जनकपुरधाम उपमहानगरले अझै बनाएन क्वारेन्टाइन

कोरोनाले महामारीको रूप लिइरहेको अवस्थामा संक्रमण रोकथाम गर्न प्रायः सबैजसो स्थानीय तहले आ–आफ्नो स्तरबाट क्वारेन्टाइन निर्माण गरिसकेका छन्। विदेश तथा भारतबाट आएकाहरूलाई राख्न सबै स्थानीय तहले क्वारेन्टाइन स्थापना गरेको हुन्।

तर, प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकाले ‘लकडाउन’ तेस्रो चरणमा पुगिसक्दा समेत क्वारेन्टाइन स्थापना गर्न सकेको छैन। धनुषाकै अन्य स्थानीय तहले क्वारेन्टाइन स्थापना गरिसके पनि सबैभन्दा बढी बजेट रहेको जनकपुरधाम उपमहानगरपालिकाले क्वारेन्टाइन बनाउन सकेको छैन। जनकपुरधामबाहेक धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले पनि हालसम्म क्वारेन्टाइन बनाएको छैन।

पहिलो चरणको ‘लकडाउन’ लागू भएलगत्तै जनकपुरधामका मेयर लालकिशोर साह, उपमेयर रीताकुमारी मिश्रलगायत उपमहानगरपालिकाका पदाधिकारीहररू वडा नम्बर १४ स्थित मणिपाल कलेजको प्रयोगविहीन भवनमा क्वरेन्टाइन बनाइने भन्दै निरीक्षण गरेका थिए।

भवन निरीक्षणपछि मेयर साहले त्यहाँ केही दिनभित्रै क्वारेन्टाइन बनाइने बताएका थिए। तर, तेस्रो चरणको ‘लकडाउन’ भइसक्दा समेत उपमहानगरले त्यहाँ क्वारेन्टाइन बनाएको छैन।

उपमहानगरले क्वारेन्टाइन बनाउन नसकेपछि एकजना वडाध्यक्षले आफ्नै पहलमा जनकपुरमा क्वारेन्टाइन स्थापना गरेका हुन्। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले ८ वेडको क्वारेन्टाइन बनाएका हुन्। साहले वडामा रहेको रामजानकी प्राथमिक विद्यालयमा क्वारेन्टाइन स्थापना गरेका छन्।

क्वारेन्टाइन स्थापना गरेपनि चेकजाँच उपकरण र सुरक्षा सामग्रीको अभाव रहेको भन्दै वडाध्यक्ष साहले त्यसलाई पूरा गर्न प्रदेश सरकारलाई पत्राचार गरेर माग गर्ने बताए। कोरोना सन्त्रास बढीरहेको बेला वडाभित्र आएका शंकास्पद व्यक्तिलाई राख्ने उद्देश्यले क्वारेन्टाइन बनाएको साहको भनाइ छ।

प्रदेशकै मुकामसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकाले क्वारेन्टाइन नबनाएपछि सामाजिक सञ्जालका साथै नगरवासीहरुको तर्फबाट आलोचना भइरहेको छ।

उपप्रमुख झाले चाहेरपनि उपमहानगरपालिकाले क्वारेन्टाइन बनाउन नसकेको बताउँछिन्। उनले क्वारेन्टाइन बनाउन प्रयास गरेपनि स्थानीयवासीको विरोध भएपछि बन्न नसकेको बताइन्। ‘हामीले मणिपालको निर्माणाधीन भवन, बसहियालगायतको स्थानमा क्वारेन्टाइन बनाउन चाहेका थियौं। तर, क्वारेन्टाइन निर्माणको विरोध भयो, त्यसैले बन्न नसकेको हो,’ उपप्रमुख झाले भनिन्।

धनुषाको नगराईन नगरपालिका–५ गंगुलीमा प्रदेश स्वास्थ्य निर्देशनालयले ७५ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ भने ३२ बेड क्षमताको आइसोलेसन वार्ड बनाउने तयारी गरेको छ।

यसैगरी धनुषाधाम नगरपालिकाले ३८, गणेशमान चारनाथ नगरपालिकाले २४, सबैला नगरपालिकाले २५, मिथिला नगरपालिकाले १०, क्षिरेश्वरनाथ नगरपालिकाले ११ र विदेह नगरपालिकाले २५ वेडको क्वारेन्टाइन तयार गरिसकेको छ।

शहीदनगर नगरपालिकाले ३०, कमला नगरपालिकाले १५, मिथिला बिहारी नगरपालिकाले ७, हंसपुर नगरपालिकाले ११, जनकनन्दनी गाउँपालिकाले २०, बटेश्वर नगरपालिकाले २५, धनौजी गाउँपालिकाले १४, औरही गाउँपालिकाले १६ र लक्ष्मिनिया गाउँपालिकाले ७ बेड क्षमताको क्वारेन्टाइन तयार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय