‘काललाई जितेर फर्किन साँच्चै कठिन हुँदोरहेछ’

विश्वका अन्य कुनै पनि स्थानभन्दा पहिला वुहानले अदृश्य तर अति निर्मम कोरोना भाइरसको चपेटाको सामना गर्‍यो। मुटुमा त्रासको डेरा जमाएर आफ्नो स्वास्थ्य र जीवनबारे चिन्तित अधिकांश वुहानीहरू घरभित्र सीमित भए भने अन्य कैयौं संसारबाटै बिदा भए।

यसो भन्दा कुनै अतिशयोक्ति नहोला कि जनवरी २३ को सबेरैदेखि वुहानमा लकडाउन सुरू हुँदा मेरो देशका नागरिकको जीवनमा आमूल परिवर्तन आइसकेको थियो। हामीले घरभित्र थुनिएर दुनियाँभरिबाट नराम्रो र दु:खद् समाचार सुनेर यस महमारीलाई झेल्यौं। त्योभन्दा बढी हामीले डर, चिन्ता र आक्रोसलाई झेल्यौं।

विगतमा विभिन्न प्रकोप तथा संकट भोगिसकेकी मैले सोचेकी थिएँ कि म भावनात्मक रुपमा बलियो र तयार छु। तर, पछिल्लो संकटका लागि कसैलाई केही गरेर पनि तैयार राख्न नसकिने रहेछ। पछिल्लो दुई महिनाभित्र धेरै त्रासदीपूर्ण र भयावह घटनाहरू उद्घटित भए। म र मजस्तो असंख्य वुहानबासीले ती सबैको सामना गर्न सक्दो प्रयास गर्‍यौं।

धेरै मानिसले सामाजिक माध्यममा आफ्नो दैनिक दिनचर्याबारे उल्लेख गर्ने प्रयास पनि गरे। मलाई लाग्छ- सामना गर्ने यो अर्को प्रभावकारी उपाय हो। कहिलेकाहीँ कुनै नराम्रो घटनामाथि विजय हासिल गर्न सो घटना घटेकै छैन भनेर आफैंलाई भ्रममा पार्नु पनि प्रभावकारी हुने रहेछ।

सोही धैर्यता र संयमताको इनाम आज हामी पाइरहेका छौं। वुहानमा लगाइएको लकडाउन विस्तारै खुकुलो भइरहेको छ।

तर, मृत्युलाई जितेर फर्कन साँच्चै नै कठिन रहेछ। हाम्रो जीवन पूर्ण रुपमा बदलिएको छ। हिजोको जस्तै सामान्य अवस्थामा पुग्नुभन्दा अघि अझ धेरै अवरोधको सामना गर्नुपर्ने रहेछ।

लकडाउन खुकुलो भएपछि मार्च २९ वसन्त ऋतुको चिसो दिन म पहिलो पटक घरबाहिर निस्केकी थिएँ। पहिलेको माइनस १० डिग्री सेल्सियसको तापक्रमसँग तुलना गर्दा सो वसन्तको झरी पूर्ण रुपमा ‘भद्र’ लाग्यो।

मेरो घरबाहिर एउटा होटल अगाडि एक स्वास्थ्य टोली खटिएका थिए। मलाई थाहा छैन सो टोली फर्किसकेको छ वा छैन तर सोही होटलको गेटमा एउटा प्रेरणादायी कविता टाँसिएको रहेछ।

अगाडि बाटोमा काममा जान हतारिएर हिँडिरहेका वा साइकलमा दौडिरहेका मानिसहरूलाई मैले देखिनँ। पहिला प्रत्येक क्षण बाटोमा बसहरू दौडिरहेका हुन्थे। केही मेट्रो सञ्चालनमा आए तापनि अन्य अधिकांश अझै आफ्नो पटरीमा आइसकेका थिएनन्। पहिला–पहिला मेट्रो चढ्नुअघिको सुरक्षा जाँचबारे मानिसहरूले आलोचना गर्दथे तर अहिले ती सुरक्षाकर्मीहरूलाई देख्दा आफ्नोपनाको आभाष हुन्थ्यो।

लकडाउनको समयमा मानिसहरू प्राय: हरदिन घरबाट उम्कन प्रयासरत् थिए। लकडाउन खुलुको हुँदा उनीहरूले थप धैर्य गर्न सकेका थिएनन्। मेरो एक जना सहपाठीले इष्टलेकको टन्नै फोटो खिचिन्। अन्यले आºनो कार्यालय वा स्टारबक्स र म्याकडोनाल्डबाट भएको ‘डेलिभरी’को मात्रै भए पनि फोटो सामाजिक सञ्जालमा पोष्टाए। उनीहरू ज्यादै खुसी छन् र यसलाई उनीहरूले पूरानो जीवनतर्फको पुनर्आगमनको रुपमा लिएका छन्।

तर, लकडाउनको अन्त्यले हर्षमात्र ल्याएको छैन। कति मानिसहरू म जस्तै आफैंभित्रको द्वन्द्वमा संलग्न पनि छन्। दुई महिनासम्मको घरभित्रको बसाइले अनलाइन कक्षा, घरबाहिर ननिस्कने र मेरो झ्यालबाहिरको अत्यधिक शान्ति लगायतको बानी ममा परिसकेको थियो।

अहिले घरबाहिर निस्कँदा, सहर पुरा नै लयमा आइरहँदा, त्यो कोलाहल र हल्लाखल्ला सुनिरहँदा मलाई अनौठो लाग्न थालेको छ। एकातिर मानिसहरू पुरानै जीवनमा फर्कन चाहन्छन् भने अर्कोतिर लकडाउनभित्र अनुकूल भइसकेर अकस्मात् फेरि पुरानै अवस्थामा फर्कन पनि गाह्रो हुने रहेछ।

प्रकोपको बेला स्ट्रोक भएकी मेरी हजुरआमाको लागि प्रत्येक १० दिनमा अस्पताल गएर खाना ल्याउन हामीलाई छुट थियो। महामारी चरमोत्कर्षमा पुग्दा हामी सधैं अस्पतालको आकस्मिक कक्ष अगाडि एम्बुलेन्सको ताँती, स्वास्थ्यकर्मीहरू पहेंलो सुरक्षाकवचमा तयारी अवस्थामा रहेका र परिवारका सदस्यहरू रोइरहेका देख्थ्यौं।

तर, मार्च २९ को दिन अस्पताल निकै शान्त थियो। त्यहाँ एउटा मात्रै एम्बुलेन्स देखियो जुन अन्य गाडीहरूसँगै पाकिङ लटमा विश्रामको अवस्थामा थियो। त्यहाँ आफ्नो सन्तान वा अभिभावकको स्वास्थ्य अवस्थाबारे चिन्तित मनोदशमा आकस्मिक कक्षबाहिर बेचैनीका साथ कुरिरहेका परिवारका सदस्यहरू थिएनन्।

मेरो हजुरआमाका लागि खाना लिने कोठामा मात्र दुई वा तीन जना स्वास्थ्यकर्मीको उपस्थिति थियो, जो बिना कुनै हतार फुर्सदका साथ हिँडिरहेका थिए।

घर फर्कने क्रममा बाटोमा धेरै मानिसहरू थिएनन् तर अचम्म धेरै कारहरू भने थिए। एउटा कारको छेउबाट म वुचाङ खोलातर्फ टहल्नका लागि अगाडि बढेँ।

नजिकैको पार्क अझै सुनसान थियो भने मानिस हिँड्नको लागि बनाइएको सानो बाटोमा झार उम्रिसकेको थियो। तर, त्यहाँ म जस्तै अन्य केही मानिसहरू थिए जो त्यस दिनको चिसोलाई बेवास्ता गर्न अनि घरबाहिर निस्केर केही क्षणका लागि बाहिरको दृश्य हेर्न म जस्तै ‘कटिबद्ध’ थिए।

मैले चौरमा स्थिर मुद्रामा बसिरहेकी एक अधवैंशे महिलालाई देखेँ, जसको साथमा एक जना साथी थिए। जो उनलाई माथि उठाउन खोजिरहेका थिए। यी दुबै जनाको मुहार मास्कविहीन ‘नाङ्गो’ थियो। यस दृश्यले मलाई प्रकोपको सुरुवाती दिनहरूको झझल्को दियो, जब कति मानिसहरूले बाटोमा हिँड्दा–हिँड्दै ढल्थे। सहयोग गर्नु त परको कुरा, डरको कारण मानिसहरूले तिनीहरुरूई टाढैबाट हेरेर बस्थे।

मलाई थाहा छैन, त्यो आँट ममा कहाँबाट आयो। तर, म भने उनीहरूको नजिक जान्थेँ, आफूले बोकेको मास्कहरू उनीहरूलाई दिन्थेँ र लडिरहेका मानिसलाई सबै ठिकै छ कि छैन भनेर पनि सोध्थेँ। मैले उनीहरूबाट पाउने जवाफ मेरो अपेक्षाभन्दा बाहिरको हुने गर्थ्यो जब एक जना युवकले मलाई भर्खरै आफ्नी प्रेमिकासँग बिछोड भएको कुरा बताएका थिए। अनि बल्ल पो थाहा पाएथेँ कि उसलाई त महामारीले भन्दा पनि प्रेमवियोगको पीडाले रोगी बनाएको रहेछ।

(वुहानको लकडाउनबाट सामान्य जीवनमा फर्केकी एक युवतीको अनुभव)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय