विपन्‍न वर्गलाइ राहत बाँड्दै चितवनका स्थानीय तह

हेल्थपोस्ट नेपाल

चितवनका स्थानीय तहले लकडाउनका समयमा समस्यामा परेका गरिब तथा विपन्नहरूलाई राहत वितरण गर्न सक्रियता देखिएका छन्। कोरोना भाइरसको संभावित जोखिम न्यूनीकरणका लागि जिल्लाका स्थानीय तह ‘राहत कोष’ नै स्थापना गरेर राहत वितरणमा लागेका हुन्।

७ स्थानीय तहमध्ये १ स्थानीय तहले पहिलो चरणको राहत वितरण गरिसकेको छ। २ स्थानीय तहले तथ्यांक लिने काम गर्दैछन्। ४ स्थानीय तहले वडाभित्रका टोल विकास संस्थासँग समन्वय गरेर राहत वितरणको काम गर्दै आएका छन्।

अहिलेसम्म जिल्लाका दुई स्थानीय तह बाहेक अन्यले एक करोड ९३ लाख रुपैयाँको ‘राहत कोष’ खडा गरेको छन्। कालिका नगरपालिका बाहेक ६ स्थानीय तहमा राहत लिने व्यक्तिको लगत संकलनसमेत गरिसकिएको छ।

भरतपुर महानगरपालिका, खैहरनी, माडी, रत्ननगर, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकामा गरि अहिलेसम्म ३० हजार १ सय ५४ घरधुरी राहतका लागि सुचिकृत भैकेका छन्। त्यसमध्ये १४ हजार ५ सय ५४ घरधुरीले राहत लिएको स्थानीय तहरूले बताएका छन्। जिल्लाको कालिका नगरपालिकाले भने तथ्याङ्क लिँदै छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ११ गतेदेखि बैशाख ३ गतेसम्म लकडाउन गरी आवतजावतमा बन्देज लगाएको छ। दैनिक ज्यालादरी गर्ने, घरजग्गा नभएका, आम्दानीको अन्य स्रोत केही नभएका विपन्न समुदायलाई स्थानीय सरकारले केही दिनलाई पुग्ने खाद्यान्न उपलब्ध गराएका छन्।

भरतपुर महानगरपालिकाले १५ हजार ६ सय २५ घरधुरीमा राहत बाड्ने योजना बनाएको छ। महानगरमा २९ वडा छन्। महानगरका प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार १० हजार परिवारलाई राहत वितरण गरिसकिएको छ। उनका अनुसार १३ वटा वडामा राहत वितरणका काम सकिएको छ। भने, बाँकी १० वडाहरूमा सूचिकृत अधिकाँस घरमा राहत बाँडिएको छ। जोशीले महानगर क्षेत्रमा करिब ७० लाख बराबरको राहत बाँडिने बताए।

‘जग्गा नभएका, अँधिया समेत नकमाएका, ज्यालादारी काम गर्ने, आयस्रोत केही नभएका अति विपन्न परिवारलाईमौत्र राहतमा समेटेका छौँ’, उनले भने, ‘टोलबाटै छानविन भएपछि मात्रै राहत दिने काम भएको छ।’

पूर्वि चितवनको खैरहनी नगरपालिकाले पनि राहत वितरणको पहिलो चरणको काम सकिसकेको छ। मेयर लालमणी चौधरीका अनुसार ३ हजार ६५९ घरधुरीमा राहत बाँडिएको छ। ४ जना वा सोभन्दा कम सदस्य भएका परिवारलाई १० केजी र ४ भन्दा बढी सदस्य भएका परिवारलाई १५ केजी चामल सहित दाल, नुन १–१ केजी र १ लिटर खाने तेल उपलब्ध गराइएको थियो।

माडी नगरपालिकाले १२ सय घरमा राहत बाँड्ने योजना बनाएको छ। माडीमा ९ वडा छन्। माडी नगरपालिकाका सूचना अधिकारी प्रविण भण्डारीले ९ सय घरलाई राहत बाँडिसकेको बताए। ‘बाँदरझुलामा मात्रै २ सय ५५ घरलाई राहत बाँडियो’, उनले भने, ‘वडाध्यक्षकै सिफारिस र मेयरले प्रमाणित गरेपछि ती घरलाई राहत दिएका छौँ।’ उनका अनुसार अति विपन्न परिवारलाईमात्रै राहत दिइएको बताए।

पहाडी भूभाग बढी भएको इच्छाकामना गाउँपालिकाले १ हजार ४ सय ७० घरधुरीलाई राहत बाड्ने योजना बनाएको छ। गाउँपालिकामा ७ वडा छन्। ‘माग बढी भएपनि अतिआवश्यक ठानिएका परिवारलाई पहिलो चरणमा बाँड्दै छौँ’, गाउँपालिकाका अध्यक्ष गीता गुरुङले भनिन्, ‘हालसम्म ८ सयलाई वितरण गर्‍यौँ, अरु एक दुई दिनमा बाँडिसक्नेछौँ।’

कालिका र रत्ननगर नगरपालिकाले राहत वितरण सुरु गरेका छैनन्। उनीहरू तथ्यांक लिने काममै छन्। कालिका नगरपालिका मेयर खुमनारायण श्रेष्ठले घरधुरी छनौट गरेपछि मात्रै राहत वितरणको काम थालनी गरिने बताए। कालिकामा ११ वडा छन्। ‘सबैलाई भन्दा पनि आवश्यकलाई राहत दिनुपर्छ भन्ने मान्यतामा छौँ’, उनले भने, ‘अति समस्यामा परेकालाई पहिले सम्बोधन हुनेछ, अहिल्यै त्यस्तो गुनासो आइपुगेको छैन।’

रत्ननगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टुबराज पोखरेलले ४ हजार २ सय घरधुरीमा राहतका लागि सिफारिस आएपनि संसोधनको तयारीमा रहेको बताए। ‘केही सामाजिक संघसंस्थाले समन्वय गरि राहत बाँडेका छन्’, उनले भने, ‘वडातहबाट राहत बाँड्न हामी हतारमा छैनौँ।’ उनले हरेक वडालाई ३ लाख बराबर छुट्टाउदा १६ वडाका लागि ४८ लाख आवश्यक पर्ने बताए।

राप्ती नगरपालिकाले ४ हजार घरमा राहत बाँड्ने योजना बनाएको छ। ‘मंगलबार ४ वटा वडाबाट राहत वितरणको काम सुरु गरेका छौँ’, मेयर प्रभा बरालले भनिन्, ‘टोल तहबाटै भीड नहुने गरी राहत बाँड्दै छौँ।’ उनले राहत वितरणका लागि करिब ४५ लाख लाग्ने अनुमान गरिएको बताइन्।

राहतका लागि चन्दा उठाए कारबाही

जिल्ला प्रशासन कार्यालय चितवनले राहतका नाममा चन्दा उठाएको पाइए कारवाही हुने जनाएको छ। असहाय व्यक्तिलाई सहयोग गर्ने नाममा चन्दा संकलन गर्ने, आफू खुशी राहत बाडेमा कारबाही गरिने सार्वजनिक सूचना जारी गरेको छ।

जनप्रतिनिधि मार्फत राहत वितरणको काम गर्न सुझाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले राहत वितरण गर्दा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने गरी भीडभाड नगर्न सुझाए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *