बाग्लुङ स्वास्थ्य प्रमुख, जसले कोरोना संक्रमितलाई घरबाटै उद्धार गरेर अस्पताल पुर्याए
बुधबार बागलुङकी ६५ वर्षिया वृद्धमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भयो। उनी नेपालमा कोरोना संक्रमण पुष्टि भएकी छैठौं संक्रमित हुन्।
कोरोना संक्रमण पुष्टि भए पनि उनले चार घण्टासम्म अस्पताल जान पाइनन्। कारण संक्रमित हुन् भन्ने थाहा पाएपछि एम्बुलेन्सले बिरामी लैजानै मानेनन्।
स्थानीय प्रशासनले रेडक्रस सोसाइटी बागलुङको एम्बुलेन्समा राखेर उनलाई हस्पिटल लैजाने तयारी गरेको थियो। तर, कोरोना संक्रमितलाई बोक्नुपर्ने थाहा पाएपछि एम्बुलेन्स चालक एकाएक फरार भए। जसले गर्दा उनी लामो समयसम्म अस्पताल जानबाट रोकिइन्।
विरामीको घरबाट धौलागिरी प्रदेश अस्पताल मात्र २ किलोमिटरमा दूरीमा थियो। तर, पनि प्रशासनले उनलाई हस्पिटल पुर्याउन चार घण्टा लगायो। तयार पारिएको एम्बुलेन्सका चालक नै सम्पर्कबिहीन भएपछि विरामीलाई कसरी ल्याउने भन्ने अन्यौल थपियो।
रेडक्रसको एम्बुलेन्स अस्पतालको पार्किङस्थलमा छोडेर ड्राइभर बेपत्ता भएका थिए। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्डको बैठक बसिरहेको थियो। अस्पतालको एम्बुलेन्स पनि पोखरा गएको र फर्किन समय लाग्ने भएपछि उनलाई ल्याउने अन्योलता झन थपियो।
बाग्लुङ जिल्लामा कोरोना संक्रमित यसअघि पनि फेला परिसकेका थिए ।
बलियो तयारी गरेर तुरुन्त अस्पताल लैजानु पर्नेमा उनलाई लामो समयसम्म कतै नलैजानुले जिल्लाको फितलो तयारी छरपष्ट भएको छ।
जब स्वास्थ्य कार्यालयका प्रमुख नै विरामी लिन गए
यस्तै अन्योलका बीच विरामीलाई ल्याउने जिम्मा अस्पालको हो भन्दै प्रशासन पनि पन्छिन खोज्यो। अब जसरी पनि उद्धार गर्नुपर्छ भन्ने भयो र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौ कार्यालयका सवारी चालक रुद्र पराजुलीलाई लिएर विरामीको घर लागे।
पिपिई लगाएर सुरक्षित रुपमा उनीहरूले करिव चार घण्टापछि कोरोना संक्रमितलाई बागलुङ अस्पताल पुर्याए। ‘उहाँको पोजेटिभ रिपोर्ट आएपछि पोखरा लैजाने की, काठमाडौं लैजाने वा धौलागिरी अस्पतालमै राख्ने भनेर छलफल गरिरहेका थियौं’, उनले भने, ‘प्रशासनबाट रेडक्रसको गाडी स्टेन्डवार्ई राखेका छौं भन्ने कुरा आयो। गाडी पनि अस्पतालमा आयो। तर, एक छिनमै चालक फरार भए।’
‘पछि धौलागिरीमै राख्ने भन्ने निर्णय भएपछि अस्पतालको एम्बुलेन्स पनि पोखरा गएको भन्ने कुरा आयो। प्रशासनसँग कुरा गर्दा प्रशासनले पनि विरामी ल्याउने हस्पिटलकै जिम्मा हो भन्यो। कसै गरी सम्भव नभएपछि मेरै अग्रसरतामा हाम्रै कार्यालयको गाडिका चालक र म गएर उहाँलाई लिन उहाँको घरमा पुग्यौ’, उनले भने।
उनले सावधानी अपनाई ल्याउँदा कुनै जोखिम नहुँने र अरुलाई पनि प्रेरणा होस् भनेर आफैं अघि सरेको बताए।
उनमा पहिलेदेखि ज्वरो आउने, खोकी लाग्ने जस्ता कुनै पनि कोरोनाका सिम्टम नदेखिएको र दमको रोग रहेको उनले बताए। ‘उहाँको परिवारको पनि स्वाव संकलन गर्ने भन्ने कुरा भइरहेको छ। अस्पतालले बेलुकासम्म सायद त्यो गर्ला’, उनले भने।
साहसी चालक
समाजमा विभिन्न खाले मान्छे हुन्छन्। कोही मनकारी हुन्छन् भने कोही कठोर। रेडक्रसका एम्बुलेन्स चालक कठोर बने पनि स्वास्थ्य कार्यालयका गाडी चालक रुद्र पराजुली भने मनकारी निस्किए।
कार्यालयका प्रमुख गुरौले ‘हामी नै उद्धारमा जानुपर्छ’ भनेपछि उनी तयार भए। रेडक्रसको एम्बुलेन्स उनैले हाँके। त्यो एम्बुलेन्स चलाउने ड्राइभर भने भागिसकेका थिए।
‘सिडियो, एसपी लगायत जिल्लाका सुरक्षा संयन्त्रका प्रमुखहरूको मिटिङ बसेको थियो। सिडियो सापले रेडक्रसको एम्बुलेन्स तयारी अवस्थामा आउँदै छ भन्नुभयो। सबै जना कुरेर बसेका थिए’, उनले भने, ‘रेडक्रसका चालक एम्बुलेन्स ल्याएर त आए तर, नियुक्ति दिइएको छैन। मेरो श्रीमति र बावु काठमाडौं पढ्छन्। म काठमाडौं बस्छु। सहयोगका लागि केही दिन काम गरिदिएको हो, भन्दै सिडियोको अगाडी चावी फालेर गए।’
‘अस्पतालको गुरु जी नि हुनुहुन्छ। जो भए पनि गएर ल्याउनुपर्छ भन्ने भयो। को जाने भन्दाभन्दै चार घण्टा बित्यो। अस्पतालको एम्बुलेन्स पनि पोखरा गएको थियो। पछि त्यो कुरा मिडियासम्म पुग्यो’, उनले भने।
उनले चार घण्टासम्म पनि कुनै निर्णय नभएपछि स्वास्थ्यका हाकिम नै जान तयार भएको बताए। ‘हाम्रो हाकिम सापले मलाई तपार्इं र म नै जाउँ भन्नुभयो। मैले पनि नाई भनिनँ र हामी गयौं’, उनले भने।
उनीहरुले अस्पताल त पुराए तर, अस्पतालमा आइसोलेसन नै तयार थिएन। त्यसैले केहीबेर बिरामीलाई एम्बुलेन्समै राखियो।
उनले स्वास्थ्य कार्यालयको गाडी चलाउन थालेको २० वर्ष भयो। उनी मानव धर्मलाई नै ठूलो धर्म मान्छन्। उनकी श्रीमति पनि स्वास्थ्य क्षेत्रमै काम गर्ने भएकाले त्यस्तो गाह्रो भएन।
अहिले बागलुङको कोरोनाको जाँच हुँदा स्याम्पल बोकेर पोखरा पुर्याउने काम पनि उनैले गर्दै आएका छन्।
अहिलेसम्म १४ जनाको स्याम्पल बोकेर चार पटक पोखरा पुगिसकेको उनले बताए। उनले एक पटक कोरोनाको औषधि लिन पनि पोखरा पुगेको सुनाए।
उनी १४ जनाको स्याम्पल परीक्षण हुँदा दुई जनामा पोजेटिभ देखिनुले जिल्लामा कडा सावधानी अपनाउनुपर्ने बताउँछन्। एम्बुलेन्स लगायत अत्यावश्यक साधन र सामग्रीलाई तयारी अवस्थामा राख्नुपर्ने उनले बताए।
चार दिनअघि संक्रमित पुष्टि भएकी बागलुङकै अर्की युवतीसँग बुधबार संक्रमण पुष्टि भएकी महिला एउटै सीटमा बसेर बेल्जियमबाट नेपाल आएकी थिइन्।
टेलिफाेन कुराकानीमा आधारित
सिडिओले नै भगाए एम्बुलेन्स चालक, छैठौं संक्रमित अस्पताल जान सकिनन्