बेपर्वाह हिँडडुलले कैलालीका गाउँ कोरोनाको जोखिममा 

चैत २२ गते सुदूरपश्चिममा एकै पटक तीन जनामा कोरोना भाइरस संक्रमण देखिएपछि कैलालीको धनगढी उपमहानगरपालिका लगायत बजार क्षेत्रमा ‘लकडाउन’ कडा पारिएको छ।

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडका अनुसार कसैलाई घर बाहिर निस्किन दिइएको छैन। खाद्यान्न लगायत अत्यावश्यक वस्तु उपमहानगरपालिकाले घर–घर पुर्‍याइरहेको छ। मेयर वडले अत्यावश्यक वस्तु सकिए वडा प्रतिनिधिमार्फत खबर गर्न आग्रह गरेका छन्।

उपमहानगरको गाडीले घर-घरमा सामग्री पुर्‍याइरहेको छ।

उपमहानागरको उक्त कार्यबाट धनगढी–५, तारानगरका हेम मिश्र ढुक्क छन्। ‘जिल्लामा तीन जना नयाँ संक्रमित थपिएसँगै उपमहानगरको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ,’ उनले भने, ‘केही दिन पहिले अहिलेको जस्तो कडाइ गरिएको थिएन। अहिले भने बाहिर निस्किन पाइँदैन। नगरपालिकाले अत्यावश्यक सामग्री सकिए घरमै पुर्‍याउने गरेको छ।’

उनी यो सबैको स्वास्थ्य रक्षाका लागि भएकाले सबैले ‘लकडाउन’को पालना गर्नुपर्ने बताउँछन्।

धनगढी उपमहानगरपालिका शिक्षित जनताको बसोबास क्षेत्र हो। सरकारको निर्देशन जनताले सहज रुपमा पालना गरिरहेका छन्। लकडाउन हाम्रै स्वास्थ्य रक्षाका लागि गरिएको हो भन्ने बुझेका छन्।

अन्य क्षेत्रको तुलनामा त्यहाँ भारतबाट आउनेको संख्या पनि कम छ। प्रमुख नाका गौरीफन्टा भए पनि बस चढेर मान्छेहरू जिल्ला भरका गाउँ–गाउँ पुगेका छन्।

कैलालीका धेरै गाउँ धनगढीजस्तो छैन। धनगढीमा कडाइ थालेपछि ग्रामीण क्षेत्रमा मान्छेको भीड बाक्लिन थालेको छ।

ग्रामीण क्षेत्रका जनताको चेतनास्तर कमजोर भएकाले पनि लकडाउनलाई सामान्य ठानिरहेका छन्। धनगढीमा जस्तो घर-घरै सामग्री पुग्दैन। चोक–चोकमा पसल खुल्नेवित्तिकै मान्छेको भीड लागिहाल्छ।

बढी जोखिम भएको स्थानीय तहमध्येको एक हो- भजनी नगरपालिका। भजनी नगरपालिका र भारतको तिकुनिया नाका जोडिएका छन्। त्यो नाका भएर मान्छेको आवत-जावत मात्र हुँदैन, ग्रामीण क्षेत्रका अधिकांश जनताले साइकल, मोटरसाइकलबाट त्यही नाका भएर भारतबाट दैनिक उपभोग्य वस्तुसमेत ल्याउने गर्छन्।

लकडाउन जारी भइकन यो क्रम कम भए पनि भजनीका राजन मिश्र अहिले पनि लुकिचोरी भारतबाट उक्त नाका भएर नेपालीहरू भित्रिरहेको सुन्ने गरेको बताउँछन्। ‘रातिको समयमा उक्त क्षेत्रबाट अलपत्र परेका नेपालीहरू चोर बाटो प्रयोग गर्दै आउने गरेको सुनिन्छ। यसले यस क्षेत्रमा थप जोखिम थपिदिएको छ,’ उनले भने।

सुदूरपश्चिममा तीन जनामा एकै पटक कोरोना पुष्टि भएपछि कडाइ गरिएको भए पनि गाउँमा मान्छेको चहलपहल राम्रै हुने गरेको उनले सुनाए। उनले भजनी बजार पनि बिहान-बेलुका खुल्ने गरेको र मान्छेका भिडभाड बढ्ने गरेको जानकारी दिए। यस्तो क्रियाकलापले यस क्षेत्रमा कोरोनाको जोखिम बढ्न सक्ने भन्दै उनी चिन्तित छन्।

जोशिपुर गाउँपालिकाका स्थानीय एवम् शिक्षक शिद्धराज जोशीले गाउँमा लकडाउनको पालना पूर्ण रुपमा कार्यान्वयन नभएको गुनासो गरे। उनले भारतबाट गाउँमा कति मान्छे आए भन्ने लेखाजोखा गाउँपालिकासँग नरहेको आरोप लगाए।

‘मान्छेहरू बेपर्वाह घरबाहिर निस्किरहेका हुन्छन्। पुलिसले पनि चिनेका मान्छेलाई छोड्ने र नचिनेका सामान्य मान्छेलाई मात्र सास्ती दिने गरेको छ,’ उनले भने। उनले सरकारी अस्पतालले सामान्य ज्वरोका बिरामीको पनि उपचार गर्न नमान्ने र निजी क्लिनिकहरूलाई स्थानीय प्रशासनले सास्ती दिने गरेको गुनासो गरे।

जोशिपुरकै सञ्जिवनी मेडिकल सञ्चालक नवीन जोशीले आफूहरूले जोखिम मोलेर सेवा दिइरहेको बताए। उनले स्थानीय प्रहरी प्रशासनले मेडिकल खोलेर औषधी प्रदान गर्न भनिरहे पनि गाउँपालिकाले पिपिई उपलब्ध नगराएको गुनासो गरे।

गोदावरी नगरपालिका प्रदेश राजधानी तोकिएको क्षेत्र हो। यहाँ पनि लकडाउनको पूर्ण कार्यान्वयन हुन सकेको छैन। विभिन्न बहानामा मान्छे बाहिर निस्किरहेका हुन्छन्।

गोदावरी नगरपालिका–६, बडेहाका स्थानीय मदन जोशी नगर क्षेत्रमा लकडाउनको पूर्ण कार्यन्वयन नभएकोमा चिन्तित छन्। किड्स जोन् बोर्डिङ् स्कुलका प्रिन्सिपलसमेत रहेका जोशीले जिल्लामा लकडाउन घोषणा नहुँदै आफू आवश्यक परे आफ्नो विद्यालय क्वारेन्टाइनका लागि प्रदेश सरकारलाई उपलब्ध गराउन तयार रहेको बताएका थिए।

‘यो क्षेत्रमा भारतबाट आउने मान्छेको संख्या ठूलो भएकाले म पहिलेदेखि नै चिन्तित थिएँ। त्यसैले विद्यालय क्वारेन्टाइनका लागि उपलब्ध गराउँछु भनेको थिएँ,’ उनले भने, ‘अहिले पनि नगरपालिकाभित्र अव्यवस्थित रुपमा राहत वितरण भइरहेको छ। जसले कोरोनाको जोखिम थपिदिएको छ।’ उनले गाउँमा कतिपय पसल खुल्लै हुने र मान्छेको आरोरदोहोर पनि भइरहने बताए।

जनता मात्रै हैन, ग्रामीण क्षेत्रका नगरपालिका/गाउँपालिकाका जनप्रतिनिधिका दुःख पनि उस्तै छन्। जनप्रतिनिधि जनतालाई कसरी सूसुचित पार्ने भन्नेमा मात्र चिन्तित छैनन्, स्वास्थ्य संस्थामा पिपिईलगायत आवश्यक स्वास्थ्य सामग्री नहुँदा के गर्ने भन्ने पिरलो पनि छ।

लम्किचुहा नगरपालिकाका मेयर महादेव बजगाईंले संघीय सरकारबाट पिपिईलगायत आवश्यक कुनै पनि चिकित्सकीय सामग्री स्वास्थ्य संस्थाहरूले नपाएको गुनासो गरे। उनको नगरपालिकामा भारतको मुम्बईबाट फर्किएका २१ वर्षीय युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।

यस्तो अवस्थामा पनि केन्द्र सरकारले कुनै आवश्यक सामग्रीको प्रबन्ध नगर्नु चिन्ताको विषय बनेको उनी बताउँछन्। आफूहरूले स्थानीय स्रोत साधनबाट भ्याउने सबै प्रयास गरिरहेको भए पनि अत्यावश्यक सामग्री केन्द्र सरकारले उपलब्ध नगराउँदा समस्या भइरहेको उनले बताए। यसका लागि प्रदेश सरकारले सहजता प्रदान गरिदिनुपर्ने उनको आग्रह छ।

उनले पछिल्लो समय लकडाउनमा पनि कडाइ गरिएको बताए। आफ्नो क्षेत्रमा यतिखेर गहुँ बाली भित्र्याउने सिजन भएकाले खेत-खेतमा साबुनपानी र सेनिटाइजरको व्यस्था गरेर निश्चित दूरी कायम गर्दै गहुँ काट्न स्थानीयसँग आग्रह गरिरहेको उनले बताए। त्यसका लागि स्थानीय प्रहरी प्रशासनको सहयोग लिइएको जानकारी उनले दिए।

अहिले एक सय ७५ जना क्वारेन्टाइनमा रहेकाले उनीहरूको पनि चाँडो स्वास्थ्य परीक्षण गर्न प्रदेश सरकारसँग उनको आग्रह छ। उनले रगतको नमूना सेती प्रादेशिक अस्पतालमा मात्रै परीक्षण हुने भएकाले त्यसका लागि प्रदेश सरकारले चाडो स्वाब परीक्षण गरिदिए सजिलो हुने बताए।

‘क्वारेन्टाइनमा बसेकाहरूलाई सहज रुपमा खान दिइहाल्छौं। गाह्रोमा परेकाहरूलाई खाद्य सामग्री उपलब्ध गराइहाल्छौं,’ उनले भने, ‘तर, सरकारले हामीलाई अत्यावश्यक चिकित्सकीय सामग्री उपलब्ध गराइदिनु पर्छ। स्वास्थ्यकर्मी र सुरक्षाकर्मी एकदमै असुरक्षित भए।’

लम्किचुहा– ३ का लोकेन्द्र धामीले एक जनामा कोरोना पुष्टि भएसँगै नगरपालिकामा सन्त्रास थपिएको बताए। उनले जनतालाई सरकारको उपस्थिति नै नभएको भान भइरहेको बताए।

उनले जनताहरू कोरोनाको त्रास र सुरक्षाकर्मीको डरले घरभित्र बसिरहेको गुनासो गरे। जनतामा चेतना जाग्रित नहुँदा लकडाउनको पूर्ण पालना नभएको गुनासो गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय