थर्मल गन कालाेबजारी : सुलभ अग्रवाललाई सात दिन थुनामा राख्न काठमाडौं प्रशासनको अनुमति

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७६ चैत २६ गते १३:२६

शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न प्रशासनले प्रहरीलाई अनुमति दिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कालोबजारी ऐन अन्तर्गतको कसुरमा बुधबार हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएका हुन्।

‘कालोबजारी ऐन अन्तर्गतको मुद्दामा कारबाही गर्नका लागि सात दिनको समय दिइएको छ,’ दाहालले भने। महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार अग्रवाललाई थुनामा राख्न अनुमति माग्दै प्रशासन लगेको थियो।

अग्रवाललाई कालोबजारीको आरोपमा महानरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको थियो। उनको साथबाट ६७ थान थर्मल गन बरामद भएको थियो।

परिसर प्रवक्ता होबिन्द्र बोगटीका अनुसार अग्रवाललाई थुनामा राख्न परिसर लगिएको छ। अग्रवाल बिरामी भएको भन्दै अस्पताल बस्न खोजिरहेका थिए। उनले मंगलबार रातभर प्रहरीलाई दु:ख दिएका थिए।

महाशाखाका अनुसार अग्रवालले ज्वरो नाप्ने थर्मल गन महंगो मूल्यमा बेच्न लागेका बेला पक्राउ गरिएको थियो। महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार अग्रवालले पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेका थिए।

अग्रवाल कीर्गिस्तानस्थित अवैतानिक महावाणिज्य दूत हुन्। उनले कालोबजारी गर्न कूटनीतिक नियोगको गाडीसमेत दुरूपयोग गरेको पाइएको थापाले बताए।

अग्रवालले कूटनीतिक नियोगकै गाडी चढेर थर्मल गन बिक्री गर्न गएका थिए। अग्रवाललाई पक्राउ गर्दा प्रहरीले २०९ एचसीसी १ नम्बरको गाडी पनि सँगै बरामद गरेको थियो।

प्रहरीका अनुसार शंकर ग्रुपले शनिबार चीनको ग्वान्झाओबाट सात टन मेडिकल सामग्री ल्याएको थियो। एक निजी कम्पनीले मेडिकल सामग्री ल्याउन नेपाल एयरलाइन्सको विमान चार्टर गर्दा शंकर ग्रुपले पनि ल्याएको थियो।

शंकर ग्रुपले ल्याएका सामग्रीमध्ये ज्वरो नाप्ने थर्मल गन अग्रवालले दोब्बर बढी रकममा बिक्री गरिरहेको सूचना प्रहरीमा पुगेको थियो। कालोबजारी ऐन अन्तर्गत पाँच वर्षसम्म कैद, जरिवाना वा दुबै हुन सक्ने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय