गृह मन्त्रालयले भन्यो, ‘शुक्रबार र शनिबार राजधानीबाहिर जान दिने निर्णय भएको छैन’

हेल्थपोस्ट नेपाल

राजधानी छाेड्न चाहनेलाई शुक्रबार र शनिबार बाहिर जान दिने निर्णय नभएको गृह मन्त्रालयले जनाएको छ।

यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समिति बैठकले राजधानीमा रहेका नागरिकलाई जान दिने निर्णय गरेको भन्ने हल्ला मात्र रहेको गृह मन्त्रालयले जनाएको छ।

‘उच्चस्तरीय समितिको बैठक नै बसेको थिएन, रक्षा मन्त्रालय तथा केही मन्त्रीको हवाला दिँदै भएको प्रचार-प्रसारको सत्यता छैन,’ गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले भने। अगाडिको प्रचारमा राजधानीबाहिरबाट भने आउन दिइने छैन भनिएको थियो।

राजधानीबाहिर जानेलाई भने सरकारले गाडी स्कर्टिङ गरेर पठाउने वा के गर्ने भन्ने विषयमा उच्च तहमा छलफल भइरहेको भनिएको थियो। यसबारे गृह मन्त्रालयमा छलफल भए पनि उच्च अधिकारीहरू सकारात्मक नभएको भट्टराईले बताए।

‘मन्त्री तथा मन्त्रालयका अधिकारीबीच अनौपचारिक रूपमा केही गर्न सकिन्छ कि भन्नेबारेमा छलफल भएकै कुरा निर्णय भएको भनी प्रचारमा आएको हो,’ भट्टराईले भने। प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले उच्चस्तरीय समितिको बैठक बस्दै नबसेको बताए। ‘बैठक बसेकै छैन, कसरी यस्तो निर्णय भयो भनी प्रचार भयो अचम्ममा परियो,’ उनले भने।



Leave a Reply

Your email address will not be published. Required fields are marked *