डब्लुएचओले तोकेका स्वास्थ्य सामग्रीमात्र प्रयोग गर्न सिफारिस

हेल्थपाेस्ट
प्रकाशित
२०७६ चैत २७ गते १६:५६

नेपाल गुणस्तर परिषद्को उपसमितिले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेको स्वास्थ्य सामग्रीमात्र प्रयोग गर्न सुझाव दिएको छ।
समितिले कोरोना भाइरस नियन्त्रणका लागि तयार पारिएका व्यक्तिगत सामग्रीहरूको गुणस्तर परीक्षणको उपयुक्त विधि र प्रयोगशाला नेपालमा नभएको ठहर गर्दै संगठनले सिफारिस गरेका सामग्रीलाई नै प्रयोग गर्न सुझाव दिएको हो।
समिति सदस्य मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्ण अधिकारीले समितिले यस्तो सिफारिस गरेको बताए। प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धि निर्देशिका २०७४ बमोजिम अब तोकिएबमोजिमका सामग्रीको स्तर निर्धारण, उत्पादन, निकासी, पैठारी, वितरण र अनुगमन औषधी व्यवस्था विभागमार्फत गराउन सुझाव दिएको छ।
गुणस्तर परीक्षण नेपालभित्रै गर्न आवश्यक प्रयोगशाला, जनशक्ति र अनुगमन व्यवस्था मिलाउन समितिले सरकारलाई सिफारिस गरेको छ। उपसमितिले एकदेखि दुई महिनाभित्र व्यक्तिगत सुरक्षा सामग्रीलगायत प्रविधिजन्य स्वास्थ्य सामग्री नेपालमै जाँच गराउन गृहकार्यमा जुटेको बताएको छ।
२०७६ चैत १६ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टज्यूको अध्यक्षतामा बसेको बैठकले गुणस्तर तथा नापतौल विभागका महानिर्देशक, उपमहानिर्देशक, रजिष्ट्रार, स्वास्थ्य सेवा विभागका निर्देशक, राष्ट्रिय औषधी प्रयोगशालाका निर्देशक रहेको उपसमिति गठन गरेको थियो। समितिले व्यक्तिगत सुरक्षा सामग्रीहरूको न्यूनतम् गुणस्तर तथा परीक्षणमा सम्भावना तयार पारिएका वस्तुहरूको सूची बनाएको छ। जसमा हेभी ड्युटी एप्रोन, ग्लोब्स, एन-९५ मास्क, सेनिटाइजर लगायत छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय