स्वास्थ्य मन्त्रालयले नै झुक्याएपछि…

विश्व यतिबेला कोभिड १९ (कोरोना भाइरस) को महामारीबाट आक्रान्त छ । विश्वका शक्तिराष्ट्रहरु यो महामारीको उपचार र औषधि पत्ता लगाउनका लागि लागिपरेका छन् । तर, सफल भने हुन सकेका छैनन् ।

नेपालमा पनि यो रोगको संक्रमण देखिएसँगै सरकारले पूरै देश ‘लकडाउन’ गरेको छ । सिमाहरु बन्द छन् । हवाईमार्ग ठप्प छन् । जनताको जीवनस्तर अस्तव्यस्त छ ।

सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि विभिन्न प्रयासहरु गरिरहेको बताएको छ । प्रत्येक दिन सरकारले कोरोना संक्रमणसँग सम्बन्धित भएका २४ घन्टाका गतिविधिहरु पत्रकार सम्मेलनमार्फत बताउँदै आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक दिन पत्रकार सम्मेलनमार्फत गतिविधि मात्र दिएको छैन् । आफ्नो वेबसाइटमा कोरोना संक्रमित बिरामीहरुको विवरण समेत सार्वजनिक गर्दै आएको छ ।

आज सरकारले लकडाउन गरेको १० औं दिनसम्म आइपुग्दा ६ जनामात्र संक्रमित भएको सूचना वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।

तर, आजै दिउसो एकजना कोरोना संक्रमित थपिएको भन्ने समाचारले सबैको ध्यान खिचेको थियो । गण्डकी प्रदेश सरकारलाई कोड गर्दै लेखिएको उक्त समाचारप्रति धेरैको ध्यान केन्द्रीत भयो । केहीबेरमा सरकारले आयोजना गरेको पत्रकार सम्मेलनमा भने कास्कीमा कुनैपनि कोरोना भाइरस संक्रमित बिरामी फेला परेन ।

गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले संचारमाध्यमका साथिहरुलाई हतारो नगर्न अनुरोध गर्दै कास्कीमा कोहीपनि बिरामी संक्रमित नभएको सामाजिक सञ्जालमार्फत जनाए ।

यता, केन्द्रीय सरकार अन्तर्गत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटमा भने संक्रमित थपिएको भनि विवरण थपिएको थियो । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले कोभिड १९ को जानकारी लागि बनाएको छुट्टै पेजमा दिउँसो ४ बजेर ३४ मिनेटमा कोरोना संक्रमितको संख्या ७ भनेर जनाइएको थियो ।

त्यसको केहीबेर अघिमात्र मन्त्रालयका प्रवक्ता डा. देवकोटाले कास्कीमा कोहीपनि संक्रमित नभएको बताएका थिए । उनले पत्रकार सम्मेलनमा भनेका थिए,‘ कुनै केस शंकास्पद भयो भने त्यहाँ (प्रदेशमा) पनि रिपिट हुन्छ, यहाँ पनि रिपिट हुन्छ, थप नमूना लिइन्छ । यो प्रोसेस भइसकेपछि मात्र हामीले रिजल्ट प्रकाशित गर्छौं । त्यो हिसाबले त्यहाँ पोखरामा आजसम्म पोजेटिभ नआएको स्थिति छ ।’

तर, उनी आफैं कार्यरत मन्त्रालयको वेबसाइटमा भने संक्रमित संख्या थपेर ७ जना पुर्याइएको थियो ।  मन्त्रालयले नै यस्तो डाटा सार्वजनिक गरेपछि साँझ हामीले मन्त्रालयका प्रवक्तालाई सम्पर्क गर्र्यौं । उनले हामीलाई अहिलेसम्म जम्मा ६ जना संक्रमित भएको र वेबसाइटमा के भएको हो आफूले बुझ्ने बताउँदै १० मिनेटपछि सम्पर्क गर्न सुझाए ।

हामीले १० मिनेटपछि सम्पर्क गर्दा उनले प्रदेशमा भएको हल्लाका कारण प्राविधिकहरुले तथ्याकं थपेकाले आफूले सच्याउन भनेको हामीलाई सुनाए । उनले भने, ‘दिउँसोको हल्लाको कारणले थपिएको रहेछ । मैले भनिसकेको छु । ६ जनामात्र हो ।’
विश्व नै आतंकित बनिरहेको कोभिड १९ जस्तो खतरनाक रोगको डाटा सार्वजनिक गर्न मन्त्रालयले नै हेलचक्र्याईं गरेको प्रष्ट देखिन्छ ।

कोरोना संक्रमित बिरामीको तथ्याकं यकिन नगरि मन्त्रालयले आफ्नो वेबसाइटमा अपडेट गर्दा जनमानसमा एक प्रकारको त्रास उत्पन्न समेत यो विषयले गराएको छ ।  विश्वमा अहिलेसम्म कोरोना भाइरसका कारण ५५ हजारको मृत्यु भइसकेको छ भने १० लाख ४१ हजारभन्दा बढी संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय