‘लकडाउन’ मा उपमहानगरको राहत कुर्दै गरिब तथा विपन्‍न

हेल्थपोस्ट नेपाल

कोरोना महामारीका कारण विश्व नै आक्रान्त छ। कोरोना महामारीका कारण कतिपय शक्तिशाली मुलुकहरू पनि धाराशायी बन्दै गएको छ। वर्तमान अवस्थामा यसबाट नेपाल पनि अछुतो रह्न सकेको छैन्। विहिबारमात्रै छैठौं व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमण रोकथाम गर्न सरकारले ‘लकडाउन’ गरेको छ। र, जनकपुरपनि अहिले ‘लकडाउन’ मा छ। ‘लकडाउन’ लागु भएयता व्यवसाय, कामकाज सबै ठप्प छ।

लकडाउन भएपछि दैनिक ज्यालादारीमा काम गर्ने मजदूर, विपन्न तथा अति विपन्न परिवारहरू सबैभन्दा बढी मारमा परेका छन्। हातमुख जोड्न पनि उनीहरूलाई समस्या भईरहेको छ। यस्तो विषम परस्थितिमा समेत जनकपुरधामका नगरप्रमुख, उपप्रमुख लगायत वडाध्यक्षहरूले पालन गर्नुपर्ने कर्तव्यबाट विमुख भएको देखिएको छ। मारमा परेका त्यस्ता व्यक्तिहरूलाई राहत उपलब्ध गराउनु त परै जाओस स्थानीय सरकारले सान्त्वनासम्म बाँड्न नआएको स्थानीयको गुनासो छ।

केही वडाध्यक्षहरूले भने समस्या परेका आफ्नो वडाबासीलाई मलम लगाउने प्रयास गरेका छन्। यी वडाध्यक्षहरूले गरेका कार्यहरू बाहेक अन्य जनप्रतिनिधिहरूले केही गरेको देखिदैन। यहाँसम्म कि कतिपय वडामा त संक्रमण रोक्नका लागि मास्क तथा साबुनसम्म वितरण भएको छैन्।

जनकपुरधाम वडा नम्बर १ का वडाध्यक्ष शत्रध्नप्रसाद साह, वडा नम्बर २ का वडाध्यक्ष शिवकुमार साह, वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र साह,वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह, वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साह लगायतले वडाका गरीब तथा विपन्न परिवारहरूसम्म राहत पुर्‍याउन मद्त गरेका छन्।

वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले ‘लकडाउन’ को समयमा आफ्नो वडाका स्थानीयलाई सहज रुपमा आलु, प्याज तथा नून उपलब्ध गराए। ३ का वडाध्यक्ष दिपेन्द्र साहले मास्क वितरण र खाद्यान्न वितरणका लागि आफ्नो वडामा गरीब तथा विपन्नहरूको नामावली संकलन गरेका छन् भने ४ का वडाध्यक्ष सुदर्शन सिंहले कोरोना भाइरसको संक्रमण रोक्न बजारमा भीड हुन नदिन लागि बजार व्यवस्थापनको काम गरेका छन्। केही वडाध्यक्षहरूले आफ्नो वडामा रहेका विपन्न तथा अति विपन्न परिवारलाई राहत समेत वितरण गरे।

वडाका विपन्न तथा अति विपन्नहरूको लगत संकलन गरिरहेका वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र साहले कोरोनाको संक्रमणबाट जोगिन आफ्नै प्रयासबाट वडामा मास्क तथा साबुन वितरण गरेको जानकारी गराउँदै नगरप्रमुखबाट कुनै सहयोग प्राप्त नभएको गुनासो पोखे।

तर, अधिकांश जनप्रतिनिधि भने यस्तो कठिनाइको समयमा समेत कुनै सरोकार नराखेको ‘लकडाउन’ का कारण समस्यामा परेका गरीब मजदुरहरूको भनाइ छ।

वडाअध्यक्षहरूले भने गरीब तथा विपन्नलाई राहत उपलब्ध गराउन नगरप्रमुखबाटै हालसम्म कुनै सहयोग प्राप्त नभएको आरोप दाबी गर्छन्।

वडाका विपन्न तथा अति विपन्नहरूको लगत संकलन गरिरहेका वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र साहले कोरोनाको संक्रमणबाट जोगिन आफ्नै प्रयासबाट वडामा मास्क तथा साबुन वितरण गरेको जानकारी गराउँदै नगरप्रमुखबाट कुनै सहयोग प्राप्त नभएको गुनासो पोखे।

‘नगरपालिकाले विपन्न तथा अति विपन्नको लगत संकलन गर्नका लागि चिठी काट्न बाहेक अहिलेसम्म केही गरेको छैन्,’ वडाध्यक्ष साहले भने। उनले सामाजिक सञ्जालमै नगरपालिकाको खुलेर आलोचना गरेका छन्।

यता वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले समेत नगरपालिकाबाट समेत कोरोना भाइरसको संक्रमण रोक्नका लागि कुनै प्रकारको सहयोग नपाएको सुनाए। उनले भने,‘नगरपालिकाबाट सहयोग नपाए पनि आफ्नै स्तरबाट वडावासीलाई सहज रुपमा मास्क, साबुन वितरण गर्नुका साथै सस्तो मूल्यमा आलु, प्याज नून उपलब्ध गराएको छु।’

यी दुई वडाध्यक्ष जस्तै पीडा वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहको पनि छ। उनले आफ्नो वडामा संक्रमण फैलिन नदिनका लागि बजार व्यवस्थापनमा विशेष ध्यान दिइरहेको बताए।

उपमहानगरपालिकाको विपद् व्यवस्थापन कोषमा बाँकी रहेको ८३ लाख रुपैयाँ र प्रदेश सरकारले उपलब्ध गराएको २० लाख रुपैयाँबाट कोरोना संक्रमण रोक्न र विपन्नलाई राहत पुर्‍याउन कुनै काम नभएको सिंहको आरोप छ।

यता जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह सामाजिक सञ्जालमा सन्देश दिएर आफ्नो जिम्मेबारी पूरा भएको महसुस गरिरहेको युवा अभियन्ता सुशिल कर्णले बताए। नगर प्रमुख स्वयं आफ्नो नगरवासीको खराब अवस्थाप्रति अनभिज्ञ छन् भने वडाध्यक्षहरूले नै के गर्न सक्छ कर्ण बताउँछन्।

यता जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता मिश्रले आफूहरूले विपद् व्यवस्थापन समितिको बैठक बसेर कोरोनाको संक्रमण फैलिन नदिनका लागि नगर भरी लामखुट्टेको औषधी छर्किन लगाई रहेको बताइन्।

‘लकडाउन’ ले समस्यामा परेका गरीब तथा विपन्नहरूको लगत संकलन कार्य भइरहेको र चाँडै उनीहरूलाई राहत वितरण गरिने उपप्रमुख मिश्रले बताइन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *