‘घरछेउकै क्वारेन्टाइनमा छु, छोराछोरी देख्न पाइनँ’

आफू र घरपरिवारको पेट पाल्न चार महिनाअघि भारत पसेका थिए उनी।

श्रीमती र छोराछोरीको पढाइ खर्च, लुगाफाटो जोहो गर्न सकिँदैन घर नछाड्ने हो भने।

पेट पाल्नकै लागि अर्थात् जहानका खातिर चार महिना पहिले छिमेकी भारतको बैंगलोर गएका थिए उनी।

त्यहाँ जान ऋण काढेका थिए तर अहिलेसम्म तिर्न सकेका छैनन्। ज्यान रहेसम्म काम भनेको जति भए पनि गर्न सकिन्छ भनेर सकिनसकी घर आए।
उनी बैंगलोरको एउटा कम्पनीमा सेक्युरिटीको काम गर्थे। त्यसैमा रमाइरहेका थिए।

रमाउनु उनको बाध्यता पनि त हो।

आफ्नो देशमा रोजगारी पाइँदैन। पाइए पनि परिवार पाल्न धौ–धौ हुन्छ।

सुदूरपश्चिमका हजारौं–लाखौं सर्वसाधारण कामको खोजीमा भारतका विभिन्न सहर चहार्छन्।

उनीहरूको रोजगारीको प्रमुख गन्तव्य नै भारत हो।

समग्रमा हेर्ने हो भने हरेक घरबाट एक न एकजना काम खोज्न भारत पसेकै हुन्छन्।

यिनै हजारौं–लाखौंभित्र पर्छन् मार्मा गाउँपालिकाका रमेश भट्ट।

जो चीनको उहान सहरमा कारोना भाइरस सुरु भएका बेला रोजीरोटीका लागि भारत गएका थिए।

उनको भारत पसाई यो पहिलोपटक भने होइन। रोजीरोटीका लागि उनी पटक–पटक भारत गएका छन्।

विश्वमा कोरोना भाइरस महामारी फैलिरहेको थियो। भाइरसले भारतमा पनि आफ्नो कब्जा जमाउन खोजिरहेको थियो।

कोरोना संक्रमणले उनी काम गर्ने नजिकै एक–दुईजनाको मृत्यु भएको थियो भने केही सर्वसाधारण बिरामी पर्न थालेका थिए।

उनको मनमा चिसो पस्न थाल्यो। उनी डराउन थाले मनमा नानाभाँती कुरा सल्बलाउन थाले।

सामाजीक सञ्जाल हेर्दा भट्ट झन् तर्सिन्थे। सामाजिक सञ्जालले थप डराउने काम गरिरहेको थियो।

भारतमा रहेका अधिकांश नेपाली घर फर्किन थाले। उनलाई उकुसमुकुस भइरहेको थियो के गर्ने के नगर्ने भनेर।

घरबाट फोन गरेर ‘ज्यान बच्यो भने काम जति भए पनि पाइन्छ छिटो घर आउनु पर्‍यो’ भनी हठ लगाइरहे।

श्रीमती र छोराछोरीको मायाले सताउन थाल्यो।

महामारीले भयानक रूप लिँदै थियो।

‘घरकाले जसरी भए पनि आउनुपर्छ भने, मैले पनि आउने निर्णय गरेँ,’ भट्टले उदास हुँदै क्वारेन्टाइनबाट सोमबार दिउँसो हेल्थपोस्ट नेपालसँग टेलिफोनमा भने, ‘घरपरिवारको माया कसलाई हुदैन र, जान हे तो जहान हे भनेर आएँ।’

मार्च २१ तारिख बैंगलोरबाट गाउँका केही साथीभाइसँग नयाँदिल्लीसम्म आए। २४ तारिखमा भारत लकडाउन अर्थात बन्द थियो।

दिनभरि दिल्लीमा अलपत्रजस्तै परे। पछि ११ हजार भारतीय रुपैयाँमा स्कोर्पियो बुकिङ गरेर बनबासासम्म आए।

घर आउन थुप्रै दुःख–कष्ट झेल्नुपरेको भट्टले बताए।

स्वदेश फर्किने नेपालीको भीडभाड थियो। हरेक नाकामा सर्वसाधारणको झुण्ड थियो। त्यही झुण्डमा कतै कोरोना भाइरसको संक्रमण सर्छ कि भन्ने डर पनि थियो।

‘तीन दिनसम्म भोकभोकै बसेँ। एकातिर भोकले पेट पोलिरहेको थियो भने अर्कोतिर भीडमा कोरोना सर्ला भन्ने डरले मन पोलिरहेको थियो,’ भट्टले भने, ‘कोरोनाको डर यतिसम्म फैलियो कि जसरी पनि घर फर्किनुपर्छ भन्ने मात्रै दिमागमा आउन थाल्यो।’

बैंगलोरबाट बनबासा नाकासम्म त उनी जसोतसो आए। बनबासा आएपछि पो उनका दुःखका दिन सुरु भए।

बनबासा नाका बन्द थियो भने आफ्नै महाकाली नदी तर्न नसकिने।

नाकामा सयौं सर्वसाधारण भेला भई नेपाल जान पाउनुपर्ने भन्दै प्रहरी–प्रशासनसँग आग्रह गरिरहेका थिए।

त्यही भीडमा हो मा हो मिलाइरहेका एकजना उनै भट्ट पनि थिए। उनलाई पनि त घर पुग्नु थियो।

नाकाबाट नेपाल प्रवेश गर्न नदिएपछि भट्टसँग रहेको समूह हिँडेरै दोधारा चाँदनी पुग्यो। त्यहाँबट पुल तरेर नेपाल आउने सुरमा थिए उनीहरू।

‘ बैंगलोरबाट नेपाल–भारत नाका गड्डाचौकीसम्म पुग्न ५४ घन्टासम्म भोकै बसेँ। त्यो भीड अनि महामारीले भोक–चैन सबै मरिसकेको थियो,’ उनी सम्झिन्छन्।

दोधारा पुगेपछि नेपाल प्रहरीले स्वदेश छिर्न दिएन। प्रहरीले उनीहरूलाइ फेरि बनबासा गड्डाचौकी लग्यो।

बनबासा नाकामा भारतबाट फर्किनेको स्वास्थ्य परीक्षण भइरहेको थियो।

स्वास्थ्य परीक्षणका लागि सयौं सर्वसाधारण लाइनमा थिए।

गड्डाचौकीमा भोकभोकै घन्टौं लाइन लागे।

‘मन कस्तो–कस्तो अमिलो भइरहेको थियो, आफ्नै देश पनि आउन नपाइने,’ उनी भन्छन्, ‘हरेक नेपालीको मनमा एउटै कुरा चलिरहेको थियो, घर जान पाउनुपर्छ र जसरी पनि घर पुग्नुपर्छ।’

सामान्य स्वास्थ्य परीक्षण गरिसकेपछि उनीहरू गाउँ गए।

त्यत्रो भीडभाडमा भाइरसको संक्रमण हुन सक्छ भन्ने डर थियो उनलाई।

‘बैंगलोरदेखि महेन्द्रनगरसम्म पुग्दा कतिको शरीर छोइयो, कतिको सम्पर्कमा आइयो भनेर डर लागिरहेको थियो। गाउँपालिकाले क्वारेन्टाइन निर्माण गरेको थाहा थियो र घर नगई बस्नुपर्छ भनेर सोचिरहेको थिएँ,’ भट्टले भने।

महेन्द्रनगरबाट गन्ना झरेका उनीहरूलाई गाउँपालिकाको समन्वयमा प्रहरीले मार्मा गाउँपालिकाले निर्माण गरेको लटिनाथ माविको क्वारेन्टाइनमा लगेर राख्यो।
चैत १२ गतेदेखि उनीलगायत भारतबाट फर्केकाहररू क्वारेन्टाइनमा बसिरहेका छन्।

घर नजिक पुग्दा भट्ट्लाई घर जान मन नलागेको भने होइन।

तर, उनले आफूलाई नियन्त्रण गरे। कोरोना भाइरस संक्रमण भए घरपरिवारको हालत के होला? यसबारे सोचे।

उनले घरपरिवार र गाउँलाई जोखिममा पार्न चाहेनन्।

‘ मलाई घरपरिवारको स्वास्थ्यको चिन्ता थियो। मलाई संक्रमण भए घरपरिवारलाई पनि संक्रमण हुन सक्छ भन्ने डर र चिन्ताले क्वारेन्टाइनमा बसेको हुँ,’ भट्ट भन्छन्।

अहिलेसम्म क्वारेन्टाइनमा बसेका भट्टलगायतमा कोरोना भाइरसको लक्षण देखिएको छैन।

उनीहरू क्वारेन्टाइनमा बसेको १३ दिन पुगिसकेको छ। भोलि मंगलबार गाउँपालिकाले उनीहरूलाई घर पठाउँदै छ।

‘क्वारेन्टाइनमा बस्दा घरमा रहेका श्रीमती र छोराछोरीको खुब याद आउँछ। नजिकै भएर पनि देख्न पाएको छैन,’ उनी भन्छन्।

गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा दुःख–सुख जे जस्तो भए पनि १३ दिन कटाएको उनले बताए।

‘क्वारेन्टाइनमा बस्दा समस्या नभएको होइन तर आफू तथा घरपरिवारका लागि सहेर बसेका छौं। कोरोना भाइरस संक्रमणले गरिब, विपन्न तथा गरिखाने वर्गलाई विचल्लीमा पारेको छ,’ उनले भने।

भीडभाडबाट आएका र अन्य देशबाट आएकालाई कोरोना भाइरस संक्रमण हुनसक्ने भनेपछि क्वारेन्टाइनमा बसेको उनको भनाइ छ। अहिलेसम्म कुनै लक्षण नदेखिएको र भोलि मंगलबार १४ दिन पुगेपछि घर जाने उनले बताए।

‘घर गएपछि छोराछोरीलाई अँगालो हाल्न मन छ। यतिका दिन भइसक्यो घर नजिकै भएर पनि हेर्न र छुन पाएको छैन,’ उत्साही हुँदै उनी भन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय