कोरोना कहर प्रदेश २ : चार दिनमा जम्मा १३ नमूना परीक्षण

प्रादेशिक अस्पताल जनकपुरले चार दिनमा जम्मा १३ जना कोरोना शंकास्पदको स्वाब परीक्षण गरेको छ।

४३ जना कोरोना शंकास्पदको स्वाब संकलन भएकोमा प्रादेशिक अस्पताल जनकपुरस्थित ल्याबमा १३ जनाको नमूना परीक्षण भएको हो। प्रादेशिक अस्पतालमा जडान गरिएको पीसीआर मेसिनले प्रतिदिन १० नमूना परीक्षण गर्ने बताइएको छ ।

प्रादेशिक अस्पतालमा संकलन गरिएको मध्ये ३० वटा नमूनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रादेशिक अस्पताल जनकपुरमा गत शुक्रबारदेखि कोरोना शंकास्पदको स्वाब परीक्षण सुरु भएको हो । प्रादेशिक अस्पताल जनकपुरमा यसअघि संकलन गरिएको मध्ये २१ र सोमबार नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजबाट पठाइएको ९ वटा नमूनाका रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्तासमेत रहेका वरिष्ठ स्वास्थ्य अधिकृत विजय झाले जानकारी दिए ।

यसैगरी काठमाण्डौंको टेकुस्थित प्रयोगशाला पठाइएको ६० मध्ये ३१ र धरान पठाइएको मध्ये १ नमूनाको रिपोर्ट आउन बाँकी रहेको उनले जनाए । प्रवक्ता झाले परीक्षणको लागि टेकु पठाइएको मध्ये २१ र धरान पठाइएको मध्ये ९ जनाको रिपोर्टसमेत निगेटिभ रहेको जनाए ।
यता प्रदेश २ मा सोमबार साँझसम्म ८ सय ६९ जना क्वारेन्टाइन, १ हजार १७७ जना होम क्वारेन्टाइन र २५ जना आइसोलेसनमा रहेको उनले बताए ।

सबैभन्दा बढी सप्तरीमा २६४ जना र सबैभन्दा कम २९ जनालाई सर्लाहीस्थित क्वारेन्टाइनमा राखिएको उनले बताएका छन् । यसैगरी महोत्तरीमा सबैभन्दा बढी ७८० जना होमक्वारेन्टाइनमा रहेको झाले जनाए ।

सिरहास्थित क्वारेन्टाइनमा ११७ र होम क्वारेन्टाइनमा ७७, धनुषामा क्वारेन्टाइनमा ६६, होम क्वारेन्टाइनमा ६० र आइसोलेसनमा १० जना रहेको प्रवक्ता झाले जानकारी दिएका छन् ।

रौतहटमा २३१ जना क्वारेन्टाइनमा, ५१ जना होमक्वारेन्टाइन, बारामा ५० जना क्वारेन्टाइनमा, २५ जना होम क्वारेन्टाइन र ९ जनालाई आइसोलेसनमा राखिएको छ । पर्सामा ५६ जना क्वारेन्टाइनमा, ७८ जना होम क्वारेन्टाइनमा र ५ जना आइसोलसनमा रहेको झाले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय