मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन लम्बिन सक्ने

कोरोना भाइरस संक्रमण, त्यसपछि सरकारले जारी गरेको लकडाउन तथा त्यसबाट उत्पन्न परिस्थितिबारे निर्णय लिन शनिबार अपराह्न मन्त्रिपरिषद बैठक डाकिएको छ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार शनिबार अपराह्न ४ बजे बालुवाटारमा बैठक बोलाइएको छ।  सरकारले यसअघि दुई पटकसम्म ‘लकडाउन’को अवधि लम्ब्याएको थियो। दोस्रोपटकको लकडाउनको अवधि सकिन तीन दिन बाँकी रहँदा प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक डाकेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज बस्ने मन्त्रिपरिषदमा ‘लकडाउन’ मुख्य एजेन्डा छ।  ‘लकडाउनले पारेको प्रभाव र कोरोना संक्रमणको स्थितिबारे निर्णय लिन बैठक डाकिएको हो,’ थापाले हेल्थपोस्ट नेपालसँग भने।

लकडाउन जारी भएको शनिबार ११ दिन पुगेको छ। यस अवधिमा कोरोना भाइरसबाट ६ जना संक्रमित भेटिएका छन्। संक्रमितको संख्या कम नै रहे पनि तत्कालै लकडाउन खोल्दा पर्नसक्ने प्रभावबारे मन्त्रिपरिषदमा छलफल हुने छ।

‘अहिलेको परिस्थितिमा लकडाउन लम्ब्याउने वा नलम्ब्याउने भन्ने विषय गम्भीर रहेकाले पनि त्यसमा छलफल आवश्यक देखिएकाले प्रधानमन्त्रीले बैठक डाक्नुभएको छ,’ थापाले थपे।

संक्रमितको संख्या न्यून नै रहे पनि उपचार क्षेत्रमा खटिने चिकित्सकका लागि आवश्यक स्वास्थ्य सामग्रीको बन्दोबस्त भइसकेको छैन। यसअघि खरिद गरिएको सामग्रीमा विवाद आएपछि स्वास्थ्य सेवा विभागले सम्झौता रद्द गरिसकेको छ।  नयाँ प्रक्रिया सुरू भइसकेको छैन। सम्भवतस् खरिदको जिम्मेवारी पाएको नेपाली सेनाले आइतबारसम्ममा आवश्यक निर्णय लिने तयारी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय