छ। त्यसैले केही तलमाथि भने भइरहन्छ।

के यो सधैं सम्भव छ?

सधैं संसार ठप्प त हुँदैन।

‘यो सधैं सबै यस्तै त हुन सक्दैन किनकि कसैले पनि संसार अहिलेको जस्तै ठप्पै बनाएर प्रदुषण कम गर्ने भन्ने होइन,’ पर्यावरणविद भुषण तुलाधर भन्छन्, ‘तर, यो एउटा एकदमै स्विकार गर्नैपर्ने पाठ के हो भने हामीले चाह्यौं र कम गर्‍यौं भने त हुँदो रैछ नि?’

उनका अनुसार जलवायु परिवर्तनको असरका कारण पृथ्वीमा आउन सक्ने संकट त अझैं संघार नजिकै छ। त्यसका केही पूर्वसंकेत देखिइसकेका छन्।

‘हो, त्यो संकटसँग जुध्नका लागि पनि हामी यसैगरी तयार हुनुपर्छ,’ तुलाधरको बुझाइ छ, ‘आज सारा विश्वले सिकेको एउटा पाठ के हो भने हामीले जलवायु परिवर्तनको संकटको क्षतिबाट बच्नका लागि प्रदुषण कम गर्नैपर्छ।’

यहाँसम्म केही वैज्ञानिकले अहिले ओजोन तहको अवस्थामा निकै राम्रो परिवर्तन आएको दाबी गरिरहेका छन्। वायुमण्डलमा हुने प्रदुषण कम भएका कारण यस्तो परिवर्तन आएको उनीहरूको दाबी छ।

कार्बन तथा नाइट्रोजनअक्साइडजस्ता ग्यासको बाक्लो संसर्गले ओजोन तह पातलिँदै गएको छ।

ओजोन तह विभिन्न ग्यास मिलेर बनेको एउटा यस्तो तह हो जसले हामीलाई सूर्यबाट आउने पराबैजनी किरणबाट बचाउँछ। यो पातलिँदै जानु भनेको ती किरण सिधा पृथ्वीसम्म आइपुग्नु हो।

‘२०१७ देखि २०२० सम्मको समग्र स्थितिमा ओजोन तहमा धेरै ठूलो परिवर्तन त देखिएको छैन। तर, दैनिकजसो हुने परिवर्तन भने पक्कै देखिन थालेका छन्,’ क्यालिफोर्निया विश्वविद्यालयका एकजना अनुसन्धाता तथा वातावरण वैज्ञानिक सेसुनिका आइबेले भनेका छन्।

केही दिनअघि युराेपिय स्पेस एजेन्सीले आफ्नाे एउटा स्याटेलाइट विश्लेषणमा भनेका थियाे ‘अघिल्लाे वर्षकाे तुलनामा याे वर्ष एशिया तथा युराेपियन देशहरुमा नाइट्राेजन अक्साइड(No2)काे उत्पादन एकदमै कम देखिएकाे छ।’

नाइट्राेजन अक्साइड एकदमै धेरै कारण कारकाे इन्जिन हाे। त्यस्तै इन्धन भट्टीहरु र उद्याेग कलकारखानाहरु यसका कारक हुन्। जाे अहिले काेराेना भाइरसकाे महामारीका कारण विश्वभर बन्द अवस्थामा छन्।

‘हेर्नुस् त अहिले बाहिर आँगनमा निस्किँदा पनि कति सजिलैसँग सास फेर्न सकिएको छ,’ वातावरण वैज्ञानिक नरेश रिमाल भन्छन्, ‘अहिले प्रकृति आफैंले आफैंलाई विश्राम दिइरहेको छ, सरसफाइ गरिरहेको छ।’

उनका अनुसार विश्वमा यसैगरी प्रदुषण कम भइदियो भने पक्कै पनि हामी जलवायु परिवर्तनसँग जुध्न सक्नेछौं।

‘मानवीय क्रियाकलाप यसैगरी विवेकपूर्ण र प्राकृतिक सन्तुलन नबिगार्ने गरी हुँदै जाने हो भने केही हदसम्म सम्भव छ,’ उनी भन्छन्, ‘तर, यो नेपालजस्ता केही देशले गरेरमात्रै हुँदैन। जलवायु परिवर्तन र पर्यावरण प्रदुषण गर्नका लागि चीन, अमेरिका, भारतजस्ता धेरै देशको ठूलो योगदान छ।’

हो, पनि नेपालजस्ता गरिब देशको कार्बन उत्सर्जनमा ज्यादै न्यून भूमिका छ। तर, ठूला देशका कारण वायुमण्डलमा हुने प्रदुषणको असर नेपालजस्ता साना देशले भुक्तान गर्नुपर्ने नियति छ।

लकडाउनका कारण स्वच्छ हावाकाे अनुभव हुन थालेपछि भारतीय अभियन्ताहरुले प्रधानमन्त्री माेदीलाई मेन्सन गर्दै सामाजिक सन्जालमा लेखेका थिए ‘प्रधानमन्त्री ज्यू, हामी अब हरेक वर्ष कम्तीमा १५ दिनजति भारत लकडाउन गराै‌ं। स्वच्छ हावाका खातिर।’

विभिन्न विश्व अभियन्ताहरुले भनेका छन् ‘२०३०सम्ममा कम्तीमा ३० प्रतिशत कार्बन उत्सर्जन कम गर्नका लागिका याे नै अति उत्तम उपाय हाे कि हामीले हरेक वर्ष अब कम्तीमा १५ दिन ‘ग्लाेबल लकडाउन गराैं।’

दूषित हावा दम र फाेक्साे राेगकाे प्रमुख कारण हाे।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष स्वासप्रश्वासका कारण मृत्यु हुने ८८ लाख मानिसमध्ये ४६ लाख मानिसकाे मृत्यु सिधै वायु प्रदुषणसँग जाेडिएकाे छ। र, बाँकीकाे मृत्युमा पनि कतै न कतै प्रदूषित वायुकाे अंश छ।

र, जलवायु परिवर्तनका लागि विश्वअभियन्ता ग्रेटा थमवर्गले  भनेकि छिन् ‘एउटा भाइरसले हाम्राे सारा विश्व अर्थतन्त्रलाई हप्ताैं यसरी तहसनहस पार्नसक्छ भने साेचाै‌ं हाम्राे समाज कत्ति पनि लचिलाे छैन। अब याे विश्वमहामारीले याे कुरा प्रमाणित गरिदिएकाे छ कि, जब हामी कुनै आपतमा पर्छाैं अनिमात्रै हामी असम्भव भनिएका विकल्प पनि अपनाउन थाल्छाैं अनि आफ्नाे व्यवहारमा परिवर्तन ल्याउँछाैं।’

ब्रिटेन सरकारका पूर्व बैज्ञानिक सल्लाहकार पाउल म‌ंकले भनेका छन्, ‘हामीले जानेर वा नजानेर विगतमा जे गर्‍यौं, अब यो चेतबाट हामी सकेसम्म कम कार्बनयुक्त अर्थतन्त्रका लागि सोच्नुपर्ने बेला भएको छ। मानव जीवनलाई खेर फालिरहेको यो भाइरस संक्रमणको यो डरलाग्दो महामारीले हामीलाई केही नयाँ आशाहरु पनि देखाइदिएको छ।’

मानौं पृथ्वी ‘सेलाएको’ छ। यो शान्त पृथ्वीमाथि सधैं धुम्म देखिने आकाश अहिले खुल्न थालेको छ।

तर, सँगै जनावरबाट मान्छेको शरीरमा हामफालेको यो भाइरसले मानव जीवनलाई सजिलैसँग हराउन थालेको छ।

मानव जीवनमा शताब्दीकै यो एउटा भयानक ‘भाइरस–युद्ध’ हो।

यसैले सारा विश्वलाई प्रकृति र मान्छेबीचको एउटा गहिरो सम्बन्धलाई सम्झाइदिएको छ।

र, आफूलाई घरका भित्ताभित्रै सिमित गरेर बन्द भइरहेकाे याे विश्व मानव जगत फेरि उज्यालाे भएर खुल्नेछ। त्याे बेला पक्कै पनि मान्छेका  व्यवहार, चिन्तन र क्रियाकलापहरु निकै परिवर्तन भएका हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय