बाग्लुङमा कोरोना संक्रमणको खतरा कति?, र्‍यापिड टेस्टको पर्खाइमा जिल्लाबासी

नेपालमा कोरोना भाइरस दोस्रो चरणमा प्रवेश गरेपछि सरकारले सुदूरपश्चिमको कैलाली र कञ्चनपुरसँगै गण्डकी प्रदेशको बागलुङ जिल्लामा र्‍यापिड टेस्ट गर्ने निर्णय गर्‍यो। कैलाली र कञ्चनपुरमा स्वास्थ्यकर्मीको टोलि पुगेर टेस्ट सुरु गरिसकेका छन्। तर, बागलुङमा टोलि आइपुगेको छैन।

नेपालमा कोरोनाका ९ जना संक्रमित भेटिँदा गण्डकी प्रदेशमा अहिलेसम्म २ जनालाई कोरोना देखिएको छ। यहाँ कोरोना देखिनेमा बागलुङकी १९ वर्षीया युवती र ६५ वर्षीया वृद्धा छन्। एउटै जहाजमा बेल्जियमबाट दोहा हुँदै चैत ४ गते नेपाल आएका दुवैको अहिले धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

र्‍यापिड टेस्ट गर्ने स्वास्थ्यकर्मीको टोलि बुधबारसम्म आइपुग्ने जानकारी आफूले पाएको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले बताए। उनकाअनुसार टेस्ट क-कसको गर्ने हो भन्ने यकिन भइसकेको छैन। ‘बाहिरबाट आएका सबैको गर्ने हो वा १४ दिन भित्रको मात्र गर्ने हो भन्ने क्लियर छैन। टोलिले गाइडलाईन पनि लिएर आउँछ अनि मात्र क–कसको परीक्षण गर्ने भन्ने थाहा हुन्छ,’ प्रमुख गुरौंले भने।

ती दुवै संक्रमितको सम्पर्कमा आउनेको दैनिकजसो चेकजाँच भइरहेको र सबैको अवस्था सामान्य रहेको उनले जानकारी दिए। उनकाअनुसार संक्रमितको सम्पर्कमा आएको १४ दिन कटिसकेका कसैमा पनि कोरोनाको लक्षण छैन।

संक्रमितको परिवारमा कोरोनाको कुनै लक्षण नदेखिनुलाई लोकल ट्रान्समिसनको खतरा नरहेको भन्ने बुझिन्छ। दुवै संक्रमितका छिमेकी र विदेशबाट आएकाहरु र्‍यापिड टेस्टको पर्खाइमा छन्। ‘मन्त्रिपरिषद् बैठकले टेस्ट गर्ने निर्णय गरेपछि यहाँका मानिस त्यसको पर्खाइमा छन्। कहिले आउँछ र कसरी परीक्षण हुन्छ भन्ने उत्सुकता छ,’ उनले सुनाए।

चैत महिनामा विदेशबाट आएका ८ सय १५ जना आफूहरुको सम्पर्कमा रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले जानकारी दिए। जिल्लामा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन रोक लगाएर लकडाउनलाई कडा पारिएको प्रजिअ सैंजुले बताए। विदेशबाट आएकामध्ये २६ जना क्वारेन्टाइनमा बसेका छन् भने बाँकी सबै सेल्फ होम क्वारेन्टाइनमा छन्। जिल्लामा १ सय ५० बेड क्षमताको क्वारेन्टाइन र ९ बेड क्षमताको आइसोलेसन बनाइएको छ।

बागलुङ जिल्लाबाट अहिलेसम्म १८ जनाको नमुना संकलन भएकोमा दुई जनामा मात्र संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका स्वास्थ्य शिक्षा प्रशिक्षक नबराज शर्माले जानकारी दिए। उनकाअनुसार गण्डकी प्रदेशबार अहिलेसम्म १ सय ८० जनाको नमुना संकलन भएको छ। त्यसमा १ सय ३० जनाको नेगेटिभ आएको छ भने ४८ जनाको रिपोर्ट आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय