कोरोना कहर : गहुँ भित्र्याउन समस्या

पश्चिम चितवनका मित्रराज दवाडीको ४ विघामा लटरम्म गहुँ पाकेको छ । गहुँकाट्नका लागि दवाडीले कम्वाईन हार्भेष्टर पनि ठिक्क पारेका छन् । तर, यतिखेर हार्भेष्टर चलाउने चालक नहुँदा गहुँ पाकेर झर्न लागेको छ ।

‘गहुँ एक्लै काट्न सकिँदैन । गाउँघरमा खेतला पाईदैन । भारतबाट आउने खेतलाहरु पनि आएका छैनन् ।’ काम गर्ने कामदार पाईन छाडेपछि एक बर्ष पुर्वि चितवनबाट कम्वाईन हार्भेष्टर किनेर ल्याएका दवाडीले चिन्ति हुँदै भने, “भारतबाट आउने कामदार र अप्रेटर नआउँदा मेशिन चलाउन नै पाईएको छैन ।” कोरोना भाईरसका कारण भारत र नेपाल दुवै तर्फ लकडाउन हुँदा गहुँ काटने कम्वाईन हार्भेष्टर चलाउन सक्ने प्रविधिक र चालकको अभाव भएको दवाडीले बताए ।

उनले धान रोप्ने मेसिन चलाउन जान्ने जनशक्ति पनि चितवनमा अभाव नै रहेको बताए । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सञ्चालित “डेलिभरी जेनेटिक ग्यन ईन ह्वीट प्रोजेक्ट” अन्तरगत २ सय विघामा गहुँ लगाईएको छ । त्यहाँ गहुँ काट्नका लागि विश्वविद्यालयले चार महिना अघि कम्वाईन हार्भेष्टर ३३ लाखमा खरिद गरेको छ । तर, अहिले गहुँ पाक्ने समयमा नयाँ मेशिन त्यतिकै थन्काएर राख्नुपरेको छ ।

नेपालमा कम्वाईन हार्भेष्टर चलाउन सक्ने जनशक्ति खोजि गर्दा नपाईएको बालि विज्ञान विभाग रामपुरका उपप्रधायापक शुमन ढकालले बताए । “हाम्रो प्रोजेक्ट अन्तरगतको गहुँ पाकिसकेको छ । त्यसलाई काट्नका लागि हामीसंग नयाँ मेशिन पनि छ । तर, मेशिन चलाउन जान्ने चालक नहुँदा हामी समस्यामा परेका छौँ”– ढकालले भने ।

चितवनका प्राय किसानले कम्वाईन हार्भेष्टर भारतबाट खरिद गर्ने गर्दछन् । चालक सहित अपरेटर पनि सिजन अनुसार यहाँका किसानले भारतबाट ल्याउने गरेका थिए । “उनिहरुलाई निश्चित पारिश्रमिक तोकेर बोलाईने गरिन्छ । हामीले पनि त्यसै गरौँला भनेर सोचेका थियौँ,” ढकालले भने, “अहिले लकडाउनका कारण भारतबाट कोही पनि आउन सकेनन् ।”

“डेलिभरी जेनेटिक ग्यन ईन ह्वीट प्रोजेक्ट” अन्तरगत दुई सय २१ किसान आवद्ध रहेका छन् । उनिहरुको एक सय ७० विघामा र कृषि तथा वन विज्ञान विश्वविद्यालयको ३० विघा क्षेत्रफलमा गहुँ लगाईएको छ । यस क्षेत्रबाट ४ सय टन गहुँ उत्पादन गर्ने लक्ष्य परियोजनाले राखेको छ । गहुँको घनत्व (रन पर मिनेट) अनुसारको लेबल मिलाउन सक्ने जनशक्ति नहुँदा समस्या भएको उनले बताए ।

परियोजनाले तोरीखेत, रामबहाक, कल्याणपुर, मंगलपुर, मिलडाँडा र गणेशमन्दिर क्षेत्र बनाएर काम गरेको छ । नेपाली युवा तथा श्रमिक वर्ग विदेश जाने क्रम बढेसँगै कृषिमा श्रमिक अभाव खडकिन थालेको छ । व्यवसायीक रुपमा कृषि गर्दा मानिसले मात्र काम गर्न सम्भव पनि नरहेको उनले बताए ।

गहुँ छर्न भन्दा पनि भित्र्याउने काम सवैभन्दा झन्झटिलो काम हो । त्यसैले यहाँका किसानहरुले पछिल्लो समय गहुँ भित्र्याउनका लागि कम्वाईन हार्भेष्टर प्रयोग गर्दछन् । पश्चिम चितनवमा मात्रै तीन वटा यस्ता मेसिन छन् । यी मेसिन चालक नपाएर प्रयोग गर्न पाएका छैनन् । पुर्वि चितवनमा पनि किसानहरुले दुई वटा मेसिन भैरवाबाट ल्याएर सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना इकाईका बालि विकास अधिकृत माधव पौडेलले जानकारी दिए ।

बाहिरी जिल्लाबाट ल्याएर सञ्चालनमा ल्याए पनि यहाँ रहेको मेसिन थन्किएका छन् । कम्वाईन हार्भेष्टर नपाईएपछि किसानहरुले रिपर प्रयोग गर्ने गरेका छन् । तर, गहुँ काटेर फेरी ट्याक्टरमा ल्याएर थ्रेसिङ गर्दा कृषकलाई दोहोरो झण्झट हुने गरेको छ । चितवनमा गहुँ काट्ने कम्वाईन हार्भेष्टरहरु उपलव्ध भएपनि चालक भारतवाट आएरमेसिन चलाउनुपर्ने बाध्यताका कारण ति मेसिनहरु चल्न नसकेको पौडेलले बताए ।

“कन्ट्याक्टमा लिएर चलाउने गर्दछन् । मेसिन चलाउन प्राय धेरै जनाले जान्दछन् । तर, बालिको लेबलमा हार्वेष्टरको गति व्यवस्थापन (आरपिएम) नेपाली प्राविधिकको अनुभव कम छ । जसले गर्दा गहुँमा हार्बेष्टिङ गर्दा गहुँ टुक्रा पर्ने र गुणस्तर पनि घट्ने डर हुन्छ ।” उनले भने, त्यहि अनुभव नभएका कारणले गर्दा किसानहरु समस्यामा छन् ।”चितवनमा पछिल्लो समय करिव ६ हजार हेक्टरमा २१ हजार ६ सय मे.टन गहुँ उत्पादन हुने पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय