‘एम्बुलेन्स छ गाउँसम्म पुग्दैन, पिपिई छैन रेनकोटबाटै काम चलाउँछौं’

कोरोना भाइरस महामारी चलिरहेको बेला विश्वभर स्वास्थ्य सामग्री अभाव छ। ल्याब, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई), आइसियु, भेन्टिलेटर तथा औषधि अभाव खड्किएको छ। नेपालमा पनि यसको प्रत्यक्ष असर परेको छ।

गाउँघरमा राम्रो र भरपर्दो स्वास्थ्य सेवा अझै पुग्न सकेको छैन।

सुदूरपश्चिममा चारजनालाई कोरोना भाइरस संक्रमण देखिएपछि संक्रमण जोखिम अझै बढेको छ। खासगरी मजदुरी गर्न भारत गएका धेरै मानिस अहिले घर फर्किएका छन्। अहिले सुदूरमा संक्रमण देखिएकामध्ये दुईजना भारतबाट आएका छन् भने एकजना दुबईबाट। अनि अर्का एकजना दुबईबाट आएका संक्रमितका आफन्त।

गाउँपालिका तथा स्थानीय तहसँग भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री छैन। यस्तै समस्या झेलिरहेको छ दार्चुलाको दुहु गाउँपालिका।

कोरोना भाइरस महामारी फैलिरहेको बेला स्वास्थ्य परीक्षणका लागि गाउँपालिकासँग ज्वरो नाप्ने थर्मोमिटरबाहेक केही छैन।

गाउँपालिकाका अध्यक्ष पुलेन्द्र कार्कीले भने ‘एम्बुलेन्स छ तर, गाउँपालिकासम्म पुग्दैन।’

कार्कीले बाटोको समस्याले गर्दा एम्बुलेन्स गाउँपालिकासम्म पुग्न नसकेको बताए। यद्यपि, दार्चुला सदरमुकामदेखि दुहुसम्म सडक नभएको भने होइन। दुहुसम्म सडक छ तर एम्बुलेन्स गुड्न सक्ने खालको छैन।

‘सडक भएपनि एम्बुलेन्स चड्दैन, गाउँपालिकाका कोही बिरमी परे जीपमा राखेर सदरमुकामसम्म पुराउनुपर्छ’ उनले भने ‘आफ्नो एम्बुलेन्स सदरमुकाम नजिकै शिरिबगडमा राख्न बाध्य छौं।’

भारतबाट १ सय २१ र मलेसियाबाट २ जना गरी अहिलेसम्म सम्पर्कमा आएका १ सय २३जनालाई दुहु गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो। जसमध्ये १०० जना १४ दिनको क्वारेन्टाइनमा बसेर घर फर्किसकेको गाउँपालिकाले बताएको छ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले ५ ठाउँमा क्वारेन्टाइन निर्माण गर्नुका साथै क्वारेन्टाइनमा रहेकाहरुको नियमित स्वास्थ्य परीक्षण भइरहेको र कसैमा पनि भाइरसको संक्रमण नदेखिएको बताएको छ।

यो गाउँपालिका भारतको सिमानाका हो। अधिकांश मानिस रोजगारीका लागि भारतकै भरमा छन्। अध्यक्ष कार्कीले भने ‘पिपिईको अभावले स्वास्थ्यकर्मीलाई समेत गाह्रो भइरहेको छ। रेनकोट मगाएका छौं, हेल्थ डेस्कमा बस्ने र क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मीले यसको प्रयोग गर्नेछन्।’

कार्कीका गाउँपालिकाले अनुसार भाइरसको नियन्त्रण तथा रोकथामका लागि प्रत्येक परिवारलाई साबुन र मास्क वितरण गरेको छ।

कोरोना भाइरसक सम्बन्धि जनचेतना जोगाउन साविकको प्रतेक वडामा स्वास्थय्कर्मी तथा स्वयंसेवक खटाएको उनले बताए।

‘सूदूरपश्चिममा कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सतर्क भएका छौं, गाउँपालिकाले सक्ने काम गरिरहेको छ, थप परीक्षणका लागि लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौं’ अध्यक्षले भने।

दुहु गाउपालिकामा ६ जना एचए (स्वास्थ सहायक) १० अहेब र १० जना अनमी छन्। भाइरससम्बन्धि सर्वसाधारणलाई जनचेतना जोगाउन तथा सरसफाईमा ध्यान दिन आग्रह गरी लकडाउनको पालना गर्न गाउँपालिकाले आग्रह गरिरहेको छ।

खुला सीमाका कारण दुहु लगायत सुदुर जोखिममा रहेको भन्दै उनले नाकाबाट आउने सर्वसाधारणलाई ध्यानमा राखी उनीहरुको स्वास्थय परीक्षण गरेर क्वारेन्टाइनमा राखिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय