हामी पूर्णजोखिममा छौं, न स्वास्थ्यकर्मी छन् न स्वास्थ्य सामग्री : मेयर सुरेन्द्र विष्ट

कोरोना भाइरस महामारीले नेपाललाई त्रसित र आक्रान्त बनाइसकेको छ। मुलुकमा हालसम्म नौजनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने एकजना उपचारपछि घर फर्किसकेका छन्।

हिजो शनिबार तीनजनामा कोरोजना संक्रमण पुष्टि भयो। र, ती सबै सुदूरपश्चिम धनगढी तथा महेन्द्रनगरका स्थानीय हुन्। यसरी सुदूरमा भाइरसबाट संक्रमितको संख्या चार पुगेको छ।

पछिल्लो समय कोरोना भाइरस महामारीको ‘इपिसेन्टर’ सुदुरपश्चिम बनेको छ। तुलनात्मक हिसाबमा सुदूरमा संक्रमितको संख्या बढ्दै जाँदा महामारीले भयावह अवस्था सिर्जना हुने त्रास उत्पन्न भएको छ।

मुलुककै विकट मानिने सुदूरमा खुला सिमानाका कारण कारोनाको जोखिम झनै बढेको छ।

यस्तो जोखिमको अवस्थामा रहेको सुदूरको खुला सिमाना रहेको एक जिल्ला हो कञ्चनपुर। यहीँ रहेको भीमदत्त नगरपालिकाले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि आफूले सक्ने जति काम गरिरहेको जनाए पनि स्रोतसाधनले धान्न सकिने अवस्था भने छैन।

‘खुला सिमानाका कारण महामारीले भयावह रूप लिने खतरा बढेको छ। हामीसँग न स्वास्थ्यकर्मी छन् न स्वास्थ्य सामग्री,’ भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले आइतबार टेलिफोनमा हेल्थपोस्ट नेपालसँग भने, ‘महेन्द्रनगरमात्र होइन, समग्र सुुदूरपश्चिम पूर्णजोखिममा छ।’

कोरोना महामारी फैलिरहेको अवस्थामा खुला सिमानाले झन् महामारी भित्रिएको भन्दै उनले अस्पताल तथा स्वास्थ्य सेवाको हिसाबले पछि परेको सुदूरले संकटको सामना गर्नुपर्ने बताए।

महामारी बढिरहेका बेला कञ्चनपुरको गड्डाचौकी नाकबाट १ लाखभन्दा बढी सर्वसाधारण नेपाल प्रवेश गरेका थिए।

नेपाल प्रवेश गर्ने सबैमा कोरोना संक्रमण नरहे पनि कोहीमा लक्षण भने देखिन सक्थ्यो। तर, लाखौं सर्वसाधारणको घुइँचोमा भने सबैको स्वास्थ्य परीक्षण गर्न सम्भव थिएन।

लकडाउनको समयमा पनि सर्वसाधारण चोरबाटोबाट नेपाल भित्रिरहेको र यसले झनै समस्या निम्त्याउने मेयर विष्ट बताउँछन्।

‘नगपालिकामा अस्पताल र स्वास्थ्यकर्मीको अभाव त छँदै छ, व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) समेत छैन। यस्तो जोखिममा स्वास्थ्यकर्मीले कसरी काम गर्ने?,’ विष्टले भने, ‘आइसोलेसन तथा बेड अभाव भएकाले झन् समस्या भएको छ।’

सर्वसाधारणले सरकार तथा स्थानीय तहलाई साथ नदिए भयावह अवस्था आउन सक्ने भन्दै विष्टले स्थानीयलाई सचेत भई नियमकानुनको पलना गरिदिन आग्रह गरेका छन्।

लकडाउन उल्लंघन गरी नेपाल प्रवेश गरेका ५६ नेपाली र २९ भारतीयलाई नगरपालिकाले बैजनाथ स्कुलमा बनाइएको क्वारेन्टाइनमा राखेको विष्टले जानकारी दिए।

‘लकडाउन उल्लंघन गरेका ती सबैर्ला नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिरहेका छौं। रिपोर्ट आएपछि अवस्था हेरेर सम्बन्धित स्थानीय तहको जिम्मा लगाउँछौं,‘ मेयर विष्टले भने, ‘यो हामी सबैको स्वास्थ्य र जीवनको सवाल हो तर सर्वसाधारणले बुझ्दैनन्।’

विद्यालयमा रहेका ती ८५ जनाको खाने–बस्ने व्यवस्था नगरपालिकाले गरेको बताउँदै उनले खुला सिमाना भएकाले चोरबाटो प्रयोग गरेर आउनेले समस्यामा पारेको जानकारी दिए।

नगरपालिकामा रहेको महाकाली अञ्चल अस्पतालमा ल्याबसमेत नरहेको भन्दै उनले आइसोलेसन तथा बेडको अभाव रहेको बताए।

अस्पताल, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री अभाव हुँदाहुँदै नगरपालिकाले सबै स्वास्थ्यकर्मीलाई परिचालन गरेको जानकारी दिएको छ।

‘हाम्रा अस्पताल, स्वास्थ्यकर्मी वा सुरक्षाकर्मी हुन् वा हामी, सबै पूर्णजोखिममा छौं,’ मेयर विष्टले भने, ‘अक्सिजन तथा बेडको समेत समस्या छ।’

प्रदेश सरकारले ५० आइसोलेसन बेड निर्माणका लागि बजेट उपलब्ध गराएको छ भने नगरपालिका स्वयंले १ सय बेडको आइसोलेसन निर्माण गर्ने भएको छ।

सर्वसाधारणले लकडाउन पालना नगरेको विष्टले गुनासो गरे। ‘सर्वसाधारणले महामारीको गम्भिरता बुझेका छैनन्, लापरबाही गरिरहेका छन्। यो हाम्रै स्वास्थ्यका लागि हो भन्ने बुझेका छैनन्,’ उनले भने।

भीमदत्त नगरपालिकामा एम्बुलेन्स अभावसँगै चालकलाई लगाउन पिपिई सेट उपलब्ध गराउन नसकिएको उनको भनाइ छ।

सुदूरमा भारतबाट फर्केको ठूलो संख्या क्वारेन्टाइनमा छैनन्। गत फागुन २३ पछि करिब १ लाख ४८ हजार सर्वसाधारण भित्रिएका छन्। तीमध्ये कयौंले चोरबाटो प्रयोग गरेका थिए। उनीहरु क्वारेन्टाइनमा नगई सिधै गएर घरमै बसेका छन्।

कोरोना भाइरस रोकथाम गर्न सिमानाकामा हेल्थ डेस्क स्थापना गर्नुका साथै नगरपालिकाले सर्वसाधारणमा जनचेतना फैलाउने काम गरिरहेको मेयर विष्टले जानकारी दिए।
सिमा बन्द भएकै अवस्थामा भीमदत्त नगरपालिका–९ व्रह्मदेव क्षेत्रबाट नेपाल प्रवेश गरेका ११ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेको छ।

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार पुगेकोे छ। यसबाट संक्रमण थप बढ्न सक्ने आँकलन गरिएको छ।

अस्पतालमा बेड अभाव भएका कारण एउटै कोठामा धेरैलाई राख्नुपरेको गुनासो गर्दै मेयर विष्टले सर्वसाधारणलाई आफैं सचेत हुन आग्रह गरे।

नगरपालिकाले खाद्यसामग्री आपूर्ति सहज बनाउने र ज्याला मजदुरी गर्नेको विवरण संकलन गरिरहेको जनाएको छ।

भारतबाट आएकाले स्वास्थ्य परीक्षण गर्न आनाकानी गरिरहेको भन्दै विष्टले यही कारण सुदूरमा भयावह अवस्था आउन सक्ने अनुमान गरिएको बताए।

‘स्वास्थ्यकर्मीकै सुरक्षा भएन भने कसरी काम गर्न सकिन्छ?,’ विष्टले भने, ‘सुदूरले ठूलो संकटको सामना गर्नुपर्ने दिन नआउला भन्न सकिन्नँ।’

सर्वसाधारणले घरमै बसेर कोरोना भाइरस महामारी रोक्नुपर्ने उनको सुझाव छ। सबैलाई आफ्नो उत्तरदायित्व निर्वाह गर्न उनले आग्रह गरे।

नगरपालिकाले पनि लकडाउनको पूर्णपालना गराउन प्रयास गरिरहेको जनाएको छ। मेयर विष्टले अतिआवश्यक वस्तु आपूर्ति सहज गर्न आफूले काम गरिरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय