कसरी भएको हाेला कोरोना भाइरसको उत्पत्ति?

विश्वलाई नै यतिबेला आक्रान्त बनाइराखेको कोरोना भाइरसको उत्पत्ति सम्बन्धी तथ्यपरक ज्ञानको शून्यता छ। काल्पनिकदेखि शंकास्पद हुँदै विश्वसनीयसम्मको सबै खाले उत्पत्तिको सिद्धान्त निर्माणको लागि यसले उर्बर मैदान तयार गरेको छ।

यो भाइरस चीनले तयार गरेको जैविक हतियार हो। यसलाई अमेरिकी सेनाले उहानमा ल्याएका थिए। दुर्घटनावश: यस भाइरस बोटलबाट जिनी निस्केजस्तै प्रयोगशालाबाट निस्किएको हो। यसको स्रोत उहानस्थित पशु बजार हो लगायत लगायतका दाबीहरू कोराना भाइरसको उत्पत्तिको सवालमा बाहिरिरहेका छन्।

राष्ट्रवादी धरातलद्वारा अभिप्रेरित षड्यन्त्रको सिद्धान्तलाई वैज्ञानिकहरूले एकै भई निन्दा गरे तापनि उहानस्थित जंगली जनावरलाई खोरमा राखी घरपालुवा जनावर वा मासुको निम्ति बेचबिखन गरिने बजार (जसलाई सुरूमा सबैले यस भाइरसको उत्पत्तिको थलो मानेका थिए)बारे भने उनीहरू विभाजित छन्। सबैभन्दा पहिले चमेरोद्वारा घस्रेर हिँड्ने छेपारोजस्तै जीव, पेङ्गोलिन र सोपश्चात् मानिसमा यस भाइरसको संक्रमण भएको विश्वास गरिएको थियो।

तथापि, यस भाइरसको संक्रमणको सुरुवात कसरी भयो भन्ने तथ्य अझै स्पष्ट भइसकेको छैन। यस विषयमा अमेरिकी सञ्चार संस्था सिएनएनले आधा दर्शनभन्दा बढी भाइरसविज्ञसँग कुराकानी गरेको थियो। सो क्रमका सबै विज्ञबाट आएको जवाफ उनीहरूको व्यक्तिगत अन्दाज (जुन वैज्ञानिक रुपमा पुष्टि भएको छैन) मा आधारित रहेका छन्। विभिन्न अफवाहहरूले दाबी गरेको जस्तो चीन वा अमेरिकी सरकारले नियोजित रुपमा यस भाइरसलाई मानव संसारमा प्रवेश गराएको भन्नेबारेमा शून्य प्रमाण रहेको उनीहरू सबैको एकमत रहेको छ।

आजसम्म अत्यधिक सम्भावना बोकेको कोरोना भाइरसको सबैभन्दा पहिलो स्रोत भनेको चमेरो नै हो।

उहानको पशु बजारसम्बन्धी सिद्धान्तबारे वैज्ञानिकहरू विभाजित

उहानस्थित जंगली जनावरको बजार आजसम्म देखिएको सबैभन्दा सजिलो, स्पष्ट र सम्भाव्य व्याख्या भएको कोलम्बिया युनिभर्सिटी स्कुल अफ पब्लिक हेल्थका प्राद्यापक र जनावरद्वारा सञ्चार भएर महामारीसम्मको स्वरुप लिने सम्भावना बोक्ने भाइरसहरुको अध्ययन गर्ने संस्था प्रेडिक्टको एक प्रमुख सदस्य डाक्टर सिमोन एन्थोनी बताउँछन्। प्रेडिक्टले एक दशकको अवधिभित्र १८० भन्दा बढी कोरोना भाइरस पत्ता लगाइसकेको छ।

जैविक हतियारसम्बन्धी षड्यन्त्र सिद्धान्तलाई अस्वीकार गरेका वैज्ञानिकहरू अन्य प्रश्नको सवालमा भने दुई ध्रुवमा बाँडिएका छन्। एक समयमा बृहत् रुपमा उहानको जंगली जनावरको बजारसँग जोडिएको सिद्धान्तबारे उनीहरूको राय पनि बाझिएको छ।

त्यसो त यस सिद्धान्तको प्रवर्तकहरूले अव्यवस्थित रुपमा सञ्चालित सो बजारमा मानिसहरूको निरन्तर घुइँचो भइरहँदा उनीहरू बेच्न राखिएको वा मासुको लागि काट्न तयार जंगली जनावरूसँगको प्रत्यक्ष सम्पर्कको कारण मानिसमा भाइरसको सञ्चार भएको दाबी गरेका छन्। तर,  पनि सो सिद्धान्तबिरोधीहरूले भने सुरू–सुरूमा पहिचान भएका संक्रमितहरूको सो बजारसँग कुनै प्रत्यक्ष सम्बन्ध र सम्पर्क नदेखिएकोले सो सिद्धान्तको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्।

फ्रेब्रुअरी महिनाको सुरुवाती दिनहरूमा दुईजना चिनियाँ अनुसन्धानकर्ताहरूले पहिलो पटक उजागर गरेर मार्च ३१ तारिखका दिन फक्स न्युजको कार्यक्रम प्रस्तोता टकर कार्लसनले व्यापक रुपमा प्रचार गरेको अर्को सम्भाव्य सिद्धान्त अनुसार उहानको सोही जनावर बजार नजिकैको चमेरोमाथि अनुसन्धान गरिरहेको दुईमध्ये एक वैज्ञानिक प्रयोगशालाबाट दुर्घटनावश: सो भाइरस बाहिरिएको हो।

तर, समर्थनका लागि प्रमाणको कमी भएको भन्दै यस सिद्धान्तको प्रवर्तकहरूले नै सो दाबीलाई फिर्ता लिएका थिए भने विज्ञहरूले पनि यस सिद्धान्तलाई अवैधानिक ठहर्‍याइसकेका छन्।

त्यसो त यस सिद्धान्तलाई चिनियाँ सरकार र दुईमध्येको एक प्रयोगशालाले कठोर रुपमा अस्वीकृत पनि गरेको थियो।

तर, रुट गर्स विश्वविद्यालयका रसायन–जैविकशास्त्रका प्राद्यापक एवम् जैविक हतियारविज्ञ रिचर्ड इबराइटले विभिन्न मिडियाहरूमा यस प्रयोगशाला दुर्घटनाको सिद्धान्त विश्वसनीय तथा स्वीकार्य भएको जानकारी दिएका छन्।

‘प्रयोगशालाबाट दुर्घटनावश: मानिसको शरीरमा यस भाइरसले प्रवेश गरेको सम्भावनालाई नकार्न मिल्दैन र सकिँदैन पनि,’ उनले सिएनएनलाई गत आइतबार भनेका छन्।

चमेरोतर्फ केन्द्रित इसारा

जे-जस्तो भए पनि जनावरबाट मानिसमा कोरोना भाइरसको प्रवेशलाई अनुसन्धानकर्ताहरूले ‘जोनोटिक स्पिलओभर’ को घटना भएको स्वीकारेका छन्।

फेब्रुअरी महिनाको पहिलो साता नेचर नामक विज्ञानसम्बन्धी एक प्रमुख जर्नलमा छापिएको एउटा लेखमा चीनका अनुसन्धानकर्ताहरूले ‘मानिसमा संक्रमण भएको कोभिड–१९ कोरोना भाइरस चमेरोमा पाइने कोरोना भाइरससँग ९६ प्रतिशतले समान’ भएको निष्कर्ष निकालेका थिए।

सोही महिनाको अन्त्यतिर अमेरिका तथा अन्य विभिन्न देशका २७ जना जनस्वास्थ्य वैज्ञानिकहरूले ल्यान्सेट जर्नलमा एक संयुक्त पत्र लेखी जंगली जनावरबाट कोरोना भाइरसको सञ्चारसम्बन्धी सिद्धान्तलाई वैज्ञानिक प्रमाणद्वारा स्थापित गर्न सकिने भन्दै अन्य विविध खाले षड्यन्त्र सिद्धान्तहरूको निन्दा गरेका थिए।

‘षड्यन्त्र सिद्धान्तहरुले अरु केही नभई त्रास, विभेद तथा अफवाहलगायत सिर्जना गर्दछ, जसले यस भाइरसविरूद्धको लडाइँमा आवश्यक विश्वव्यापी समझदरी, समन्वय र सहकार्यलाई बिथोल्दछ,’ सो पत्रमा उल्लेख गरिएको छ।

‘हामी यसमा पूर्णरुपमा ढुक्क छौं कि कोभिड–१९ को मुख्य स्रोत चमेरो नै हो,’ पत्र लेख्ने २७ जना जनस्वास्थ्य वैज्ञानिकहरूमध्येका एक तथा भाइरसविज्ञ पिटर डास्जाकले दाबी गरेका छन्।

‘हामीलाई अझै यो चाहिँ थाहा छैन कि कुन स्थानमा र चमेरोको ठ्याक्कै कुन चाहिँ प्रजातिमा यस भाइरसको उत्पत्ति भएको हो र हामीलाई यो पनि थाहा छैन कि भविष्यमा पनि यस भाइरसको संक्रमण गराउन सक्ने अन्य कतिवटा यस्ता चमेरोहरू छन्,’ उनी अगाडि बताउँछन्।

भाइरस चमेरोबाट पहिला मानिसमा सर्‍यो वा अन्य जनावरमा?

अनुसन्धानकर्ताहरूले दसौं हजार मानिसको मृत्युको कारण भइसकेको भाइरसको उत्पत्तिदेखि लिएर जंगलबाट हालसम्म समात्न नसकिएको चमेरोसम्मको पहिचान गर्ने आशा लिएका छन्।

तर, सोभन्दा अघिको विवादको विषय भनेको कोभिड–१९ चमेरोबाट सिधै मानिसमा सरेको थियो कि चमेरोबाट अन्य जनावर हुँदै मानिसमा प्रवेश गरेको थियो भन्ने हो।

चमेरोद्वारा भाइरस संक्रमित अन्य कुनै जनावरलाई बिक्रीको लागि उहानको जनावर बिक्री बजारमा ल्याएर कैयौं दिनसम्म राख्दा सोद्वारा मानिसमा सरेको डास्जाकले विश्वास लिएका छन्।

‘चीनको पशु बजारमा यदि तपाईं पहिलो पटक जानुभयो भने भयग्रस्त हुनुहुन्छ। जब तपाईंले लापरबाही तरिकाले एक खोरमाथि अर्को खोरहरूको चाङमा जनावरहरू राखेको र सोही स्थानमा निस्फिक्री मानिसहरूको घुइँचो देख्नुहुन्छ,’  उनले भनेका छन्, ‘पसलहरु पार गर्दै अझ अगाडि बढ्नुभयो भने तपाईं जनावरको रगत र दिशापिसाबमा चिप्लन पनि सक्नुहुन्छ। भाइरसको सञ्चार एवम् विस्तारको लागि यो उत्कृष्ट स्थान हो जहाँ मानिसहरूले काम मात्र गरिरहेका हुँदैनन्, अझ बालबालिकाहरू पनि रमाएर खेलिरहेका हुन्छन्।’

जोलोजिकल सोसाइटी अफ लण्डनका प्रोफेसर एन्ड्रियू कुनिङहामका अनुसार जंगलबाट समातेर ठूलो संख्यामा बजारमा ल्याएर मानिसको प्रत्यक्ष सम्पर्कमा राख्दा जंगली जनावरहरुमा उत्पन्न तनावका कारण तिनीहरू भाइरसको कारखाना बन्छन्।

तर, सुरू-सुरूमा पहिचान भएका ४१ जना संक्रमितहरूमध्ये एकतिहाई बिरामीहरूको सो बजारसँग प्रत्यक्ष सम्पर्क नभएकाले यस सिद्धान्तलाई कतिले अविश्वासको नजरले हेरेका छन्।

चमेराको गोबरसँग जोडिएको अको सिद्धान्त

कोलम्बिया विश्वविद्यालयका प्राद्यापक भिसेन्ट रासानेलोले भाइरसको स्रोत चमेरोको गोबर र सोको बाहक किसान भएको थप अर्को सिद्धान्त प्रस्ताव गरेका छन्।

‘चमेरोमा यो भाइरसको उसको आन्द्रामा रहेको हुन्छ जुन गोबरद्वारा बाहिर निस्कन्छ,’ उनले भनेका छन्, ‘कति देशमा किसानहरूले आफ्नो फसल बृद्धि गर्न चमेरोको गोबरको प्रयोग गर्ने हुँदा सोही गोबरमार्फत कोरोना भाइरस मानिसमा संक्रमण भएको हुनुपर्छ।’

उनको सिद्धान्त अनुसार संक्रमित किसान वा सहयोगीले उहानमा वा त्यहाँको पशुबजारमा गई अन्यलाई संक्रमित गराएका हुन्।

त्यसो त सन् २००३ को सार्स भाइरस पनि चमेरोबाट बिरालोको एक प्रजातिमार्फत चीनको खाद्य बजारमा एक जना मानिसमा संक्रमित भएको मानिएको छ।

अनुवादित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय