समस्या भए जनप्रतिनिधिमार्फत् आउनुस्, घरघरै सामग्री पुर्‍याउँछौं : धनगढी मेयर वड

पछिल्लो तथ्यांकले मुलुकभर नौजनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको देखाएको छ। ती नौमध्ये चारजना सुदूरपश्चिम प्रदेशका हुन्। गत शनिबार कैलाली र कञ्चनपुरमा थप तीन संक्रमित भेटिएपछि सुदूरपश्चिममा चारजना पुगेका हुन्।

भारत मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष र भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यस्तै कैलालीकै ३४ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखियो। उनी यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषकी भाउजु हुन्। युनाइटेड अरब इमिरेट्। (युएई) बाट फर्किएका उनका देवरमा चैत १४ गते कोरोना पुष्टि भएको थियो।

अहिले त्यहाँ संक्रमित सबै सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। अस्पताल प्रशासनका अनुसार उनीहरू सबैको अवस्था सामान्य छ। तर, एकै दिन सुदूरपश्चिममा तीनजनामा कोरोना पुष्टि हुँदा त्यहाँको जनजीवन थप त्रसित बनेको छ।

भारतबाट ठूलो संख्यामा नेपाली भित्रिएका र उनीहरूको परीक्षण हुन नसकेको अवस्थामा यसले थप जोखिम बढ्ने सम्भावना बलियो छ। यस्तो अवस्थामा प्रदेश सरकारले उच्च सुरक्षा व्यवस्था नअपनाए समस्या जटिल बन्ने निश्चितस्तै छ।

भारतबाट सुदूरपश्चिम भित्रिनेहरूका लागि कैलालीको गौरीफन्टा नाका पनि प्रमुखमध्ये एक हो। चैत ११ गते धनगढीको गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए ती २१ वर्षीय कोरोना संक्रमित युवक।

सरकारले लकडाउन गरिसकेको अवस्थामा गौरीफन्टा पुगेका उनी सयौंको भीडमा थिए। उनी त्यहाँबाट आएर अन्य कतिको सम्पर्कमा पुगे? त्यको कुनै लेखाजोखा छैन।

यस्तो बेला सबै स्थानीय निकायले ठूलो सावधानी अपनाउनु नै बुद्धिमानी हुन्छ। एकै दिन तीनजनामा कोरोना देखिएपछि धनगढी उपमहानगरपालिकाले पनि सुरक्षा व्यवस्थामा थप कडाई गरेको छ।

धनगढी उपहानगरपालिकाका मेयर नृपबहादुर वडका अनुसार अत्यावश्यक दूध र स्वास्थ्यका सवारीसाधन बाहेक अन्य सबै बन्द गरेर पूर्णरूपमा लकडाउन गरिएको छ। निकै समस्यामा परेकाहरूलाई महानगरले ‘होम डेलिभरी’ को व्यवस्था मिलाएको उनले बताए।

उनले अहिले गौरीफन्टा नाकाको अवस्था सामान्य रहेको र दैनिकउपभोग्य वस्तु तथा पेट्रोलियम पदार्थमात्र भारतबाट भित्रिरहेको जनाए। सिमानाकामा सुरुदेखि नै स्वास्थ्यकर्मी पनि परिचालन गरिएको उनको भनाइ छ । कुनै माग र फाइदाका लागि गरिएको लकडाउन नभएर सबै नेपालीको जीवन रक्षाका लागि गरिएको भएकाले सबैलाई पालन गर्न मेयर वडले आग्रह गरेका छन्।

‘यो निकै अप्ठ्यारो परिस्थिति हो। हाम्रो प्रयासमात्रै कोरोनासँग लड्न पर्याप्त हुँदैन। हामीलाई जनताको साथ पनि उत्तिकै चाहिन्छ,’ उनले भने, ‘बरु दालभातमात्रै खाएर भए पनि बाँचौं। धनियाँ किन्ने वा कुनै अन्य बहानामा घर बाहिर निस्केर भीड नगरौं। समस्यामा पर्नुभयो भने आफ्नो वडाका जनप्रतिनिधिमार्फत् आउनुस्, उपमहानरपालिकाले घरघरमै अत्यावश्यक सामग्री पुर्‍याउने छ।’

मुख्यमन्त्री, स्वास्थ्य मन्त्रालय लगायतसँग अहिलेसम्म कैलालीमा प्रवेश गरेकाहरूको जाँज कसरी गर्न सकिन्छ भन्ने छलफलमा आफू रहेको उनले जानकारी दिए। उनले यस विषयमा छलफल गर्न आफूले आजै मुख्यमन्त्रीलाई भेट्ने जानकारी दिए।

‘धनगढी उपहानगरपालिकाका १० वटा वडा भारतसँग जोडिएका छन्। ती विभिन्न ठाउँबाट लुकेर अबैध रूपमा पनि ठूलो संख्यामा नेपाली भित्रिएका छन्,’ मेयर ओडले हेल्थपोस्ट नेपालसँग टेलिफोनमा भने, ‘उनीहरूको उचित व्यवस्थापन गर्न नसक्नु हाम्रो कमजोरी रहे पनि अब तिनीहरूको खोजी गरेर स्वास्थ्य परीक्षण गर्नुपर्छ र त्यसका लागि जनताले पनि साथ दिनुपर्छ।’

उनले एकजनामा कोरोना संक्रमण भए पूरै परिवार र समाजका मान्छेको स्वास्थ्य नै जोखिममा हुने भएकाले भारतबाट आएका नागरिकलाई आफूहरूको सम्पर्कमा आएर स्वास्थ्य परीक्षण गराई सहयोग गरिदिन आग्रह गरे।

चैत ११ र १२ गते गौरीफन्टा नाकाबाट ठूलो संख्यामा भित्रिएकाले सबैले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने र स्वास्थ्य परीक्षण गर्नुपर्ने उनको भनाइ छ। उनले कोरोना संक्रमितको परीक्षणलाई बढाउन मेसिनको संख्या थप्न सक्ने अवस्था भए सेती प्रादेशिक अस्पतालमा त्यसका लागि पनि सहयोग गरिदिन केन्द्र सरकारलाई आग्रह गरे।

उनले अहिले गौरीफन्टा नाकाको अवस्था सामान्य रहेको र दैनिकउपभोग्य वस्तु तथा पेट्रोलियम पदार्थमात्र भारतबाट भित्रिरहेको जनाए।

सिमानाकामा सुरुदेखि नै स्वास्थ्यकर्मी पनि परिचालन गरिएको उनको भनाइ छ। कुनै माग र फाइदाका लागि गरिएको लकडाउन नभएर सबै नेपालीको जीवन रक्षाका लागि गरिएको भएकाले सबैलाई पालन गर्न मेयर वडले आग्रह गरेका छन्।

उनले कोरोना संक्रमितको उपचारका लागि आवश्यक सामग्री अभाव नरहेको र थप प्रबन्ध प्रदेश सरकारले गरिरहेको बताए। त्यसका लागि आफूहरूले पनि पहल गरिरहेको वडको भनाइ छ। कोरोना संक्रमण बढ्यो भन्दै त्रसित नबनी थप सुरक्षित बनेर घरमै बस्न उनले उपमहानगरवासीलाई आग्रह गरे।

उनले कुन वडामा कति नागरिक भारतबाट भित्रिए भन्ने तथ्यांक संकलन भइरहेको र स्वास्थ्य परीक्षण थालिएको जानकारी दिए। कोही लुकेर आएका भए उनीहरूलाई पनि सम्पर्कमा आउन वडले आग्रह गरे।

भोलि विषम परिस्थिति आयो भने के गर्ने भन्ने विषयमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकाले हातोमालो गरेर जाने विषयमा अहिलेदखि नै तयारी गर्नुपर्ने उनले बताए।

सबैको ऐक्यबद्धताबाट मात्रै कारोना महामारीसँग लड्न सकिन्छ। म सबैसँग हातेमालो गरेर अगाडि बढ्न तयार छु,’ उपहानगरप्रमुख वडले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय