नेपाल प्रवेश गर्नेलाई चोरबाटो खुला, मन्त्री भन्छन्- एक हजार सुरक्षाकर्मी थपिएको छ

कोरोना संक्रमणले विश्वभर महामारीको रुप लिइरहँदा नेपाललाई पनि ‘लकडाउन’ गरिएको छ। कोरोना संक्रमणको सम्भावित खतरालाई मध्यनजर गरी सरकारले सोमबार तेस्रो चरणमा सात दिन थप्दै ‘लकडाउन’ लम्ब्याएको छ।

यसअघि मुख्य नाका खुल्ला राखेपनि अन्य सम्पूर्ण नाकाहरू सम्बन्धित जिल्लाका स्थानीय प्रशासनहरूले बन्द गरेको थियो। तर, ‘लकडाउन’ लागु भएलगत्तै नेपाल तथा भारत सरकारले आ–आफ्नो नाका पूर्णरुपले बन्द गरेको छ।

केही मुख्य नाकाहरूबाट खाद्यान्न, औषधि, पेट्रोलियम पदार्थलगायतका अत्यावश्यक वस्तुहरू आयात भइरहेपनि अन्य सवारी साधन तथा मानिसहरूको आवतजावतमा पूर्ण रुपले रोक लगाइएको छ। मुख्य नाका बन्द रहेपनि भारतबाट नेपालतर्फ प्रवेश गर्ने क्रम भने रोकिएको छैन्। खुल्ला सीमाको फाइदा उठाउँदै कतिपय मानिसहरू ‘लकडाउन’ को अवधिमा चोरबाटो भएर नेपाल प्रवेश गरेका छन्।

धनुषास्थित नगराईन नगरपालिकाको जटही नाका भारत बिहारसँग जोडिएको छ। भारतबाट धनुषासम्म पुग्न जटही मुख्य नाका हो। नाकालाई ढाटले घेरिएको छ। सुरक्षाकर्मीहरूपनि हरसमय तैनाथ हुन्छन, त्यहाँ।

तर, दुई दिनअघि नगराईन नगरपालिकाको नगराईनबाट दुईजना भारतीयलाई स्थानीयले नियन्त्रणमा लिए। नगराईन चोकबाट स्थानीयहरूले नियन्त्रणमा लिएका उनीहरू मध्ये एकजना उत्तर प्रदेश र अर्का एकजना आफू पश्चिम बंगालबाट आएको बताए। कोरोना संक्रमणबाट भारत आक्रान्त भइरहेको अवस्थामा भारतीय नागरिक देखेपछि स्थानीयले दुबै जनालाई नजिकै रहेको गंगुली क्वारेन्टाइन पुर्‍याए।

नेपाल–भारत दुबै तर्फ ‘लकडाउन’ का साथै नाकापनि बन्द रहेको अवस्थामा ती दुईजना भारतीय कसरी नेपाल प्रवेश गरे नगराईनका स्थानीयवासीहरूको प्रश्न छ। आफूहरूले दुईजनालाई समातेपनि लुकिछुपि अरुपनि आएको हुनसक्ने नगराईनका संजय कर्णले बताए।

धनुषाको जटही प्रतिनिधि उदाहरणमात्र हो। प्रदेश २ को अन्य जिल्लाहरूमा पनि चोरबाटो प्रयोग गरेर दिनहुँ नेपालतर्फ मानिसहरू प्रवेश गरिरहेको गुनासो आइरहेको छ। प्रदेशको सप्तरीदेखि पर्सासम्मका विभिन्न नाकाहरूबाट चोरबाटो प्रयोग गरेर नेपालतर्फको प्रवेश रुक्न सकेको छैन्।

सुरक्षा निकायले मुख्य नाकामा कडाइ गरेपनि चोरबाटो भएर दक्षिणबाट मानिसहरू नेपाल प्रवेश गरिरहेका छन्। भारतमा कोरोना संक्रमण भयावह रुप लिइरहँदा भारतततर्फबाट प्रवेश नरुकेपछि सर्वसाधारणहरू त्रसित बनेका छन्।

मुख्य नाकामा सुरक्षाकर्मीले कडाइ गरेपनि राति अन्ध्यारोको मौका छोपेर भारतबाट कतिपय मानिस नेपाल छिर्ने गरेको सीमा क्षेत्रका स्थानीयहरू बताउँछन्। मुख्य नाकामा कडाइ रहेको थाहा पाएपछि दुबैतर्फका सुरक्षाकर्मीलाई छलेर खोला तथा खेतहुँदै चोरबाटो प्रयोग गरेर नेपाल छिर्ने गरेको स्थानीयहरूको भनाइ छ। अधिकांश समय सुरक्षाकर्मीहरू पनि मुख्य नाकामै केन्द्रित रहेकोले भारतबाट आउनेहरू चोरबाटो प्रयोग गर्ने मौका पाएको त्यस क्षेत्रका स्थानीयहरू बताउँछन्।

कोरोना रोकथाम गर्ने उद्देश्यले नाका सील भएको अवस्थामा अवैध प्रवेश बढेपछि नाकामा थप कडाइ गरिएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव बताउँछन्।

‘लकडाउनपछि लुकिछिपी आउनेको संख्या बढेको हामीलाई पनि सूचना आएको छ, हामी यस्ता गतिविधि रोक्न लागि परेका छौं,’ मन्त्री यादवले भने,‘लुकिछिपी आउने क्रमलाई न्यूनिकरण गर्न नाका क्षेत्रमा थप सुरक्षाबल पठाइएको छ।’

प्रदेशमा जनशक्ति कम भएपछि संघीय गृहमन्त्रालयसँग माग गरेर नाकाहरूमा सशस्त्र प्रहरीबल थप गरिएको उनले बताए। मन्त्री यादवका अनुसार नाकाहरूमा करिब एक हजार थप सशस्त्र प्रहरी परिचालन गरिएको छ। यसअघि अधिकांश समय मुख्य नाकामा मात्र केन्द्रित रहने सशस्त्र प्रहरी अहिले एकदेखि डेढ किलोमिटरको दूरीमा खटाइएको मन्त्री यादवको भनाइ छ। चोरबाटो भएर हुने प्रवेश रोक्न २४ औं घण्टा खटिने गरी सशस्त्र प्रहरीहरू नाकामा परिचालन गरिएको भन्दै उनले अब यस्ता गतिविधि नहुने विश्वास व्यक्त गरेका छन्।

भारतबाट आउनेको छैन यकिन तथ्यांक

कोरोना संक्रमण फैलिएयता भारतबाट आउनेको यकिन तथ्यांक हालसम्म कुनै निकायसँग छैन्। यद्यपि धनुषाका प्रमुख जिल्ला अधिकारी निरौलाले ‘लकडाउन’ लागु भएयता उताबाट सातसयको हाराहारीमा मानिसहरू धनुषा आएको बताए। अन्यबारे खोजी भइरहेको उनले जानकारी दिएका छन्।

यसैगरी प्रदेश स्वास्थ्य निर्देशनालयसँग पनि भारतबाट आउनेहरूको तथ्यांक छैन्। निर्देशनालयका वरिष्ठ स्वास्थ्य अधिकृत विजय झाले आफूहरूसँग हालसम्म त्यस्ता व्यक्तिहरूको कुनै तथ्यांक नरहेको बताएका छन्।

यता प्रदेश प्रहरी कार्यालयले पनि विदेशबाट आउनेहरूको तथ्यांक रहेपनि भारतबाट आउनेको कुनै तथ्यांक नरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय