‘हिम्मत राख्नुस्, नडराउनुस्, घरभित्रै बस्नुस् भन्नबाहेक के गर्न सकिन्छ र?

नेपालका नौजना कोरोना भाइरस संक्रमितमध्ये सुदूरपश्चिममा मात्रै चारजना भेटिएपछि यो प्रदेशलाई अतिसंवेदनशील क्षेत्रका रूपमा हेरिएको छ। तीमध्ये एकजना संक्रमितलाई विदेशबाट आएका संक्रमितबाट भाइरस सरेको पाइएको थियो।

चारैजनाको अहिले धनगढीमा उपचार भइरहेको छ। तर, सुदूपश्चिमका सबै जिल्लालाई एकदमै अलर्टमा राखिएको छ। क्वारेन्टाइन र लकडाउनलाई अझै कडा पारिएको प्रदेश सरकारले जनाएको छ।

सुदूरका सबैजसो जिल्लावासीका लागि रोजगारीको सजिलो गन्तव्य भनेकै भारत हो। अधिकांश सुदूरपश्चिमवासी भारत जान्छन्। भारतमा पनि कोरोनाको संक्रमण फैलिएपछि लाखौं नेपाली घर फर्किएका छन्।

उनीहरुका कारण पनि संक्रमणको जोखिम अझैं बढेको छ। भारतबाटै आएका दुईजनामा संक्रमण पुष्ट भएपछि त्रास अझैं बढेको छ।

धनगढीको गौरीफन्टा, महेन्द्रनगरको गड्डाचौकी, ब्रहमदेब, बैतडीको जुलाघाट, दार्चुलाको दार्चुला धारचुला नाकाबाट लाखौ सर्वसाधारण नेपाल भित्रिएका छन्।

लकडाउनले सबैभन्दा बढी प्रभावित भएका छन् नेपाल भारतको सिमाना दार्चुला- धारचुलामा रहेका स्थानीय तथा सर्वसाधारण। दार्चुलाको सीमा नाकामा करिब ६ सय सर्वसाधारण भारतीय भूमिमा क्वारेन्टाइन गिरएङ्का छन्। ति मध्ये कति त महाकाली नदी तरेर नेपाल आइसकेका छन्।

सहरी क्षेत्रमा प्रदेश सरकारको तयारी भएपनि दूरदराजका गाउँमा भने त्यस्तो छैन। त्यहाँ डाक्टर छैनन्। भएका अरु स्वास्थ्यकर्मीहरुका लागि पनि व्यक्त्तिगत सुरक्षा कवच (पिपिई)  छैन। कतै एकाध पिपिई छ भने कतै स्थानीय साधनकै प्रयेग गरिएको छ। कतै रेनकोट लगाएरै भएपनि स्वास्थ्यकर्मी खटिइरहेका छन्।

‘हाम्रो गाउँमा त के हुनु र। जोखिम त छ तर, न स्वास्थ्यकर्मीलाई पिपिई छ, न चेकजाँच न, ल्याव न केही’ दार्चुला नौगाढ गाउँपालिका अध्यक्ष प्रेमसिं धामी भन्छन् ‘गाउँलेलाई सचेत हुन भनिरहेका छौं। यही जनचेतनाका कामबाहेक अरु केही विकल्पै छैन।’

अध्यक्ष धामीका अनुसार सुरक्षाका लागि गाउँपालिकाले प्रत्येक व्यक्तिलाई मास्क दिएको छ। धामीले स्वास्थ्य सामग्रीको अभावले स्वास्थयकर्मी समेत अप्ठ्यारोमा परेको बताए।

‘अवस्था यस्तो छ। सामग्री छैन। चेकजाँच छैन’ उनले भने ‘यस्तो बेलामा आम जनता अनुशासित भएर घरभित्रै नबसिदिए रोकथाम गर्नै गाह्रो छ।’

गाउँपालिकाले भारत लगायत अन्य ठाउँबाट आएकाहरुका लागि विभिन्न स्थानमा क्वारेन्टाइनको बनाएको छ। क्वारेन्टाइनमा अहिले १७ जना रहेको अध्यक्ष धामीले बताए। गाउँपालिकाले दल्लेख, सिप्टी बिनायक,सुकाखोला,पनढुङगा,नागु र धुलिगाडामा क्वारेन्टाइन निर्माण गरी १७ जना क्वारेन्टाइनमा रहेको बताएको छ।

महामारीका बेला केन्द्र सरकार तथा प्रदेश सरकारले कुनै सहयोग नगरेको गुनासो उनको छ।

स्वास्थ्य सामग्रीको अभावले गर्दा स्वास्थ्यकर्मीलाई समेत गाह्रो भइरहेको उनले बताए। गाउँपालिकाको आफ्नै पहलमा काठमाडौंबाट स्वास्थ्य सामग्री मगाउने निर्णय गरेको धामीले जानकारी दिए।

गाउँपालिकामा ४ स्वास्थ्य चौकी र ९ सामुदायिक स्वास्थ्य इकाई छन्। स्वास्थ्य सामग्रीको अभावले गर्दा सर्वसाधारण आफैले मर्यादित अनुशासित भई लकडाउनको पालना गरी सरसफाइमा बिशेश ध्यान दिनुपर्ने धामी बताउँछन्।

गाउँपालिकाले बिपन्न गरिब तथा ज्याला मजदुरी गरी गुजरा चलाउनेहरुको तथ्यांक संकलन गरिरहेको र उनीहरुलाई केहि सहयोग गर्ने बताएको छ।

‘स्वास्थ्यकर्मीलाई नै जोखिम छ। पिपिई छैन। डाक्टर छैनन्। अहिले जनतालाई सचेत हुनुहेस् भनेका छौं। हामी आफैं पनि जनचेतना फैलाउनमै लागिपरेका छौं। योबाहेक अहिले हामीसँग अर्को विकल्प पनि छैन’ धामी भन्छन् ‘गाउँपालिकाका जनतालाई हिम्मत गर्नुस्, नडराउनुस् सरसफाइमा ध्यान दिनुस् भन्नु बाहेक केही गर्नसक्ने अवस्था छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय