मेडिकल सामग्री खरिद : दूतावाससँग समन्वयमा सिधै सेनाले ल्याउने

जंगी अड्डाले कोरोना उपचारमा आवश्यक पर्ने पिपिईलगायत स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढेको जनाएको छ।

सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार स्वास्थ्य सामग्री खरिदका लागि इकाई गठन गर्न रक्षा मन्त्रालयमा प्रस्ताव पठाइएको छ। उक्त प्रस्ताव सोमबार रक्षा मन्त्रालयमा पठाइएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए।

उनका अनुसार अब रक्षा मन्त्रालयले खरिद इकाई गठन गरेपछि त्यसैको रायसुझाव अनुसार खरिदको काम अघि बढ्नेछ। सरकार-सरकार (जिटुजी) प्रणालीद्वारा स्वास्थ्य सामग्री खरिदको जिम्मा सरकारले सेनालाई दिएको थियो।

सेनालाई जिम्मा दिँदा सरकारले स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्नू भनेको छ। त्यसैअनुसार रक्षामा खरिद इकाईको प्रस्ताव पठाइएको निर्देशनालयले जनायो।

‘यसमा नेपाली सेना, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालयलगायत अन्य आवश्यक पर्ने निकाय संलग्न सर्वपक्षीय इकाई गठन हुन्छ,’ पाण्डेले भने।

रक्षा मन्त्रालयले यो इकाई गठन एक-दुई दिनमै सक्ने योजना बनाएको छ। त्यसपछि कहाँ-कहाँबाट खरिद गर्ने विषय टुंगो लाग्ने छ।

सरकार-सरकार (जिटुजी) भएकाले स्वास्थ्य सामग्री खरिदमा टेण्डर आह्वान हुने छैन। सिधै दूतावासको समन्वयमा ल्याइँदैछ।

अहिले सेनाले चिनियाँ दूतावाससँग समन्वय गरिरहेको छ। दूतावासले चीनमा कहलिएका केही कम्पनीमार्फत खरिद गर्न सकिने जानकारी दिइरहेको सैनिक स्रोत बताउँछ।

‘चिनियाँ दूतावाससँग आवश्यक समन्वय भइरहेको छ,’ पाण्डेले भने, ‘अन्य कुन-कुन मुलुकबाट ल्याउन सकिन्छ भन्नेबारे इकाईले टुंगो लगाउँछ।’ तर, अहिलेको प्रमुख प्राथमिकतामा चीन परेकाले त्यतैबाट स्वास्थ्य सामग्री खरिद हुने विश्वास गर्न सकिने अधिकारीहरू बताउँछन्।

दोस्रोपटक ‘लकडाउन’को समय थपिए पनि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न सरकारले सकेको छैन। स्वास्थ्य मन्त्रालयबाट खरिद थालिएको सामग्रीमा व्यापक विवाद आएपछि सरकारले सेनालाई जिम्मा दिएको थियो।

सेनाले दुई दिनअघि प्रेस कन्फरेन्स गर्दै स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढेको बताएको थियो। निर्देशनालयका अनुसार विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त सामग्रीमात्र ल्याइने छ।

खरिदमा सेनाले मध्यस्थकर्ता प्रयोग नगर्ने भनेको छ। गुणस्तरमा कुनै सम्झौता नगरी प्रतिस्पर्धात्मक मूल्य निर्धारण गर्ने, सामग्री र यातायातको छुट्टाछुट्दै मूल्य निर्धारण गर्ने सेनाले जनाएको छ।

यो प्रक्रियालाई सार्वजनिक खरीद ऐन तथा नियामावलीहरूको परिधिभित्र रही पारदर्शी र मितव्ययी ढंगबाट व्यवस्था गर्न सर्वपक्षीय औषधी, उपकरण तथा स्वास्थ्य सामग्री खरीद व्यवस्थापन समिति गठन गर्ने सेनाले जनाएको छ।

खरिद गरिने सामाग्रीहरूको गुणस्तर निर्धारणका लागि विभिन्‍न मन्त्रालयका पदाधिकारीहरूसहितको गुणस्तर नियन्त्रण समिति गठन हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय