अनिकालकाे अन्न जाँड बनाउनु र महामारीमा पिपिई दुरुपयोग उस्तै अपराध

पिपिई भनेको के हो?

पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (Personal Protective Equipment/PPE) भनिने संक्रामक क्षेत्रमा काम गर्दा व्यक्तिगत सुरक्षाको लागि लगाउनुपर्ने अति संवेदनशील सुरक्षा कवच हो।

यसमा टाउकोदेखि खुट्टासम्मलाई संक्रमणबाट बचाउनका लागि टोपी, चस्मा, फेस शील्ड, सर्जिकल वा एन ९५ मास्क, पूरै शरीर ढाक्ने गाउन, बुट, बुट कभर आदि हुन्छ।

कसलाई चाहिन्छ पिपिई?

आँखाले देख्न नदेखिने भाईरस, व्याक्टेरियाहरु विभिन्न माध्यमबाट शरीरमा प्रवेश गरेर संक्रामक रोगहरु लाग्नेगर्छ। संक्रामक रोग लागेका विरामीहरु भर्ना गरिने, जाँच गरिने अस्पतालका वार्ड, ल्याब क्षेत्रहरु संक्रामक क्षेत्र हुन्।

यस्तो ठाउँमा लामो समय काम गर्ने, संक्रामक विरामीको प्रत्यक्ष संपर्कमा काम गर्ने स्वास्थ्यकर्मी, सरसफाइका कर्मचारीहरुमा संक्रमण हुनसक्ने उच्च जोखिम रहन्छ। त्यसैले ती स्वास्थ्यकर्मीहरु र कर्मचारीहरुले त्यस्तो अति जोखिम क्षेत्रमा काम गर्दाको समयमा पिपिई लगाउनुपर्ने हुन्छ।

संक्रमणको जोखिमको स्तर अनुसार त्यसबाट बचाउन लगाउनुपर्ने पिपिईको पनि स्तर हुन्छ।

कोरोना भाईरस संक्रमित विरामीहरुको नाक, मुख वरीपरी सास, थुकको छिटा, सिंगान, र्यालहरुसँग प्रत्यक्ष संपर्कमा आउने प्रकृयाहरु जस्तै त्यस्ता विरामी सिकिस्त भएर मुखबाट पाइप हाल्ने, मुटु बन्द भएर छाती थिच्ने, नाकबाट पाइप हाल्ने, मुखबाट पाइप हाली खाना नली वा सास नली जाँच गर्ने आदी गर्दा विरामीमा भएको भाइरस उसको नाक मुखबाट बाहिर हावामा निस्कन्छ र त्यहा भएका स्वास्थ्यकर्मीहरुमा संक्रमण हुने उच्च जोखिम रहन्छ।

त्यसैले यस्ता उपचार प्रकृया गर्दा अति सुरक्षित भएर उच्च स्तरको पीपीई लगाएर गर्नुपर्छ, डबल गाउन, एप्रोन, चस्मा, फेस शिल्ड, डबल ग्लोब्स, छालाको कुनै पनि भाग नदेखिने गरेर छोपिएर गर्नुपर्ने हुन्छ।

कोरोना संक्रमित वा शंकास्पद भर्ना गरिने वार्ड, इमर्जेन्सीमा काम गर्ने स्वास्थ्यकर्मीहरुले सर्जिकल वा एन-९५ मास्क, चश्मा, गाउन, पन्जा लगाउनुपर्ने हुन्छ। त्यस्तो विरामी भर्ना गरिएको वार्डमा विरामीका आफन्त जान चाहेमा उनीहरुलाई पनि मास्क, गाउन, पन्जा उपलब्ध गराउनुपर्छ, नभए भेट्न दिनु हुँदैन।

फिभर क्लिनिकहरुलाई सकेसम्म विरामीसँग १ मिटरको दूरी कायम राख्न सकिने गरी बनाउनुपर्छ। स्वास्थ्यकर्मी शीशाको क्याबिन भित्र बसेर विरामी बाहिर बसी जाँच्ने उपायहरु पनि लगाइदैछ। तर यो सधैं सम्भव हुँदैन, विरामीको नजिकबाट जाँच गर्नुपर्ने हुन्छ ज्वरो, खोकीका विरामीहरु पनि आउनसक्ने भएकोले मास्क, गाउन, पन्जा, चस्मा लगाएर बस्नुपर्ने हुन्छ।

विरामीसँग १ मिटरको दूरी राख्न सकिने क्षेत्रहरु जस्तै सुरुमा हेरिने ट्रायज एरियाहरुमा विश्व स्वास्थ्य संगठनको निर्देशिका अनुसार मास्क, चस्मा नलगाए पनि हुन्छ। तर आफू बढी सुरक्षित हुनको लागि सर्जिकल मास्क लगाए हुन्छ। साथै विरामीले खोक्दा विरामीको सिधै अगाडि नपर्ने गरी बस्नुपर्छ। त्यस्तै सकेसम्म विरामीलाई पनि मास्क लगाउन भन्नुपर्छ।

केही नसकिए पनि यस्तो बेला सकेसम्म घर भित्र रहेर, बेलाबेलामा हात धोएर, अनावश्यक सर्जिकल मास्क, एन-९५ मास्क, पिपिई प्रयोग नगरिदिएर पनि कोरोना भाईरससँग फ्रन्ट लाइनमा लडिरहेका स्वास्थ्यकर्मीहरुलाई ती उपलब्ध गराउन भूमिका खेल्न सक्नुहुन्छ। यो पनि एउटा ठूलो सहयोग हुनेछ।

कसलाई पिपिई चाहिदैन?

अहिले सामाजिक सन्जालहरुमा माथि भनिएका जस्ता संक्रामक क्षेत्र बाहेक अन्य क्षेत्रमा काम गर्ने व्यक्ति, कर्मचारीहरुले पनि पीपीई लगाएर, एन-९५ मास्क लगाएर फोटोहरु हालेको प्रशस्त देख्न पाईन्छ। कोरोना भाईरसको प्रकोप र पिपिई र एन-९५ मास्कको अभाव बीच यसरी जथाभावी एन-९५ मास्क र पिपिई लगाउनु भनेको अनिकालको बेला अन्नको जाँड बनाउनु जस्तै हो, यो एक प्रकारको अपराध नै हो।

यसको दुरुपयोग कम गर्नको लागि पिपिईका बारेमा जानकारी दिनुको साथै यसको प्रयोगमा कडाइ गर्ने र कोरोना भाईरसको अनावश्यक डरत्रास कम गर्न भाईरस भनेको के हो, कसरी सर्छ, हामी कसरी बच्न सक्छौं भनेर पनि चेतना जगाउनु पर्ने देखिन्छ।

• अफिसको मिटिङमा बस्दा (चाहे त्यो कोरोना भाईरसको बारेमा नै किन नहोस्) सामाजिक दूरी कायम गरिएको छ भने सर्जिकल, एन-९५ मास्क चाहिँदैन। लाउनै परे कपडाको मास्क लगाए हुन्छ।

• पत्रकारहरुले रेडियो, टिभीमा कार्यक्रम चलाउँदा सर्जिकल, एन-९५ मास्क चाहिँदैन।

• रेडियो, टिभीमा कार्यक्रम चलाउँदा पन्जा लगाउनुपर्दैन।

• बाहिर खुलामा काम गर्दा संक्रमणको खतरा हुँदैन, त्यसैले त्यस्तो वातावरणमा काम गर्ने कर्मचारीलाई पिपिई चाहिदैन।

• तरकारी पसल, किराना पसल, औषधि पसलमा सामान दिन, पैसा लिन पन्जा लगाउनु पर्दैन। पैसामा भाईरस नै भए पनि छालामा छुदैमा सर्ने हैन, जबसम्म तपाईंले त्यो हात नाक, मुख, आँखामा लग्नुहुन्न, तबसम्म तपाईंलाई संक्रमण हुँदैन।

• त्यसैले संक्रमणको जोखिम एकदमै कम भएको ठाउँहरुमा पन्जा लगाउने, सर्जिकल, एन-९५ मास्क लगाउने भन्दा बेलाबेलामा सेनिटाइजर वा साबुनपानीले हात सफा गर्ने, कपडाको मास्क लगाउने, नाक, मुख, आँखामा हात नलैजाने गर्नुपर्छ।

संसारभर फैलिएको यस्तो प्रकोपको बेलामा जती नै बनाए पनि मास्क, गाउन, पिपिईको अभाव नै हुन्छ।

अमेरिका, बेलायत जस्तो देशमा नि यसको अभाव देखिएको छ। यस्तो प्रकोपको बेला आत्तिएर भन्दा सचेत भएर सही सोचका साथ काम गर्नुपर्छ।

सरकारले मात्रै, स्वास्थ्यकर्मीहरुले मात्रै यो लडाईं लड्न सक्दैनन्, यसमा सबैको साथ चाहिन्छ र सबैको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ।
कतिले आफ्नो सीप, विशेषज्ञता अनुसार मास्क बनाउने, फेस शील्ड बनाउने, विरामी जाँच गर्ने क्याबिन बनाउने आदि कामहरुमा सहयोग गरिराखेका छन्।

केही नसकिए पनि यस्तो बेला सकेसम्म घर भित्र रहेर, बेलाबेलामा हात धोएर, अनावश्यक सर्जिकल मास्क, एन-९५ मास्क, पिपिई प्रयोग नगरिदिएर पनि कोरोना भाईरससँग फ्रन्ट लाइनमा लडिरहेका स्वास्थ्यकर्मीहरुलाई ती उपलब्ध गराउन भूमिका खेल्न सक्नुहुन्छ। यो पनि एउटा ठूलो सहयोग हुनेछ।

आउनुहोस् हामी सचेत नागरिक बनौं, २१औं शताब्दीको ठूलो प्रकोपमा आ-आफ्नो तर्फबाट सक्दो सहयोग गरौं, कोरोना भाईरससँगको लडाईंमा आआफ्नो ठाउँबाट योगदान दिऔं। आफूमा विश्वास राखौं, यो युद्ध एकदिन हामी सबै मिलेर जित्नेछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय