सधैं गुल्जार गाउँ त्रसित र सुनसान!

पारिपट्टि महाकाली नदी एकनासले बगिरहेको छ। तर, त्यही नदी छेउका गाउँ अहिले महाकालीजस्तै शान्त छैनन्। मान्छेसँग मान्छे डराउँछन्, झस्किन्छन् र बोल्न पनि अप्ठ्यारो मान्छन्।

महाकालीकै नाममा रहेको नगरपालिकामा पनि अवस्था उस्तै छ। अरू बेला मौसमी ‘लाहुरे’ हरू गाउँ फर्किंदा उत्साह बोकेर आउने गर्थे।

यसपालि ज्यान जोगाएर आउन पाएकैमा खुशी छन्। तर, उनीहरूसँगै गाउँमा कोरोना भाइरस भित्रियो कि भन्ने त्रासमा गाउँले छन्।

ज्यानै गयो भने पनि आफन्त भेटेर आफ्नै ठाउँमा जाओस् भनेर महाकाली नदीको चिसो कहर छिचोल्दै धेरै दार्चुलाबासी फर्किएका छन्।

गत साता चारजनाले महाकाली पार गर्न खोज्दा तीनजना मातृभूमि पुगेको र एकजना भने भारततर्फकै धार्चुला फर्किएको समाचार बन्यो। ती तीनलाई प्रहरीले पक्राउ गर्‍यो।

तर, त्यस्तै जोखिम मोलेर १ सय ५० जनाभन्दा धेरै मानिस दार्चुला आइसकेका छन्।

भारतीय क्वारेन्टाइनमा १ हजार ६ नेपाली
भारतका नयाँदिल्ली, मुम्बई, पञ्जाब, हरियाणालगायत सहरबाट फर्किएर आएका नेपालीलाई त्यहाँको केन्द्र सरकार र उत्तराखण्ड प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा राखिएको छ।

उत्तराखण्ड प्रहरीका अनुसार धार्चुलामा निर्माण गरिएका चारवटा क्वारेन्टाइनमा १ हजार ६ जनालाई आश्रय दिइएको छ। उनीहरूको खाने र बस्ने प्रबन्धमा सुरक्षाकर्मी परिचालन गरिएको छ। र, केही स्वास्थ्यकर्मी पनि परिचालित छन्।

क्वारेन्टाइनमा बस्नेहरू प्रायः दार्चुलाका छन्। बैतडी र बझाङका पनि धेरैजना भारतीय क्वारेन्टाइनमा बसेका छन्।

खाने व्यवस्था भए पनि उनीहरूको बस्ने ठाउँ गतिलो छैन। खुला ठाउँमा धेरैजनालाई राखेको हुनाले एकजनालाई संक्रमण भए अरू धेरैलाई सर्न सक्ने सम्भावना पनि उत्तिकै छ।

काम गरेर घर फर्किएका मजदुरहरूको यो हाल छ। तर, हाम्रो प्रदेश र संघीय सरकारले उनीहरूको व्यवस्थापनबारे चिन्ता–चासो केही लिएका छैनन्। यो क्षेत्रका नागरिकको मौसमी व्यापार र रोजगारको गन्तव्य भारतीय सहर नै हुन्।

महाकालीमा पौडिएर घर आए १५० भन्दा धेरै गाउँले
नेपाल–भारत सीमा क्षेत्रबाट पैदलै घर आउन नपाएपछि सर्वसाधारणले वैकल्पिक बाटो त रोज्ने नै भए। नेपाल सरकार, प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि आफ्ना नागरिकको उद्धार र व्यवस्थापन गर्नेतर्फ सोच नै बनाएनन्।

बरू सिमानाका ठप्प पारेर महाकाली नदीमा हामफाल्न बाध्य पा¥यो सरकारले भारतबाट फर्किने नागरिकलाई। नागरिकको पीडामा मलहम लगाउनुपर्ने बेलामा सरकारले अरू आहत चाहिँ दियो।

हामी १४ दिनसम्म क्वारेन्टाइनमै बस्छौं भन्ने नागरिकको आवाज पनि सुन्न तयार भएन सरकार। त्यसैले अहिले पनि भारत सरकारको सहारा खोज्न बाध्य छन् उनीहरू।

महाकाली नदीमा छलाङ लगाएर आउनेहरू आफूमात्रै आएनन्। गाउँमा त्रास पनि लिएर आएका छन्। दिल्लीबाट काम गरेर फर्किएकाको सूची लामो छ।महाकाली नगरपालिका–७ मै पनि पाँचजना दिल्लीबाट फर्किएका छन्। दुई साताअघि फर्र्किएका उनीहरूलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छैन। भाग्यवश, उनीहरू बिरामी पनि भएका छैनन्।

कतिपय नागरिक महाकाली नदी पार गरेर घर आइसकेका छन्। दार्चुलामै पनि १ सय ५० जति युवा नदीमा पौडी खेलेर आएका छन्। उनीहरू प्रायः १५ देखि ४० वर्षसम्मका छन्। पौडी खेल्न नआउनेहरू मात्रै महाकाली पारिको भारतीय क्वारेन्टाइनमा बसिरहेका छन्।

पौडिएर नेपाल आएकाहरू पनि सबै दार्चुलाका छैनन्। केही बैतडी र बझाङका पनि छन्। दार्चुलाबाट एक दिन हिँडेपछि बैतडी र बझाङ पुगिन्छ। भारतबाट प्रवेश गरेका कसैलाई कोरोना भाइरस संक्रमण भएको भए ती व्यक्तिबाट गाउँ नै असुरक्षित हुने सम्भावना छ।

त्रासै–त्रासमा गाउँ, बोल्न पनि डर!
महाकाली नदीमा छलाङ लगाएर आउनेहरू आफूमात्रै आएनन्। गाउँमा त्रास पनि लिएर आएका छन्। दिल्लीबाट काम गरेर फर्किएकाको सूची लामो छ।

महाकाली नगरपालिका–७ मै पनि पाँचजना दिल्लीबाट फर्किएका छन्। दुई साताअघि फर्र्किएका उनीहरूलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छैन। भाग्यवश, उनीहरू बिरामी पनि भएका छैनन्।

तर, यसै सातामात्रै महाकाली नगरपालिकामा झन्डै ७० युवा भित्रिएका छन्। उनीहरूको चेकजाँच र सेल्फ क्वारेन्टाइनको व्यवस्था भएको छैन। उनीहरू खुला र स्वतन्त्ररूपमा हिँडिरहेका छन्।

राज्यले आवश्यक पहल नगरेसम्म कोरोना भाइरस संक्रमितको उपचार त टाढाको कुरा सामान्य चेकजाँच पनि असम्भव छ। त्यसैले तत्काललाई राज्यका तर्फबाट परीक्षणको व्यवस्था हुनैपर्छ।

लकडाउनको अवधिमा कोरोना भाइरस परीक्षण गर्ने र शंका लागे तत्काल क्वारेन्टाइनमा राखेर उपचार गर्नुपर्छ। नत्र सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमणले भयावह रूप लिन बेर लाग्दैन।

प्रदेश र स्थानीय तहमात्रै पनि सचेत भए यो महामारीको संकट टार्न धेरै समय लाग्दैन। यसका लागि जवाफदेही प्रशासन र उत्तरदायी जनप्रतिनिधि आवश्यक छ। जनताप्रतिको दायित्व र जिम्मेवारी पूरा गर्नका लागि राज्यका सम्पूर्ण निकाय तत्पर हुनुपर्छ।

(दार्चुलाका स्थानीय पत्रकार रैखोलासँग हेल्थपोस्ट नेपालकर्मी अशोक अधिकारीले गरेको टेलिफोन कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय