‘विदेशबाट फर्किन चाहनेलाई ल्याउनू, सम्भव नभए उपचार, खाने र बस्ने व्यवस्था गर्नू’

सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार स्वदेश फर्किन इच्छुकलाई सम्बन्धित मुलुकसँग कूटनीतिक समन्वय गरी नेपाल फिर्ता ल्याउन आदेश दिएको हो।

‘विदेशमा खान, बस्न र स्वास्थ्य उपचारको अभाव झेलिरहेका वा विपतमा परेका नेपाली नागरिकहरूको पहिचान गरी नेपाल फर्कन चाहने इच्छुक नेपाली नागरिकहरूलाई सम्बन्धित मुलुकसँग कूटनीतिक माध्यमबाट समन्वय गरी नेपाल ल्याउने आवश्यक व्यवस्था गर्नु गराउनु, उक्त कार्य तत्काल सम्भव नभएको अवस्थामा निजहरूलाई तत् तत् स्थानमा खान, बस्न र स्वास्थ्य उपचारको यथोचित प्रबन्ध गरी नागरिकहरूको हकहितको रक्षा गर्ने व्यवस्था मिलाउन आवश्यक पहल गर्नु,’ आदेशमा भनिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालयलाई विपक्षी बनाइ अधिवक्ता मीना खड्का र मनिषकुमार श्रेष्ठले दायर गरेको छुट्टाछुट्टै रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले नेपालीहरू विदेशबाट नेपाल आएको अवस्थामा आएका सम्पूर्ण व्यक्तिहरूको नाम थर बतनसहितको अद्यावधिक लगत राखेर मात्रै नेपाल प्रवेश गराउने व्यवस्था मिलाउन र क्वारेन्टाइनमा राख्न आदेश दिएको छ।

‘नेपाल भारतको सीमामा रहेका नेपाल आउन इच्छुक नेपाली नागरिकहरूलाई नेपाललाई निश्चित समय क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनु, त्यस्तो प्रबन्ध गर्न तत्काल सम्भव नभएमा भारत सरकारसँग समन्वय गरी लकडाउन अवधिसम्मका लागि निजहरूलाई खाने, बस्ने तथा उपचारको यथोचित व्यवस्था मिलाउन पहल गर्नु,’ आदेशमा भनिएको छ।

क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य उपचार लगायतका सेवा प्रदान गर्ने व्यवस्था गरी क्वारेन्टाइनलाई व्यवस्थित तबरले सञ्चालन गर्ने व्यवस्था मिलाउन सर्वोच्च अदालतले आदेश दिएको छ।

‘विदेशमा रहेका नेपालीहरूको भिसा समाप्त भएको वा राहदानीको म्याद समाप्त भएको कारणबाट कुनै समस्या पर्ने अवस्था भएमा त्यस्ता नेपाली नागरिकहरू रहेको मुलुकसँग समन्वय गरी नेपाली नागरिकहरूको विदेशको बसाइ नियमित गर्ने व्यवस्था मिलाउनु,’ सर्वोच्चको आदेशमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय