कोरोना नियन्त्रण गर्न प्रदेश सरकारलाई विज्ञहरूले दिए यस्तो सुझाव

विश्वभर महामारीको रुप लिइरहेको कोरोना संक्रमण रोकथाम गर्न विज्ञहरूले पिपिईदेखि मास्क प्रयोगसम्मको मापदण्ड निर्धारण गर्दै प्रदेश २ सरकारलाई विभिन्न सुझावहरू दिएको छ।

कोरोना महामारी रोकथामसम्बन्धी सुझाव दिन प्रदेश सरकारले गठन गरेको विज्ञ समूहले आइतबार आफ्नो प्रतिवेदन सरकारलाई बुझाउँदै यस्तो सुझाव दिएको हो।

विज्ञ समूहले बुझाएको प्रतिवेदनमा चिकित्सकीय सामग्रीको प्रयोगदेखि सामग्रीहरूको उपलब्धता, कोरोना संक्रमितहरूको उपचारमा संलग्न चिकित्सकको सुरक्षादेखि प्रोत्साहन भत्ता, विशेष अस्पताल निर्माणसहितको विषय समावेश गरिएको छ।

प्रतिवेदनमा पिपिईदेखि मास्क प्रयोगको मापदण्डपनि निर्धारण गरिएको छ। प्रतिवेदनमा कोरोना संक्रमित बिरामीको प्रत्यक्ष उपचार, ल्याब, क्वारेन्टाइन र आइसोलेनमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पिपिई, एन–९५ का साथै सर्जिकल मास्क, पञ्जा, चश्मालगायतका सामग्री उपलब्ध गराउन सरकारलाई सुझाव दिइएको छ।

स्वास्थ्यकर्मीहरूलाई सर्जिकल मास्क, ह्याण्डवास र पञ्जा उपलब्ध गराउनुपर्ने प्रतिवेदनमा भनिएको छ। सामान्य मानिसलाई कपडाको मास्क, ह्याण्डवास र सामाजिक दूरी आवश्यक रहेको विज्ञहरूले तयार पारेको प्रतिवेदनमा उल्लेख छ।

विज्ञहरूले सबै अस्पतालहरूले बिरामी उपचार गर्न सम्पूर्ण सेवाहरू तत्काल सञ्चालनमा ल्याउन सरकारलाई सुझाव दिएको छ। ५० वा त्यसभन्दा बढी शैय्याको अस्पतालले न्यूनतम २० प्रतिशत शैय्या कोरोना बिरामीको लागि छुट्याउनुपर्ने सुझाव आफूहरूले दिएको टोलीका संयोजक डा.रामकेवल साहले बताएका छन्।

विज्ञहरूले कोरोना बिरामी पत्ता लगाउन सबै अस्पतालमा फिभर क्लिनिक सञ्चालन गर्न, कोरोना उपचार हुने अस्पतालहरूमा आईसीयू, भेन्टिलेटर, सुविधासम्पन्न ल्याबको व्यवस्था गर्नपनि सरकारलाई सुझाव दिएको छ।

विज्ञहरूको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री लालबाबु राउतले सुझावहरू शतप्रतिशत पालन हुने प्रतिवद्धता जनाएका छन्। विज्ञहरूको टोलीमा डा.रामकेवल साह, डा.विजयकुमार सिंह, डा.सुरेन्द्र यादव, डा.जयकिशोर लालसहितका चिकित्सकहरू छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय