यसकारण प्रदेश २ कोरोनाको उच्च जोखिममा

यसअघि विदेशबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो। शनिबार धनगढीकी एक महिलामा कोरोना पुष्टि भएको छ। ती महिला धनगढीका ३४ वर्षीय युवकको भाउजू हुन्।

चिकित्सकहरुले यस घटनालाई ‘लोकल ट्रान्समिसन’ सुरु भएको भन्दै खतराको घण्टीको रुपमा हेरेका छन्। र, यसलाई कोरोना संक्रमणको दोस्रो चरणको संज्ञा दिँदै ‘लकडाउन’ लाई कडाइका साथ पालन गरी सामाजिक दूरी कायम गर्न सुझाव दिएका छन्। ‘लोकल ट्रान्समिसन’ रोक्न नसकिए कोरोना संक्रमण समुदायमा फैलिने खतरा रहेको चिकित्सकहरु बताउँछन्।

एक व्यक्तिबाट अर्कोमा कोरोना संक्रमणको घटना धनगढीमा देखिएपनि प्रदेश २ पनि यसखाले जोखिमबाट चिकित्सकहरु बताउँछन्। भारतलगायत तेस्रो मुलुकमा सबै भन्दा बढी जनशक्ति प्रदेश २ बाट गएको र अहिले उनीहरु फर्किएकोले जोखिम बढेको चिकित्सकहरु बताउँछन्।

अर्कोतर्फ सीमानाका बन्द रहेपनि चोर बाटोबाट आउने क्रम अझै जारी रहेका घटनाहरुले थप जोखिम बढेको उनीहरुको भनाइ छ। सीमानाकामा कडाइ गर्न नसकिए स्थिति नियन्त्रण बाहिर जानसक्ने निरन्तर फिल्डमा खटिएका उच्चपदस्थ अधिकारीहरु बताउँछन्।

अहिलेसम्म प्रदेश २ मा कोहिपनि कोरोना संक्रमित नभेटिएपनि जोखिमलाई नकार्न सक्ने अवस्था नरहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता वरिष्ठ स्वास्थ्य अधिकृत विजय झा बताउँछन्।

‘हालसम्म ७९ जना शंकास्पदको स्वाब नमूना परीक्षण भएको छ, जसमध्ये ४४ जनाको निगेटिभ भेटिएको छ, ३५ जनाको रिपोर्ट आउन बाँकी छ,’ झा भन्छन्,‘तर, ढुक्क भएर बस्ने अवस्था छैन्, सीमानाका अझै कडा हुनसकेको छैन्, नाका कडा नगरिए समस्या बल्झिने निश्चित छ।’

‘लुकिछिपी भारतबाट अझै मानिसहरु आइरहेका छन्, रोक्न सकिएको छैन्,’ उनले भने, ‘चोरेर सीमा कटेपनि क्वारेन्टाइनमा बस्न मानेका छैनन्, घरपरिवारले पनि त्यस्ता व्यक्तिहरुलाई लुकाएर राखिरहेका छन्। संक्रमणको जोखिम बढ्दो छ।’

भारत तथा विदेशबाट आएका त्यस्ता व्यक्तिहरुलाई क्वारेन्टाइनसम्म पुर्‍याउन परिवारका सदस्य तथा स्थानीय जनप्रतिनिधिहरुले भूमिका खेल्नुपर्ने उनको भनाइ छ। जनप्रतिनधिहिरुले भोटको चिन्ता नगरी भारत तथा विदेशबाट आएकाहरुलाई तत्काल क्वारेन्टाइनसम्म पुर्‍याउन सहयोग गर्नुपर्ने झाले बताए।

प्रदेश २ सबैभन्दा बढी जोखिममा रहेको भन्दै प्रवक्ता झाले प्रदेशलाई जोगाउन सबैलाई क्वारेन्टाइनमा राखेर जाँच गर्नुको विकल्प नरहेको बताए। क्वारेन्टाइनपनि स्तरीय हुन नसकेको भन्दै एउटा कोठामा एकजनामात्र राख्नुपर्ने झाले धारणा राखे।

‘प्रदेश २ मा छिर्नुअघि क्वारेन्टाइनमा जाने व्यवस्था गर्नु अहिलेको आवश्यक्ता देखिएको छ,’ झा भन्छन्,‘जनप्रतिनिधिदेखि सुरक्षाकर्मीहरुले यसको सुनिश्चितता नगरे चुनौती बढ्न सक्दछ।’

‘लकडाउन प्रभावकारी हुन सकेको छैन्, नाकामा कडाइ हुनसकेको छैन्, बढीभन्दा बढी परीक्षण जरुरी छ,’ उनले भने,‘अहिले हामी पहिलो चरणमा छौं, दोस्रो–तेस्रो चरणमा गए अवस्था अनियन्त्रित हुनेछ।’

सुरक्षा उपकरणको अभाव

कोरोना संक्रमणको जोखिम बढि रहेकोबेला प्रदेश २ मा स्वास्थ्यकर्मीहरुलाई सुरक्षा उपकरणको अभाव देखिएको छ। कोरोना जाँच हुने अस्पतालदेखि आइसोलेसन वार्ड र क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई पीपीई, मास्क, पञ्जा, चश्मालगायतका सुरक्षा उपकरणहरु प्रदेश २ मा अपुग देखिएको छ।

गत मंगलबार संघीय सरकारले प्रदेश २ को लागि कोरोना जाँच गर्न एकथान पीसीआर मेसिनका साथै एक हजार थान पीपीई पठाएको थियो। प्रदेश सरकारले जनकपुरस्थित प्रादेशिक अस्पतालमा १५० र अन्य जिल्लाहरुमा ५०/५० थान पीपीई पठाएको सामाजिक विकास मन्त्रालयका आपूर्ति निर्देशक डा.प्रमोद यादवले जानकारी दिए।

डा.यादवले प्रदेशलाई उपलब्ध पीपीईलगायतका सामग्रीहरु अपुग रहेकोले समस्या देखिएको बताए। पीपीई सबैलाई आवश्यक नभएपनि कोरोनाको शंकास्पद बिरामीको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मी तथा स्वाब जाँच हुने ल्याबका प्राविधिकहरुलाई जरुरी रहेको उनको भनाइ छ।

‘हामीसँग पर्याप्त सामग्री आइपुगेको छैन् संक्रमणको हिसाबले प्रदेश २ सबैभन्दा बढी जोखिमा देखिएको छ,’ यादव भन्छन्,‘पीसीआर मेसिनलगायत पीपीईहरु पर्याप्त संख्यामा नहुँदा नमुना परीक्षणले तिव्रता पाउन सकेको छैन्।’

प्रक्रियागत झमेलाका कारण चाहेरपनि आफूहरुले आवश्यक सामग्री खरिद गर्न नसकेको डा. यादवले बताए। ठीक अनुमान गर्न गाह्रो रहेपनि अहिलेको अवस्थामा प्रदेश २ लाई तत्काल पाँच हजार थान पीपीई आवश्यक रहेको उनको भनाइ छ।

चिकित्सकलाई सहयोग गर्न मुख्यमन्त्रीको आग्रह

निजी अस्पतालले बिरामी जाँच्न छोडेको भन्दै केहीदिनअघि आक्रोशित बनेका मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणको अभियानमा साथ दिन चिकित्सकहरुलाई आग्रह गरेका छन्। चिकित्सकको सुरक्षामा प्रदेश सरकारले कन्जुस्याईं नगर्ने भन्दै राउतले सहयोग गर्न आग्रह गरेका हुन्।

मुख्यमन्त्री राउतले चिकित्सकको बिमा, पीपीईलगायतका सुरक्षा सामग्री उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको बताएका छन्।

प्रदेश सरकारले स्वास्थ्यकर्मीहरुलाई २५ लाखको सुरक्षा बिमा गरेको छ। यसैगरी चिकित्सकको हकमा तलबको शतप्रतिशत, प्राविधिकको हकमा ७५ प्रतिशत र अन्य कर्मचारीको हकमा ५० प्रतिशत भत्ता बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय