लकडाउनमा विपन्न परिवारको सहारा बन्दै झापाका कान्छा वडाध्यक्ष

झापा शिवसताक्षी नगरपालिका-६ का वडाध्यक्ष मनोज खुलाल कार्की २९वर्षका भए। उनी जिल्लाकै कान्छा वडाध्यक्ष हुन्। यतिवेला उनको चर्चा जिल्लामै चुलिएको छ। कारण कोरोना संक्रमणबाट जोगिन घरभित्रै बसेका विपन्‍न नागरिकलाई समयमा नै राहत सामग्री पुर्‍याउन उनी अहोरात्र खटिएका छन्।

जिल्लाका १५ पालिकाका १ सय ३३ वडाध्यक्ष मध्ये कान्छा सबैभन्दा कान्छा वडाध्यक्ष खुलालले शनिबारसम्म १ सय ७५ दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्ने परिवारलाई सरकारले तोकेको मापदण्ड अनुसार राहत प्रदान गरिसकेका छन्।

उनी आफ्नै अग्रसरतामा राहत उपलब्ध गराउन जुटेका हुन्। ‘दैनिक ज्यालादारी गर्ने विपन्न परिवारबाट भोकभोकै परेको खबर लगातार आउन थालेपछि उनीहरूको उद्धारका लागि आफू लागि परेको उनले बताए।

मानवीय धर्म नै ठूलो धर्म भएको बताउँदै उनले राहत बितरणमा जुटेको बताए। ‘मैले वडा सरकारको भूमिका मात्र निभाएको हुँ’, उनले भने। खुलालले अमेरिकामा रहेका आफ्ना दाजु र वडाबासी, शिवसताक्षी उद्योग बाणिज्य संघ, नेपाल रेडक्रस उपशाखा शिवसताक्षी, जनआदर्श मावि शिवगञ्जका पूर्व विद्यार्थीहरूको संगठन मिसन रेब्युल्ड नेपाल र इलाका प्रहरी कार्यालयको सहयोग तथा समन्वयमा विपन्‍न नागरिकको घर-घरमै पुगेर राहत उपलब्ध गराएको बताए।

विपन्‍न परिवारलाई राहत उपलब्ध गराउन अञ्जनी अग्रवाल, सञ्जय अग्रवाल, अरुणकुमार मित्तल, दिनेश श्रेष्ठले आर्थिक सहयोग गरेको उनले बताए। कार्कीले बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिन लगाएर सामग्री हस्तान्तरण गरेको जानकारी दिए।

जिल्लामा विपन्‍न परिवारको सूचि तयार पार्न धौ-धौ परिरहेका बेला वडाध्यक्ष कार्कीले भने सहज रुपमा नै समस्यामा परेकाहरूलाई सहयोग गरिरहेको शिवसताक्षी उद्योग बाणिज्य संघका अध्यक्ष भोला मैनालीले बताए।

रेडक्रस उपशाखाका सभापति नारायण दाहालले वडाध्यक्ष कार्कीको अग्रसरता र कामको खुलेर प्रसंशा गरे। उनले २९ वर्षिय युवाले गरेको कामले सबैको मन जितिरहेको प्रतिक्रिया दिए।

शिवसताक्षी-६ मा चार सय घर परिवार छन्। ती मध्ये १ सय ७५ दैनिक ज्यालादारी गर्ने र विपन्‍न रहेको कार्कीले बताए। उनले १ सय ७५ परिवारलाई चामल, दाल, नुन, तेल, साबुन र मास्क वितरण गरेको बताए।

सरकारले दुई जनासम्मको परिवारलाई १५ किलो चामल, पाँच जनासम्मको परिवारलाई २० किलो चामल र पाँच जना भन्दा बढीको परिवारलाई २५ किलो चामल,प्रती परिवार २ किलो दाल, एक लिटर तेल ,एक किलो नुन र एउटा साबुन उपलब्ध गराउने नीति लिएको छ। सोही कार्यविधि र नीति भित्र रहेर आफूले राहत उपलब्ध गराएको कार्कीले बताए। परिवारको संख्या अनुसार थप मास्क वितरण गरेको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय