प्रदेश २ मा कोरोना परीक्षण सुरु

प्रदेश २ मा कोरोना परीक्षण सुरु भएको छ। जनकपुरस्थित प्रादेशिक अस्पतालमा शुक्रबार बिहानदेखि कोरोना परीक्षण सुरु भएको हो। पिसिआर मेसिन जडान भएसँगै प्रादेशिक अस्पताल जनकपुरमा कोरोना परीक्षण सुरु गरिएको छ।

प्रादेशिक अस्पतालका प्रमुख डा.नागेन्द्र यादवले पिसिआर मेसिन जडान भएर कोरोना परीक्षण सुरु भएको जानकारी दिए। ‘पिसिआर जडान भइसकेको छ, प्राविधिकहरु तयार छन्, शंकास्पद बिरामीको नमूना आएलगत्तै परीक्षण सुरु हुन्छ,’ डा.यादवले भने।

संघीय सरकारले पठाएको पिसिआर मेसिन मंगलबार नै जनकपुर आइपुगेपनि जडान हुन सकेको थिएन्। मेसिन जडान गर्न अस्पतालमा ठाउँ उपलब्ध गराउन बखेडा भएपछि समस्या आएको थियो। अस्पतालले ठाउँ उपलब्ध गराएपछि पीसीआरसहित काठमाण्डौंबाट आएका दुईजना प्राविधिकले विहिबार अबेर राति मेसिन जडान गरेका छन्।

संघीय सरकारले कोरोना परीक्षण गर्न प्रादेशिक अस्पताल जनकपुरमा एउटा पिसिआर मेसिन पठाएको छ। काठमाडौंबाट आएका दुईजना प्राविधिक टोलीले पिसिआर मेसिन प्रादेशिक अस्पतालमा जडान गरेका हुन्।

प्रादेशिक अस्पताल जनकपुरमा जडान गरिएको पिसिआर मेसिनबाट दैनिक १० वटा नमूना परीक्षण गर्न मिल्ने प्राविधिक टोलीका सदस्य सर्वेन्द्र मधुपले जानकारी दिएका छन्।

यता कोरोना महामारी नियन्त्रण गर्न गठित निर्देशक समितिले प्रदेशभर ५० भेन्टिलेटर र दुईवटा पिसिआर मेसिन थप्न निर्देशन दिएको छ। मुख्यमन्त्री लालबाबु राउत संयोजक रहेको निर्देशक समितिले सम्बन्धित मन्त्रालय र कार्यकारी समितिलाई यस्तो निर्देशन दिएको हो।

निर्देशक समितिले प्रादेशिक अस्पताल जनकपुरमा १०, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा १० र अन्य अस्पतालहरुमा ५/५ वटा भेन्टिलेटर र राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा एउटा पिसिआर मेसिन जडान गर्न निर्देशन दिएको बताइएको छ।

समितिले पिसिआर र भेन्टिेलेटर प्रक्रिया तत्काल सुरु गर्न समेत निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय