ओम्नीसँग स्वास्थ्य सामग्री खरिद गर्ने अनुमति नै छैन

सरकारले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसल प्रालिलाई चीनबाट स्वास्थ्य सामग्री खरिद गर्न दिएको ठेक्का प्रक्रिया नै कानुनविपरीत रहेको खुलेको छ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा १ करोड ३ लाख ३८ हजार ४ सय ४४ अमेरिकी डलरबराबरको ठेक्का ओम्नीलाई दिने निर्णय कानुनविपरीत रहेको खुलेको हो।

१ अर्ब २४ करोड रुपैयाँमा पिपिई, टेस्ट किटलगायत मेडिकल सामग्री खरिद गर्न अन्तिम समयमा ओम्नीलाई ठेक्का दिएको अनियमितताबारे खुलासा भएपछि सरकारले बिहीबार ठेक्का नै खारेज गरिदिएको छ।

र, सोमबार मन्त्रिपरिषद बैठकबाट ‘जिटुजी’ मोडलमा स्वास्थ्य सामग्री खरिद गर्न सरकारले नेपाली सेनालाई ठेक्का दिएको थियो। जुन कुरा शुक्रबारमात्रै सार्वजनिक भएको छ।

ठेक्का प्रक्रियाका लागि दुई मुख्य आधार चाहिने कानुनी व्यवस्था छ। पहिलो, कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्तामा उल्लेखित उद्देश्य। दोस्रो, वाणिज्य विभागमा दर्ता।

कम्पनी रजिष्ट्रारको कार्यालयबाट हेल्थपोस्ट नेपालले लिएको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिको प्रबन्धपत्रको उद्देश्यमा स्वास्थ्य सामग्री खरिदको बुँदा कतै उल्लेख छैन।

‘अहिलेसम्म ओम्नीले संशोधनका लागि निवेदन दिएको छैन। सम्बन्धित विभागमा दर्तापछि यहाँ आउनुपर्ने हो, तर यही प्रबन्धपत्रका आधारमा चाहिँ चीनबाट औषधि र स्वास्थ्य सामग्री ल्याउन मिल्दैन,’ कम्पनी रजिष्ट्रारको कार्यालयका एक सहायक रजिष्ट्रारले भने।

प्रबन्धपत्रमा व्यापारसम्बन्धी व्यवसायको बुँदामा स्वीकृति लिनुपर्नेमा सम्बन्धित निकायको स्वीकृति लिई सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित उपकरण सामग्रीहरू आयात, निर्यात, बिक्री–वितरण गर्ने, सूचना तथा सञ्चार प्रविधिसम्बन्धी सेवा उपलब्ध गराउने भनिएको छ।

त्यसैगरी, २ नम्बर बुँदामा सफ्टवेयर विकास गरी स्वदेश तथा विदेशमा बिक्री–वितरण गर्ने र ३ नम्बर बुँदाको उद्देश्यमा कुनै पनि सरकारी, गैरसरकारी संघसंस्था, कम्पनी, फर्महरू तथा व्यक्ति विशेषको परामर्शदाता वा सेवा प्रदान गर्ने उल्लेख छ।

‘स्वदेशी तथा विदेशी संघसंस्थाहरूको एजेन्ट भई काम गर्ने, स्वीकृति लिनुपर्नेमा सम्बन्धित निकायको स्वीकृति लिई विभिन्न किसिमका ऊनी गलैंचा, तयारी पोसाक, सुतिकपडा, पश्मिना, तथा पश्मिना निर्मित सामग्रीहरू, हस्तकलाका सामग्रीहरू, विभिन्न किसिमका जडीबुटी, शृंगारका सामानहरू इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पार्टपुर्जाहरू, स्टेसनरी सामान, विभिन्न किसिमका खाद्यान्न, लताकपडा, दैनिक उपभोग्य सामग्री, औषधि, बिजुलीका सामान, हार्डवेयरका सामग्री, निर्माण सामग्री तथा प्रचलित कानुनले निर्यात तथा सप्लायर्स गर्ने पाइने सम्पूर्ण वस्तुहरू आवश्यकताअनुसार भारत, चीनलगायत समुद्रपारका देशमा निर्यात गर्ने,’ उद्देश्यको ५ नम्बर बुँदामा भनिएको छ।

गोकुल बाँस्कोटाले सिंहदरबार छिराएको ओम्नीलाई ओताउँदा आफैं फसे मन्त्री ढकाल

विभिन्न किसिमका लत्ताकपडा, कम्प्युटर पार्टपुर्जा, मेसिन, औजार, पेयपदार्थ, दैनिक उपभोग्य सामग्री, गाडीका पार्टपुर्जालगायत सामग्री खरिद गर्ने उल्लेख गरिएको बुँदा नम्बर ६ मा ‘मेडिकल इक्विपमेन्ट’ आयात गर्ने पनि भनिएको छ।

‘तर, मेडिकल इक्विपमेन्ट भनेर मात्रै हुँदैन, मेडिकल सामग्रीको खरिदका लागि छुट्टै बुँदा आवश्यक पर्छ। यो वाक्यले औषधि खरिद गर्न मिल्दैन, मेडिकल इक्विपमेन्ट शव्द जिम र फिटनेसका सामग्री खरिदमा बढी प्रयोग हुन्छ,’ कम्पनी रजिष्ट्रारको कार्यालयका एक अधिकृतले भने।

कुनै पनि सरकारी, गैरसरकारी संघसंस्था, कम्पनी, व्यक्ति, फर्मले कुनै पनि मालसामान आयात–निर्यात तथा सप्लायर्स गर्नका लागि बोलपत्र टेन्डर आह्वान गरेमा बोलपत्र टेन्डरद्वारा वा सोझै सम्पर्क गरी मागबमोजिम आयात, निर्यात एवं सप्लायर्स सेवा प्रदान गर्ने उद्देश्य पनि प्रबन्धपत्रमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय