प्रदेश २ मा अहिलेसम्म ३८ जनाको रिपोर्ट नेगेटिभ

प्रदेश २ मा हालसम्म ३८ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। शंकास्पद ७३ जनाको नमूना परीक्षणको लागि पठाइएको मध्ये ३८ जनाको रिपोर्ट नेगेटिभ आएको हो। बाँकी ३५ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ।

सामाजिक विकास मन्त्रालयका प्रवक्तासमेत रहेका वरिष्ठ स्वास्थ्य अधिकृत विजय झाले हालसम्म ३८ जनाको रिपोर्ट आएको मध्ये सबै नेगेटिभ रहेको जानकारी दिए। प्रादेशिक अस्पताल जनकपुरमा नमूना परीक्षण गरिएको पाँचजनामा पनि कोरोना संक्रमण ठहर नभएको उनले बताएका छन्।

प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका शंकास्पद पाँचजनाको शुक्रबार स्वाब परीक्षण गरिएको थियो। शुक्रबारदेखि सञ्चालनमा आएको प्रादेशिक अस्पतालको ल्याबमा नमूना जाँचपछि पाँचैजनाको नेगेटिभ रिपोर्ट आएको झाले बताए।

‘शुक्रबारसम्म ७३ जना शंकास्पदको नमूना परीक्षणको लागि पठाइएको छ। ३८ जनाको रिपोर्ट आइसकेको छ, सबैमा निगेटिभ देखिएको छ,’ झाले भने,‘३५ जनाको रिपोर्ट आउन बाँकी छ, आशा गरौं राम्रै होला।’

प्रादेशिक अस्पताल जनकपुरमा ल्याब सञ्चालन हुनुअघि शंकास्पदहरुको स्वाब परीक्षणको लागि काठमाण्डौंको टेकु र धरानस्थित ल्याबमा पठाइएको प्रवक्ता झाले बताएका छन्। सप्तरीबाट परीक्षणको लागि धरान पठाइएको ९ जनाको नमूनमा पनि कोरोना पुष्टि नभएको उनले जानकारी दिएका छन्।

यसैगरी धनुषाको नगराईन नगरपालिकास्थित गंगुली क्वारेन्टाइनमा रहेका ११ जनाको रिपोर्टपनि नेगेटिभ देखिएको झाले बताए। उनले भारतको दिल्लीमा धार्मिक सभाबाट फर्किएका ३५ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जनाएका छन्। ‘बारा, रौतहट, पर्सा र सप्तरीका विभिन्न क्वारेन्टाइनमा रहेका ३५ जनाको नमूना परीक्षणको लागि शुक्रबार काठमाण्डौं पठाएका छौं, रिपोर्ट आउन बाँकी छ,’ झाले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय