चिकित्सक भन्छन्- ‘केही परीक्षण नेगेटिभ हुँदैमा ढुक्क हुने अवस्था छैन’

विश्वभर फैलिएको कोरोना महामारीबाट नेपालपनि अछुतो रहेन। पछिल्लो तथ्यांकअनुसार नेपालमा ९ जना कोरोना संक्रमित रहेको पुष्टि भइसकेको छ।

संक्रमणको हिसाबले प्रदेश २ लाई उच्च जोखिम क्षेत्रको रुपमा हेरिएको छ। भारतीय सीमासँग नजिक हुनुका साथै वैदेशिक रोजगारीमा जानेहरुको संख्यासमेत प्रदेश २ बाट बढी रहेकोले यसलाई जोखिमको रुपमा हेरिएको हो ।

यद्यपि हालसम्म यस प्रदेशमा कोहीपनि कोरोना संक्रमित रहेको पुष्टि भएको छैन। प्रादेशिक अस्पताल जनकपुरसहित काठमाण्डौंस्थित टेकु प्रयोगशाला र धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा जाँच भएका सबै नमून निगेटिभ देखिएको छ ।

कोरोना जाँच गर्न पीसीआर जडान भएपछि प्रादेशिक अस्पताल जनकपुरले २१ चैतदेखि परीक्षण सुरु गरेको छ । विहीबारसम्म प्रादेशिक अस्पताल जनकपुरको ल्याबले ६१ कोरोना शंकास्पदको स्वाब संकलन गरेको छ । जसमध्ये ३८ जनाको रिपोर्ट आएको छ भने २३ जनाको रिपोर्ट आउन बाँकी छ । रिपोर्ट आउन बाँकी रहेको मध्ये २० जना धनुषा र तीनजना महोत्तरीको रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रादेशिक अस्पतालको ल्याबमा परीक्षण भइ आएको सबै रिपोर्ट निगेटिभ छ। यसअघि टेकु र धरानमा परीक्षण भएका स्वाबका रिपोर्टहरु पनि निगेटिभ आएका छन्।

प्रदेश २ को आठ जिल्लाका स्थापना गरिएको क्वारेन्टाइनमा ९ सय ९, आइसोलेसनमा २१, होमक्वारेन्टाइनमा १ हजार १८४ जना छन्। शंकास्पद बिरामीको स्वाब परीक्षणको गति र विश्वसनीयतामाथि स्वयं चिकित्सकहरु सशंकित देखिएका छन् । जोखिमको हिसाबले प्रदेश २ उच्च रहेपनि कोरोना परीक्षणको गतिले कहिलेसम्म भ्याइने उनीहरुले चिन्ता व्यक्त गरेका छन् भने नमूना जाँच्ने विधि र रिपोर्टमाथि समेत शंका व्यक्त गरेका छन् ।

प्रादेशिक अस्पताल जनकपुरका कनसल्टेन्ट फिजिसियन डा.विपिन यादव शंकास्पदहरुको स्वाब परीक्षणको प्रक्रियाप्रति सन्तुष्ट छैनन्। अहिले आइरहेको रिपोर्टमा भर पर्ने अवस्था नरहेको उनको भनाइ छ ।

स्वाब परीक्षणको विभिन्न तरिकामध्ये अहिले घाँटीबाट स्वाब निकालेर जाँच भइरहेको बताउँदै डा.यादव यो विधि ३३ प्रतिशतमात्र विश्वसनीय रहेको दाबी गरेका छन् । यसैगरी नाकको स्वाबबाट हुने परीक्षण ६६ प्रतिशत विश्वसनीय रहेको उनको भनाइ छ ।

अहिले अपनाइएको विधिबाट भरपर्ने अवस्था नरहेको भन्दै उनले द्रुत परीक्षण जाँच गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । शंकास्पद बिरामीको रगत

लिएर  द्रुत जाँच गर्नसकिए संक्रमितको पहिचान गर्न सहज हुने यादव बताउँछन् ।

कुनै लक्षण नै नभएको व्यक्तिपनि कोरोना संक्रमित पाइएकोले निगेटिभ रिपोर्ट आउँदै ढुक्क भएर बस्न सक्ने अवस्था नरहेको उनको भनाइ छ। ‘नेपाल अहिले दोस्रो चरणमा प्रवेश गरिसकेको छ, अर्थात एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण भएको छ,’ उनले भने,‘अब हामीसँग समुदायमा हुनसक्ने संक्रमण रोक्नु पर्दछ ।’ समुदायमा संक्रमण भए परिस्थिति भयावह हुनसक्ने भन्दै डा.यादवले परीक्षणको गतिलाई तिव्रता दिनुपर्ने बताउँछन् ।

यसैगरी प्रादेशिक अस्पताल जनकपुरका मेडिकल अधिकृत डा.अजय यादव पनि रिपोर्ट निगेटिभ आउँदैमा ढुक्क भएर बस्न नसकिने बताउँछन् । घाँटीको स्वाब लिएर हुने परीक्षण आफैमा शतप्रतिशत विश्वसनीय नरहेकोले निगेटिभ आएकाहरुलाई थप केहीदिन क्वारेन्टाइनमै राख्नुपर्ने उनको सुझाव छ । ‘निगेटिभ रिपोर्ट आएको छ भन्दैमा शंकास्पदलाई तत्काल घर पठाउन मिल्दैन,’ उनले भने,‘थप केहीदिन क्वारेन्टाइनमा राखेर कुनै लक्षण नदेखिएमात्र घर पठाउनुपर्ने देखिएको छ ।’

प्रादेशिक अस्पताल जनकपुरमा सञ्चालन भएको फिभर क्लिनिकको जाँचबाट समेत उनी सन्तुष्ट छैनन् । शंकास्पद बिरामीसँग सोधपुछ गरेरमात्र जाँच भइरहेको भन्दै डा.यादवले यति प्रक्रियामात्र पर्याप्त नरहेको बताए । ‘फिभर क्लिनिकमा जाँच गर्ने चिकित्सकहरुसँग पीपीईलगायतका आवश्यक पोशाक छैन्, हामीले बिरामीलाई स्ट्रेथोस्कोप लगाउन सकेका छैनौं,’ उनी भन्छन्,‘फिभर क्लिनिकपनि औपचारिकतामात्र भएको छ ।’

सुस्त गतिमा परीक्षण, सात दिनमा जम्मा ३८ रिपोर्ट

प्रादेशिक अस्पताल जनकपुरमा पछिल्लो सात दिनमा कोरोना शंकास्पद ३८ जनाको स्वाब परीक्षण भएको छ । अहिलेसम्म कूल ६१ जनाको स्वाब संकलन भएकोमा ३८ जनाको परीक्षण भएको हो । परीक्षण भएका सबै ३८ जनाको रिपोर्ट निगेटिभ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनाएअनुसार स्वाब संकलन भएका मध्ये २३ जनाको रिपोर्ट आउन बाँकी छ । धनुषाका २० र सिरहाका ३ जना शंकास्पदको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । विहिबार स्वाब संकलन नभएको मन्त्रालयले जानकारी दिएको छ । यसअघि टेकु र धरानमा परीक्षण भएका ९८ जनामा शंकास्पदको रिपोर्टपनि निगेटिभ देखिएको थियो ।

प्रदेश २ मा अहिले महिला पुरुष गरी जम्मा ९ सय जनालाई क्वारेन्टाइनमा राखिएको छ । जसमध्ये महिला ५६ र पुरुष ८४४ जना रहेको जनाइएको छ ।

यसैगरी ५२ महिला तथा १ हजार ३१६ पुरुष गरी जम्मा १ हजार ३६८ जनालाई होमक्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ । धनुषा र बारामा ११/११ तथा पर्सामा ४ जना गरी जम्मा ३६ जना आइसोलेसनमा रहेका छन् ।

सप्तरीमा २३६, सिरहामा १३४, धनुषामा ९२, महोत्तरीमा ६७, सर्लाहीमा १२, रौतहटमा २२५, बारामा ६२ र पर्सामा ७२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय