बिरामी कुरुवामाथि प्रहरीको दुर्व्यवहार

हेल्थपाेस्ट/जनकपुरधाम
प्रकाशित
२०७६ चैत २६ गते १७:४८

विश्वभर कोरोना महामारीको रुप लिइरहँदा अधिकांश चिकित्सकहरूले बिरामी जाँच्न आनाकानी गरिरहेको गुनासाहरू आइरहेका छन्। कोरोनाको त्रासले निजी चिकित्सकहरू निजी क्लिनिकमा बस्न छोडिसकेका छन्। सरकारी अस्पतालहरूले पनि परेकोबेला सेवा दिन नसकेपछि पीडित बिरामीहरू थप समस्यामा परिरहेका छन्।

यस्तै समस्या भोग्नु परेको छ जनकपुरधाम उपमहानगरपालिका– २ बस्ने निलकमल ठाकुरले। २१ वर्षीया श्रीमती लक्ष्मी ठाकुरलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पुगेका निलकमललाई प्रहरीको दुव्र्यवहार खेप्नु परेको छ। उच्च ज्वरोले सिकिस्त बनेकी श्रीमतीको उपचार गराउन प्रादेशिक अस्पताल जनकपुर पुगेका उनलाई प्रहरीले लातीले हिर्काएर दुव्र्यहार गरेका छन्।

मंगलबार राति अचानक ज्वरो आएपछि निलकमल श्रीमतीलाई उपचार गराउन बुधबार अपरान्ह प्रादेशिक अस्पताल जनकपुर पुगेका थिए। उच्च ज्वारोका कारण अचेतझैं बनेकी श्रीमतीलाई नजिकको एक औषधि पसलमा राखेर सोधपुछ गर्न उनी प्रादेशिक अस्पतालको आकस्मिक कक्ष पुगे। तर, त्यहाँ निलकममले प्रहरीको दुव्र्यवहार भोग्नु पर्‍यो।

आकस्मिक कक्षअगाडी उभिएका एकजनालाई ‘दाइ दाइ’ भनेर उपचार कहाँ हुन्छ भनेर सोध्न खोजे। तर, ती व्यक्तिले कुनै जबाफ नदिएर निलकमललाई लातिले हिर्काए। ती व्यक्तिले लातिले हिर्काएपछि अक्कबक्क बनेका निलकमल त्यहाँबाट चुपचाप हिँडे।

लातिले हिर्काउने व्यक्तिबारे उनले सोधपुछ नगरी बिरामी श्रीमतीलाई नजिकै रहेको डा.विजय सिंहको क्लिनिकमा लगे। तर, त्यहाँपनि श्रीमतीको उपचार भएन्। डा.सिंह अन्य बिरामीहरूको उपचार गरेर क्लिनिकबाट गइसकेका रहेछन्। ‘डाक्टरसाहेब बिरामीहरूको उपचार गरेर गइसक्नु भएको छ, अब भोलिमात्रै उपचार हुन्छ, क्लिनिकको कर्मचारीहरूले भन्नु भयो,’ निलकमलले बताए।

‘मैले आकस्मिक कक्ष नजिकै एकजना मानिस उभेको देखेपछि बिरामीको जाँच कहाँ हुन्छ भनेर सोध्न खोजे, तर उहाँले मलाई लातीले हिर्काउनु भयो,’ निलकमलले भने। ‘उहाँ को हुनुहुन्छ मलाई थाहा थिएन्, आकस्मिक कक्षअगाडी उभेको देखेरमात्र सोधेको थिएँ,’ उनी भन्छन्,‘अस्पतालमा यस्तो व्यवहार भएपछि म त्यहाँबाट फर्कें।’

अस्पताल र निजी क्लिनिक दुबै ठाउँमा उपचार हुन नसकेपछि औषधि व्यवसायीले लक्ष्मीलाई ज्वरो कम हुने औषधि दिए। औषधि व्यवसायीले दिएको औषधि खाएपछि लक्ष्मीको ज्वरो कम भएको निलमकमले बताए।

निलकमललाई प्रादेशिक अस्पतालको आकस्मिक कक्ष नजिकै लातीले हिर्काउने व्यक्ति प्रहरी जवान आलोककुमार सिंह हुन्। प्रहरी जवान सिंहले निलकमललाई लातीले हिर्काएको स्वीकारसमेत गरेका छन्।

‘म अरु नै काममा व्यस्त थिएँ, उनी नजिक आएर म सँग कुरा गर्न खोजि रहेका थिए, आवेशमा आएर मैले लातीले हिर्काएँ,’ आकस्मिक कक्षमा बसिरहेका प्रहरी जवान सिंहले भने। लातले हिर्काएर आफूले ठूलो गल्ती गरेको सिंह बताउँछन्। ‘मैले त्यसो नगर्नु पर्ने हो, म बाट गल्ति भएको छ, म स्वीकार गर्दछु,’ प्रहरी जवान सिंहले बताए।

निलकमल बिरामी उपचारबारे आफूसँग सोध्न खोजेको बुझ्न नसकेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय